ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप तथा कर्जाको बीमा संख्या बढ्यो

साढे २ करोड निक्षेप र ९ लाख कर्जा सुरक्षण

२०७७ भदौ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा निक्षेप तथा कर्जाको बीमा संख्या बढेको छ । कोषका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै थप ६ लाख ३८ हजार निक्षेपकर्ताको बीमा गरिएको छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रका अनुसार साउनसम्ममा निक्षेप बीमाको खाता संख्या बढेको छ । बैंकहरूको शाखा गाउँ गाउँमा विस्तार भएकाले निक्षेपकर्ता बढेको उनको भनाइ छ ।

साउनसम्ममा सबै बैंक तथा वित्तीय संस्थाका २ करोड ६६ लाख ६४ हजार प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपको बीमा गरिएको छ । कोषले गत असार मसान्तसम्ममा ७२ ओटा बैंक तथा वित्तीय संस्थाका २ करोड ६० लाख खातामा रहेको रकम रू. ६ खर्ब ८९ अर्ब ४९ करोड निक्षेप सुरक्षण गरेको थियो । यसअघि २०७६ असार मसान्तमा २ करोड २२ लाख खातामा रहेको रू. ६ खर्ब ३ अर्ब ३९ करोड निक्षेप सुरक्षण गरिएको थियो ।

निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने बैंक तथा वित्तीय संस्थाका २ करोड ६६ लाख ६४ हजार निक्षेपकर्ताको रू. ७ खर्ब १३ अर्ब निक्षेप सुरक्षित छ । साथै, ८ लाख ९९ हजार ऋणीको ८० अर्ब रुपैयाँ कर्जा समेत सुरक्षण गरिएको छ ।  

कोषले २०७५ कात्तिकदेखि बैंक तथा वित्तीय संस्थामा बचत तथा मुद्दती खातामा रहेका रू. ३ लाखसम्मको निक्षेप जम्मा गर्ने ग्राहकको बीमा (सुरक्षण) सुविधा दिँदै आएको छ । त्यसअघि भने २ लाखसम्मको निक्षेप सुरक्षण गरिन्थ्यो । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले बैंकमा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रू. १ देखि करोडौं रुपैयाँ राखे पनि उनीहरूले ३ लाखसम्म मात्र बीमा सुविधा पाउनेछन् ।

निक्षेपबाहेक कोषले बैंक तथा वित्तीय संस्थामा अधिकतम रू. २ करोडसम्मको साना तथा मझौला (एसएमई) तथा कृषि कर्जा, र अधिकतम रू. १५ लाखसम्मको विपन्न वर्ग कर्जा लगायतको सुरक्षण गर्दै आएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले नयाँ आर्थिक वर्षको पहिलो महीनामा बैंक तथा वित्तीय संस्थाको थप १ लाख १९ हजार कर्जा खाताको सुरक्षण गरेको छ । चालू आवको साउन मसान्तसम्म बैंकहरूले ८ लाख ९९ हजार ऋणीको ८० अर्ब रुपैयाँ सुरक्षण गरेको कोषका सीईओ मिश्रले जानकारी दिए । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको रू. ६५ अर्ब ११ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरिएको थियो ।

कोषले लघुवित्त तथा विपन्न वर्गका ८ लाख ८४ हजार ऋणीको कर्जा बीमा गरिएको बताएको छ । उक्त संख्याको बीमा रकम रू. ६९ अर्ब ३७ करोड बराबरको हो । यसैगरी कृषिअन्तर्गत ३ हजार ८९७ जना ऋणीको कर्जा बीमा गरिएको छ । यो कर्जा रू. २ अर्ब ७० करोड बराबरको रकम हो । साना तथा मझौला उद्यमअन्तर्गत १ हजार ४१५ जना ऋणीको मात्र कर्जा बीमा भएको छ भने सहुलियतपूर्ण कर्जा अन्तर्गत ९ हजार ९१३ जना ऋणीको कर्जा सुरक्षित छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)