ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साल्ट ट्रेडिङले मागअनुसार मल नपठाउँदा किसानलाई सास्ती

२०७७ भदौ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सरकारी स्वामित्वको साल्ट ट्रेडिङले मागअनुसार रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले सास्ती भोग्नु परेको छ । धान पसाउने बेलामै मागअनुसार मल नपाएपछि मल वितरण केन्द्रहरूमा किसानको घुइँचो लाग्ने गरेको छ ।

सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादव २ महीना धाएपछि मात्र साल्ट ट्रेडिङबाट युरिया मल किन्न पाएको बताउँछन् । उनको गाउँका २ सय १७ जना किसान सम्मिलित चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेड छ । सहकारीले सबै किसानलाई दुई–दुई बोरा मल वितरण गर्दा पनि ४ सय ६८ बोरा आवश्यक पर्छ ।

उनीहरूको समूहको १७ सय ८५ हेक्टरमा धानखेती छ । कम्तीमा ४ सय बोरा मल आवश्यक पर्नेमा साल्ट ट्रेडिङले १ सय बोरा मात्र दिएपछि यादव चिन्तित छन् । ‘१ सय बोराले कति किसानलाई मल बाँड्ने ?’ उनको गुनासो छ, ‘धान पसाउने बेला भइसक्यो । युरिया हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता त छँदै छ ।’

छिटाहाकै अर्का किसान सुरेन मेहता पनि मल किन्न नपाउँदा तनावमा छन् । दुई बिगाहामा लगाएको धानखेतीमा मल हाल्न नपाएपछि उत्पादन कम हुने चिन्ता थपिएको उनले बताए । ‘मागअनुसार मल नपाउँदा धान नफल्ने चिन्ता एकातिर छ भने अर्कोतिर धानमा गवारो र डढुवा लागेर अर्काे चिन्ता थपिदिएको छ’, मेहता भन्छन् ।

यस्तै, मोरङको ग्रामथान गाउँपालिका– ४ का किसान पन्नलाल विश्वास ३ दिनदेखि विराटनगरस्थित कृषि सहकारी संस्थामा धाइरहेका छन् । ३ दिनदेखि निषेधाज्ञा छिचोल्दै युरिया किन्न कृषि सहकारी संस्थामा धाइरहे पनि मल पाउन नसकिएको उनले गुनासो गरे । मलका लागि दिनभर लाइन बस्दा पनि कृषि सामग्री केन्द्र र विराटनगरस्थित साल्ट्र ट्रेडिङको आधिकारिक डिलर कदमाहा कृषि सहकारी संस्थाले नदिएको दाबी उनले गरे ।

‘तीन दिनदेखि एक बोरा मलका लागि धाइरहेको छु,’ उनले भने, ‘सिजन सकिए पनि पसाउने बेलाको धानको बालामा राख्ने इच्छा थियो तर पाइएन ।’ विश्वासले ३ बिगाहामा धानखेती गरेका छन् ।

किसानले विगत वर्षहरूमा पनि समयमा मल बीउ पाउँदैनथे । यसपटक कोरोना महामारीले झनै समस्या थपिदिएको उनीहरूको गुनासो छ ।

साउनभित्र छर्नुपर्ने मल नपाउँदा धान पहेँलिएको छ । ‘धान फले पनि नफले पनि ठेक्का कबोलेको रकम तिर्नुुपर्छ । मल अभावकै कारण यसपटक धान फलेन भने आप्mनै खेतको धान बेचेर ठेक्का तिर्नुपर्ने अवस्था आउने देखियो,’ विश्वास भन्छन् ।

विराटनगर– ४ इक्राहीका वासुर आलम तीन बिगाहामा लगाएको धानबालीमा राख्न युरिया मल लिन डिपो आए पनि रित्तै हात फकिर्नु परेको बताउँछन् ।

मल किन्न हिँड्दा महेन्द्र चोकमा प्रहरीले केरकार गरेर पछि छाडिदिएको उनको गुनासो छ । ।

धानबालीमा मल राख्न बिहीवार नै सहकारीलाई अग्रिम रकम बुझाएर सोमवारका लागि आउने गरी घर फर्किएको उनी बताउँछन् ।

कम्पनीका आधिकारिक डिलरहरूलाई मागअनुसार मल दिन नसकिने अवस्था रहेको साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए । समयमै मल माग गरिए पनि खरीदकर्ताले ल्याउन नसक्दा भदौ ७ देखि मात्र वितरण हुन थालेको उनले जानकारी दिए ।

चौधरीका अनुसार भदौ ७ देखि ११ सम्म ४३ किसानले मात्र संस्थाबाट मल लगेका छन् । संस्थाबाट मल लैजाँदा पहिले बैंकमा तोकिएको रकम जम्मा गरेर भर्पाई बुुझाउनुपर्छ । बाहिर डिलरमा किने ढुवानी जोडेर महँगो पर्छ । तर, अहिले बन्दाबन्दीका कारण बैंकहरू नखुल्दा किसान डिलरमा जान बाध्य छन् ।

प्रदेश १ का मोरङ, सुनसरी, धनकुुटा, तेह्रथुम, संखुुवासभा र भोजपुरका २ सय ६४ डिलरमार्फत किसानलाई मल वितरण भइरहेको चौधरीको दाबी छ । तर, यो बेला अधिकांश डिलरबाट मलको माग नआएको र माग आएका डिलरलाई प्रतिडिलर १ सय बोराका दरले पठाइरहेको उनले बताए ।

