ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैजी–लिप्ना सडक निर्माण तीव्र ११ किमी कालोपत्रको तयारी

२०७७ भदौ, १२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको दैजी–लिप्ना सडक निर्माणले गति लिएको छ । जिल्लाको वेदकोट नगरपालिका र डँडेलधुरालाई जोड्ने उक्त सडकको काम तीव्रताका साथ अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले बताएको छ ।

कार्यालयका प्रमुख इन्जिनीयर धीरेन्द्र भट्टले उक्त सडकको आवश्यक संरचना निर्माण अन्तिम रचणमा रहेको र ११ किलोमिटर कालोपत्रको तयारी भइरहेको उनले जानकारी दिए ।
२०७४ वैशाखमा निर्माण सम्झौता भएको उक्त सडकको हालसम्म करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । ‘प्रदेश गौरवको आयोजनाका रूपमा हस्तान्तरण भएर आएपछि पछिल्लो समय दैजी लिप्ना सडक निर्माणमा उल्लेख्य प्रगति भएको छ,’ उनले भने, ‘सडकको आवश्यक संरचना निर्माण सकिँदै छ, मौसम अनुकूल भएलगत्तै कालोपत्रको काम अघि बढ्छ ।’

दैजी–लिप्ना सडक निर्माण लागि नागार्जुन कन्ष्ट्रक्शनसँग १८ करोेड ४९ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन सकेन । समयमै निर्माण सम्पन्न नभएपछि योजना निर्माणको समयसीमा १ वर्ष थप गरिएको छ । २०७७ पुस सम्मममा निर्माण सम्पन्न गरिसक्न ठेकेदारलाई निर्देशन दिइएको कार्यालय भट्टको भनाइ छ । अहिले कालेपत्रका लागि सब बेसको काम भइरहेको छ भने दुईओटा कल्भर्ट, १७ ओटा ह्युम पाइप राख्ने काम र नाली तयार भइसकेका छन् ।

ठेकेदार कम्पनीका इन्जिनीयर नवीन देवले सडक निर्माण समयमै सकिने दाबी गरे । सडकका लागि आवश्यक संरचना निर्माण अन्तिम चरणमा रहेकाले अनुकूल मौसम भएलगत्तै कालोपत्रको काम शुरू हुने उनले बताए । उनका अनुसार लकडाउनका कारण निर्माणमा समस्या भए पनि आवश्यक स्रोतसाधन जुटाएर काम भइरहेको छ । कम्पनीले हालसम्म ठेक्का सम्झौताको ४८ प्रतिशत भुक्तानी पाइसकेको छ । तत्कालीन समयमा दैजी–जोगबुढा सडक योजनाको रूपमा शुरू भएको यो सडक दुई भागमा विभाजन गरी काम भइरहेको छ । कञ्चनपुरतर्फ दैजी–लिप्ना सडक र डँडेलधुरातर्फ लिप्ना–जोगबुढा खण्डमा काम भइरहेको कार्यालयले बताएको छ । कञ्चनपुर–डँडेलधुरा जोड्ने छोटो मार्गका रूपमा रहेको दैजी–लिप्ना सडक निर्माण भएपछि कम समयमै दूरी तय गर्न सकिने छ ।

साथै उक्त सडकले कञ्चनपुरका पर्यटकीय क्षेत्र लिंगा, घटाल थान र वेदकोट ताललाई जोड्ने भएको आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)