ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप तीनओटा देशमा हवाई सम्झौता गर्ने सरकारको तयारी

नियमित उडानमा बढी भाडा नलिन सचेत गराउने मन्त्रालयको निर्णय 

२०७७ भदौ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ, १४ काठमाडौं । सरकारले तीनओटा देशमा हवाई सम्झौता गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्च स्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । 

नेपालले हालसम्म ४० ओटा मुलुकहरुसँग द्विपक्षीय हवाई सेवा सम्झौता तथा समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । अन्तरराष्ट्रिय उडानतर्फ ३ ओटा नेपाली वायुसेवा र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकका ३२ ओटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् ।  

नेपालले पछिल्लो पटक १ अक्टोबर २०१९ मा अस्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो । अष्ट्रेलिया नेपालसँग हवाई सम्झौता गर्ने ४० औं मुलुक हो । नेपालले दक्षिण एशिया, दक्षिण पूर्व एशिया र मध्यपूर्वका कुनै २ विन्दु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौ ट्राफिक अधिकार (फिफ्थ फ्रीडम) उपभोग गर्न पाउन गरी अष्ट्रेलियासँग सम्झौता गरेको थियो । त्यसअघि नेपाल ३९ औं मुलुकका रुपमा कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । 

सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको थियो । अन्य मुलुकसँग नेपाल आफैले चासो बढाएको थियो । 

यसैबीच आइतवारको बैठकले भदौ १६ गतेदेखि नियमिति उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड-१९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडा दरभन्दा बढी नलिनतर्फ सबै वायुसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेको छ । 

यसअघि भएका विभिन्न चार्टर उडानमा विमान सेवा कम्पनी र ट्राभल एजेन्सीहरु मिलेर बढि भाडा लिएको भन्दै मन्त्रालयले छानविन समिति गठन समेत गरेको थियो । तर समितिले दिएको प्रतिवेदन अनुरुप मन्त्रालयले कारबाही भने गरेको छैन । 

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले कामलाई प्रभावकारी बनाउन र समयमै सम्पन्न गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताए ।  

यसैबीच मन्त्रालयले नेपालीहरु स्वदेश फिर्ति लगायतका विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन् । 

समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेश फिर्ता प्रकृयासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ । 

यस्तै बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)