५ लाख ६ सय मेट्रिक टन मल आउनुपर्ने भए पनि अहिलेसम्म ८ सय ६४ मेट्रिक टन मात्र युरिया विराटनगर आएको चौधरीले जानकारी दिए ।

संस्थाले हाल ५० केजीको युरियालाई प्रतिबोरा ७ र डीएपी प्रतिबोराको २ हजार १ सय ५० रुपैयाँमा बेच्दै आएको छ । मलबीउ उपलब्ध गराउने अर्को सरकारी संस्था कृषि सामग्री कम्पनी लिमिटेडले भने आफूसँग युरिया मौज्दात नभएको बताएको छ । १ सय ७० डिलरमार्फत किसानसमक्ष मल पुुगे पनि युरिया जेठमै सकिएको कम्पनीका विराटनगर प्रमुुख नवरत्न गौतम बताउँछन् ।

कम्पनीले झापा, इलाम, सुनसरी, सिराहा र उदयपुरमा कार्यालय नै खोलेर किसानलाई मल उपलब्ध गराउँदै आएको थियो । तर, कोराना महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेको गौतमले बताए ।

प्रदेश १ को करीब ३ लाख ४० हजार हेक्टरमा खेती हुने गरेको सरकारी आँकडा छ ।

ठगिँदै किसान, जबर्जस्ती एसएसपी मल किन्न बाध्य पारिँदै
साल्ट ट्रेडिङ कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरले युरिया मल किन्दा सहकारीहरूलाई जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल किन्न बाध्य बनाउने गरेको पाइएको छ ।

अनुदानको मलसँगै गैरअनुदानको डीएपीका रूपमा काम गर्ने एसएसपी मल सहकारीलाई किन्नैपर्ने बाध्यता छ ।

एसएसपी मल र साबुन खरीद नगरे युरिया मल नदिने भएकाले बाध्य भएर खरीद गर्नुपरेको सहकारीहरूको भनाइ छ । यसले गर्दा थप आर्थिक भार वहन गर्नु परेको किसानको गुनासो छ ।

हाल साल्ट ट्रेडिङले न्यून परिमाणमा सहकारीहरूलाई मल वितरण गर्दै आएको छ । सहकारीहरूलाई १ सय बोरा युरिया खरीदमा अनिवार्य २५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल काट्ने गरेको छ । ‘२५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल नकाटेसम्म साल्ट ट्रेडिङका कार्यालय प्रमुखले युरिया मलको तोक लगाइदिनु हुँदैन,’ मोरङको कानेपोखरीबाट मल खरीद गर्न साल्ट ट्रेडिङमा आएका एक सहकारी सञ्चालकले भने, ‘प्रत्येक सहकारीलाई १ सय बोरा युरिया खरीदमा २५ बोरो एसएसपी मल र ६ कार्टुन साबुन अनिवार्य तोकिएको छ ।’

एसएसपी मल खरीद नगर्नेलाई युरिया नदिने गरेकाले किसानलाई सोहीअनुसार बेच्न बाध्य भएको सहकारीको भनाइ छ । ‘कोरोना संक्रमणले गर्दा पनि किसानले साबुन खरीद गरेर लैजान्छन्, ‘ती सहकारीका सञ्चालक भन्छन्, ‘यो बेसिजनको एसएसपी मल कृषकलाई आवश्यक नभए पनि जबर्जस्ती खरीद गराउनुपर्ने बाध्यता छ ।’

साल्ट ट्रेडिङमा तीनथरी मूल्य पर्ने एसएसपी मल छ । प्रतिबोरा ९ सय ६०, १ हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल रहेको छ । गतवर्षकै साल्ट ट्रेडिङमा ११ हजार ९ सय बोरा अर्थात् ५ सय ९५ मेट्रिक टन एसएसपी मल मौज्दात छ ।

गैरअनुदानको एसएसपी मल कोटाअनुसार विक्री गर्दा कम्पनीले निश्चित कमिशन दिने भएकाले सहकारीलाई जबर्जस्ती भिडाउने गरिएको स्रोतको दाबी छ ।

साल्ट ट्रेडिङले एसएसपी मल नलैजाने सहकारीहरूलाई अनुदानको युरिया र डीएपी नदिने भनेपछि कतिपय सहकारीले ऊमार्फत मल खरीद गर्नै छाडेका छन् । ‘गुणस्तरमा समस्या नहोला तर किसानले एसएसपी मल लिनै मान्दैनन् । हामीले त्यो मल कसरी विक्री गर्नू ?’ ती सहकारीका सञ्चालक भन्छन् ।

‘युरिया मात्र किन्ने पैसा बोकेर गएको थिएँ, सहकारीमा जाँदा एसएसपी र साबुन पनि किन्नुपर्छ,’ मोरङको कानेपोखरी–५ का कृषक भेषराज आचार्य भन्छन्, ‘११ किलो युरिया दिएर जबर्जस्ती सेटिङमा आएको अर्काे मल एसएसपी र साबुन पनि किन्नुपर्ने बाध्यता छ ।’ ११ किलो मल लिएबापत १ सय रुपैयाँको ४ किलो एसएसपी मल र अर्काे १ सय रुपैयाँको ३ डल्ला साबुन किन्नु परेको किसानहरू बताउँछन् ।

साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरी सहकारीहरूलाई जबर्जस्ती गैरअनुदानित एसएसपी मल खरीद गर्न कर नगरिएको दाबी गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)