ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाले स्टक डिलर सञ्चालनमा ढिलाइ

२०७७ भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी भदौभित्रै सञ्चालनमा आउने भनिए तापनि निषेधाज्ञाका कारण ढिला हुने देखिएको छ । निषेधाज्ञाका कारण बाँकी रहेका प्रक्रिया पूरा गर्न नसकेपछि कम्पनी सञ्चालनमा ढिलाइ हुने भएको हो ।

कम्पनीले सेवा सञ्चालनका लागि भौतिक रूपमा नै उपस्थित भएर नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत निकायमा आवश्यक प्रक्रिया पूरा गर्न बाँकी छ । निषेधाज्ञाले त्यस्ता काम गर्न सकिएको छैन । त्यसैले स्टक डिलर कम्पनी सञ्चालनमा ढिला हुने भएको हो ।

स्टक डिलरको काम गर्ने उद्देश्यसहित नागरिक लगानी कोषले गत माघमा नै सहायक कम्पनी स्थापना गरेको थियो । सेबोनले कम्पनीलाई स्टक डिलरको काम गर्न गत साउनमा नै आशयपत्र (एलओआई) दिइसकेको छ । कम्पनीले आवश्यक पूर्वाधार जुटाएपछि बोर्डले सञ्चालनका लागि स्वीकृति दिनुपर्ने हुन्छ । तर, कम्पनी आवश्यक पूर्वाधार जुटाएर अन्तिम स्वीकृतिका लागि सेबोनमा पुग्न सकेको छैन ।

कोरोना भाइरस उच्च मात्रामा पैmलिएपछि काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका कारण नागरिक स्टक डिलर कम्पनीले तयारी अगाडि बढाउन नसकेको हो । कम्पनीले यसअघि भदौभित्रैै स्टक डिलरको काम शुरू गर्ने बताउँदै आएको थियो ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले निषेधाज्ञाका कारण कम्पनीको थप काम अगाडि बढाउन नसकेको बताए । ‘भौतिक रूपमा नै उपस्थित भएर गर्नुपर्ने काम गर्न बाँकी छ । निषेधाज्ञाले गर्दा त्यस्तो काम गर्न सकिएको छैन,’ उनले भने, ‘फलस्वरूप स्टक डिलर कम्पनीलाई सञ्चालनमा ल्याउन ढिला हुने भएको छ ।’ जतिसक्दो छिटो कम्पनी सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनको भनाइ छ ।

कम्पनीले आफ्नो पक्षबाट गर्नुपर्ने करीब ९० प्रतिशत काम पूरा गरिसकेको छ । अब कम्पनीले प्रयोग गर्ने सफ्टवेयर इन्स्टलमेन्ट गरी नेप्सेबाट स्वीकृत गराउन बाँकी छ । कम्पनीले सफ्टवेयरबारे नेप्सेलाई कार्यपत्र बनाएर नै प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र नेप्सेले सफ्टवेयरलाई स्वीकृति दिन सक्नेछ ।

त्यसपछि कारोबार राफसाफका लागि नेपाल क्लियरिङ हाउसको सफ्टवेयरसँग कम्पनीको सफ्टवेयर लिङ्क गर्नुपर्ने हुन्छ । कम्पनीको पूर्वाधारको सेबोनले आवश्यक निरीक्षण गर्नुपर्ने हुन्छ । तर, निषेधाज्ञाका कारण त्यो काम पनि रोकिएको छ ।

कोषका नायब कार्यकारी निर्देशक इन्द्रकुमार कट्टेलले कम्पनी सञ्चालनको मितिमा अन्योल देखिएको बताए । ‘यसअघि निश्चित मितिभित्र कम्पनी सञ्चालनमा ल्याउने भनेका थियौं । तर, निषेधाज्ञाका कारण सकिएन,’ उनले भने, ‘कम्पनी कहिलेदेखि सञ्चालनमा आउँछ भनेर भन्न सक्ने अवस्था पनि छैन ।’

आशयपत्र पाएको ६ महीनाभित्र कम्पनीले आवश्यक पूर्वाधार जुटाएर सेबोनमा अन्तिम स्वीकृतिका लागि निवेदन दिनुपर्छ । तर, कम्पनीले आशयपत्र पाउनुभन्दा पहिलादेखि नै आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । त्यसैले यो कम्पनी छिट्टै सञ्चालनमा आउने बताइएको थियो । शेयर लगानीकर्ताले स्टक डिलर कम्पनीको प्रतीक्षा गरिरहेका छन् ।

कोषले शेयर किनबेच गर्ने उद्देश्यले स्थापना गरेको सहायक कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको पनि शेयर स्वामित्व छ । कुल ५ अर्ब रुपैयाँ चुक्तापूँजी हुने यस कम्पनीमा कोषको ५१ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व हुनेछ । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारणबाट उठाइनेछ । स्टक डिलर कम्पनीले ठूलो परिमाणमा शेयर विक्री वा खरीद गरी माग र आपूर्तिलाई सन्तुलनमा राख्छ । नेपालमा यसअघि स्टक डिलर कम्पनी थिएन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)