ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिरो रोकथामका लागि डेढ करोड विनियोजन

२०७७ भदौ, १४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काउलेको पहिरो रोकथामका लागि संघीय सरकारले रू. १ करोड ५० लाख विनियोजन गरेको छ । पहिरोले बस्ती जोखिममा परेपछि भविष्यमा क्षति नहुने तरीकाले संरक्षणका कार्य गर्न सरकारले बजेट विनियोजन गरेको हो ।

गत जेठ ३१ गते रातीको पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको थियो भने पहिरो वरपरका १० ओटा घर तत्काल स्थानान्तरण गर्नु पर्ने अवस्थामा छन् । ‘सरकारले बजेट विनियोजन गरेको सुनेको छु’, वडाध्यक्ष तेजप्रसाद पाध्याले भने, ‘बस्ती जोगाउन र भविष्यमा हुने क्षति कम गर्न हामीले सरकारलाई गुहारेका थियौं । समयमै बजेट आउने भयो ।’

बस्तीमाथि डेड किलोमिटर क्षेत्रबाट शुरू भएको पहिरोले थप क्षति हुने देखिन्छ । बस्ती संरक्षणका लागि कुश्मा नगरपालिकाले अनुरोध गरेपछि नेपाल सरकार अर्थ मन्त्रालयबाट इस्टिमेट गरिएअनुसारको रकम रू. १ करोड ५० लाख ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजन भएको हो । सरकारसँग सहयोग जुटाउन कुश्मा नगरपालिका र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहल रहेको बताइएको छ । स्थानीय तहको अनुरोध र केन्द्रमा राष्ट्रियसभाका अध्यक्षको पहलमा बजेट आएको वडाध्यक्ष पाध्याले बताए ।

पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र घर निर्माण गर्न थप आवश्यक कार्य अगाडि बढिरहेको पनि उनले बताए । ठूलो क्षेत्र समेटेर पहिरो झरेको हुनाले कसरी संरक्षणको काम हुने भन्ने भूगर्भविद्हरूको सल्लाहअनुसार काम हुने बताइएको छ । कुश्मा नगरपालिकाले बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

‘तत्काल जोखिममा रहेकालाई सुरक्षित ठाउँमा आश्रय दिइएको छ’, जोशीले भने, ‘उनीहरूलाई अबको एक वर्षमै घर बनाएर सार्ने हाम्रो संकल्प छ ।’ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट अधिकतम आर्थिक स्रोत जुटाएर बस्तीको संरक्षण गर्ने प्रयास शुरू भएको उनको भनाइ छ ।

खानी तथा भूगर्भ विभागको टोलीले गत असारमा पहिरोस्थलको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गरी पहिरो गएको ठाउँ नजिक रहेका १० ओटा घर अत्यन्त जोखिममा रहेका कारण तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको थियो । भूगर्भविद्को टोलीले पहिरो जानुका कारण र त्यस क्षेत्रको जमीनको आगामी अवस्थाबारे प्रतिवेदन बुझाइसकेको छ ।

भूगर्भविद्को प्रतिवेदनका आधारमा पहिरोबाट पूर्ण क्षति भएका २ ओटा तथा आसपासका १० ओटा घर, काफलबोट र काउलेका ७ ओटा घर र ढकालबारीबाट नुवारखोलासम्म रहेका घरहरू सुरक्षित स्थानमा सार्न सहरी विकास मन्त्रालयमार्फत काम हुने नगरप्रमुख जोशीले जानकारी दिए । पहिरो गएपछि विदेश तथा स्वदेशमा रहेका संघसंस्था र व्यक्तिहरूले पहिरोपीडितलाई रू. ५० लाख भन्दा बढी सहयोग गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)