ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्सा औद्योगिक कोरिडोरमा फितलो सतर्कता

उद्योगमा क्वारेन्टाइनको प्रबन्ध मिलाउन प्रशासनको निर्देशन

२०७७ भदौ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई कामदार कर्मचारीका लागि क्वारेन्टाइनको व्यवस्था गरेरमात्रै उद्योग चलाउन प्रशासनले निर्देशन दिएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थान केन्द्रले क्वारेन्टाइनको अनिवार्य व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्नुपर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

सरकारी मापदण्डअनुसार कोरोना संक्रमण फैलिन नदिन उद्योग सञ्चालकले कामदारका लागि क्वारेन्टाइनको व्यवस्थापन गरेर उद्योग चलाउनुपर्छ । तर, कोरिडोरका उद्योगमा मापदण्डको पालना कमजोर पाइएपछि त्यसमा कडाइ गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी तामाङले दिए ।

मापदण्ड पालना भए नभएको अनुगमन गरिने तामाङले बताए । ‘कोरोनाविरुद्ध सुरक्षा सतर्कताको पूर्ण कार्यान्वयनका लागि छिमेकी जिल्ला बाराको प्रशासनसित पनि समन्वय भइरहेको छ । यसलाई कडाइका साथ पालना गराउँछौं,’ उनले आर्थिक अभियानलाई भने ।

उद्योगका कामदार संक्रमणको प्रमुख स्रोत भएकाले औद्योगिक प्रतिष्ठानले उद्योग परिसरमा क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने प्रशासनको भनाइ छ । उद्योगमा क्वारेन्टाइन बनाउन सम्भव नभए उद्योगबाहिर कुनै निश्चित स्थानमा राखेर पनि कामदारलाई समुदायको सम्पर्कबाट टाढा राख्नुपर्ने प्रशासनले बताएको छ ।

बारा–पर्सा कोरिडोरका उद्योगमा सतर्कताको मापदण्ड न्यून पालनाले समुदायमा संक्रमण जोखिम बढेको छ । अधिकांश उद्योगले कामदार कर्मचारीका लागि क्वारेन्टाइनको व्यवस्था नमिलाएको भन्दै स्थानीयले प्रतिवाद गरेका छन् ।

कोरिडोरको औषधि उद्योग नेपाल फर्मास्युटिकल्स लेबोरेटिजका १७ जना कामदारमा कोरोना संक्रमण पुष्टि भए पनि उद्योगले लापरबाही गरेको प्रशासनले बताएको छ । ‘संक्रमितको उपचार गर्ने दायित्व राज्यको हो । उद्योग शिल गरिदिए हुन्छ भन्दै उद्योग पन्छियो,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

सरकारी मापदण्डअनुसार कामदारमा संक्रमण पुष्टि भएमा आइसोलेशनको व्यवस्था पनि उद्योगले नै मिलाउनुपर्छ । बारा–पर्सामा संक्रमण फैलिएपछि अन्य औषधि उद्योगले केही दिनका लागि उत्पादन बन्द गरे पनि यो उद्योगले चलाएको थियो । उद्योगलाई अहिले प्रशासनले शिल गरेको छ ।

केही दिनअघि बाराको सिमरास्थित जगम्बा स्टीलले कामदार ल्याउने र बाहिर पठाउने गरेको भन्दै स्थानीयले ताला लगाइदिएका थिए । उद्योगका ११ जनामा संक्रमण पुष्टि भएपछि सिमराका बासिन्दाले उद्योगको प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् ।

स्थानीयले ताला लगाएपछि प्रशासनले शिल गरेकोमा ३ दिनपछि खोलिएको थियो । कोरिडोरका उद्योगले कामदारको व्यवस्थापनमा लापरबाही गर्दा संक्रमण बढेको भन्दै स्थानीय बासिन्दाले उद्योगमा तालाबन्दी गर्ने क्रम बढेपछि प्रशासन दबाबमा परेको छ ।

उद्योगीले भने उद्योगमा कामदार राख्न नसकिने भन्दै आएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ र जितपुर सिमरा उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर उद्योगमा भएको तालाबन्दीको विरोध गरेका छन् । ‘बन्दाबन्दी खुलेको केही दिनमै शुरू भएको निषेधाज्ञाका कारण उत्पादन १ चौथाइभन्दा तल झरेको अवस्थामा छ ।

यस्तो अवस्थामा उत्पादनमै नकारात्मक असर पार्ने गतिविधि अनुचित छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया भन्छन् । आयातनिर्यातका क्रममा मुख्य नाकाबाट संक्रमण भित्रिने जोखिम व्यवस्थापनको जिम्मा भन्सार कार्यालयलाई दिइएको छ । सुक्खा बन्दरगाह र एकीकत जाँच चौकीबाट हुने मालवस्तुको ढुवानी, एजेन्ट, चालक, सहचालक, भरिया, कामदारको व्यवस्थापन सम्बद्ध भन्सारले गर्ने छन् । भारतबाट आएर नेपाली भन्सारमा काम गर्ने भारतीय र भारतीय भन्सारमा जाने नेपाली एजेन्ट क्वारेन्टाइनमा बसेर काम गर्ने व्यवस्था मिलाइएको प्रशासनले बताएको छ ।

वीरगञ्जमा गत साउन १० गतेदेखि लगाइएको निषेधाज्ञा पछिल्लोपटक भदौ १८ गतेसम्म लम्ब्याइएको छ । भदौ १९ देखि वीरगञ्जको मुख्य बजार आलोपालोमा खोल्ने निर्णय विपद् व्यवस्थापन केन्द्रले गरेको छ । यस निर्णयअनुसार बिहान ११ बजेदेखि अपरा≈न ४ बजेसम्म पसल खुल्नेछन् । यसको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघले गर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

तरकारी र फलफूलका लागि स्थानीय रेलवे रोडमा स्थान तोकिएको छ । यस्ता पसल बिहान ५ देखि ८ बजेसम्ममात्रै खोल्न पाइनेछ । सतर्कताका मापदण्ड पालना नभए संक्रामक रोग नियन्त्रण ऐनबमोजिम कारबाही गरिने प्रशासनले बताएको छ । संक्रमण रोक्न ‘नो मास्क, नो मुभ’ अभियान सञ्चालन गरिएको र पालना नगर्नेलाई कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी तामाङले बताए । पर्सामा कोरोना संक्रमणबाट ३६ जनाको ज्यान गएको छ । शनिवार ४९ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म २ हजार ११३ जनामा संक्रमित भएकोमा ६४७ जना निको भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)