ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमका चार नगरपालिकामा मेट्रिक ठेगाना प्रणाली लागू गरिँदै

२०७७ भदौ, १३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

भदौ १३, धनगढी । सुदूरपश्चिम प्रदेशका चारओटा नगरपालिकामा सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणाली लागू गरिने भएको छ । प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका घर नम्बर वैज्ञानिक प्रणालीमा लैजान लागिएको क्षेत्रीय शहरी विकास आयोजना कार्यालय, धनगढीले बताएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोेजनाले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा यो प्रणाली लागू गर्न काम शुरू गरेको हो । 

सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणाली अनुुसार सम्बन्धित नगरपालिकाभित्रका मुुख्य सडकलाई कोडिङ गरिनेछ । कोडिङपछि ती सडकको एउटा÷एउटा प्रवेश बिन्दुु र अन्तिम बिन्दुु लिइनेछ । प्रवेश बिन्दुुबाट प्रत्येक घरको मूल ढोकासम्मको दूरी मिटरमा नापिनेछ र त्यही नाप नै त्यो घरको घर नम्बर रहनेछ ।

बाटोहरूको नाम र घरघरमा नम्बर प्रदान गरेपछि कुनै पनि बाटो र घर यकिन गर्न सजिलो हुने क्षेत्रीय आयोजना कार्यान्वयन इकाइ धनगढीका आयोजना व्यवस्थापक परिक्षित कडरियाले बताए । यसका लागि संस्थागत विकास परामर्शदाताबाट कार्य भइरहेको उनले बताए ।  उनका अनुसार अहिले चारओटै नगरमा सर्वेक्षण टोली घरघरमा पुगिरहेका छन् ।

मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घर नम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दूरीमा आधारित भएको विज्ञ उमेश कुँवरले बताए । उनका अनुसार यसबाट बाटो पत्ता लाग्ने बित्तिकै घर कति टाढा छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । घर नम्बर दिँदा बाटोको बायाँपट्टि बिजोर र दायाँपट्टि जोर नम्बर दिइने पनि उनले बताए ।  

उक्त ठेगाना प्रणाली लागू भएपछि हरेक घरमा घर नम्बर देखिनेगरी राख्नुपर्नेछ । पछि थपिने घरहरूका लागि सम्बन्धित नगरपालिकाबाटै विशेष नम्बर प्रदान गरिने आयोजनाले बताएको छ । पूर्णरूपमा घर नम्बर प्रदान गरिसकेपछि पत्राचार लगायतको ठेगाना नयाँ ढाँचामै लेख्नुपर्ने र त्यसरी लेखिएको ठेगाना सहजै पहिचान हुने आयोजनाको भनाइ छ ।

अहिले स्थान र बाटोको नामकरण सम्बन्धी कार्यहरू भइरहेकाले स्थानीय चलनचल्ती, ऐतिहासिकता लगायत आधारमा नाम उपलब्ध गराउने कार्यमा सहयोग गर्न स्थानीयलाई आयोजनाले आग्रह गरेको छ । एकभन्दा बढी वडामा पर्ने सडकको नामकरण भने सम्बन्धित नगरपालिकाबाटै हुनेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)