ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द

२०७७ भदौ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाइ गरेपछि बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द भएका छन् । प्रशासनले सवारीसाधन सञ्चालनको अनुमति नदिएपछि कोरिडोरका १५ ओटा यस्ता उद्योगले उत्पादन बन्द गरेको उद्योगीहरूले बताए ।

कामदारलाई उद्योगमै राखेर चलाउनुपर्ने भनेपछि उत्पादन बन्द गर्नुपरेको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । ‘प्रशासनले सवारीसाधन चलाउन रोक लगाएको छ । सवारीसाधन चल्न नपाएपछि कामदार अभावमा उद्योग बन्द भएका हुन्,’ सञ्चालक राजभण्डारीले भने । क्वारेन्टाइनको व्यवस्था मिलाएर उद्योग चालाउन जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ ।

कोरिडोरका औषधि उद्योगका अधिकांश कामदार वीरगञ्जमा बस्छन् । उद्योगले कामदार ओसार्न पाएका छैनन् । बारा र पर्साका कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि गत साउन १० गतेयता निषेधाज्ञा लगाइएको छ ।

सरकारले उद्योग सञ्चालनका लागि तयार पारेको मापदण्डमा कामदारका उद्योग परिसर वा समुदायमा क्वारेन्टाइन र संक्रमित भएमा उद्योगले आइसोलेशनको प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ । औषधि उद्योगमा कामदार राख्दा औषधि प्रदूषित हुने जोखिम बढ्ने मारुती फर्माका सञ्चालक प्रभात रुंगटाले बताए । ‘औषधि उद्योग अरू उद्योगजस्तो होइन । कामदार उद्योगमै राख्दा औषधिमा ब्याक्टेरियाको प्रदूषण फैलिन सक्छ । प्रशासनले कर्मचारी ओसार्न नदिएपछि उत्पादन बन्द गर्नुको विकल्प रहेन,’ रुंगटाले आर्थिक अभियानसँग भने ।

पछिल्लो समय बारा र पर्सामा कोरोना संक्रमण फैलिनुमा उद्योगका कामदार मुख्य स्रोत भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । उद्योग सञ्चालकले कामदारका लागि क्वारेन्टाइनको व्यवस्थापन गरेर उद्योग चलाउनुपर्ने प्रमुख जिल्ला अधिकारी तामाङले स्पष्ट पारे ।

यसअघि यी उद्योगले वीरगञ्जबाटै कामदार कर्मचारी ओसारपसार गरेका थिए । कोरिडोरका उद्योगमा संक्रमित भेटिने क्रम बढेको छ । उद्योगमा संक्रमित भएका कामदार घरघरमा जाँदा समुदायमा संक्रमण फैलिएको प्रशासनको भनाइ छ । ‘उद्योगमा मापदण्डको पालना कमजोर पाइएपछि कडाइ गरिएको हो । उद्योग हातामा सम्भव नभए उद्योगबाहिर समुदायमा भए पनि क्वारेन्टाइनको प्रबन्ध मिलाउनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘कामदारलाई समुदायमा हेलमेल गराउँदा संक्रमणको जोखिम बढ्छ ।’

कोरिडोरका प्रत्येक औषधि उद्योगमा १०० देखि ७/८ सयसम्म कर्मचारी भएकाले उद्योगबाहिर क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था मिलाउन नसकिने उद्योगी राजभण्डारी बताउँछन् । यहाँका उद्योग बन्द हुँदा औषधिको अभाव हुनसक्ने चेतावनी उत्पादकले दिएका छन् ।

उद्योगी रुंगटाका अनुसार यो कोरिडोरका १५ उद्योगमध्ये सातओटाले मधुमेह, रक्तचाप, मानसिक रोगजस्ता नियमित सेवन गर्नुपर्ने औषधि उत्पादन गर्छन् ।

यस्ता औषधिको करीब ८० प्रतिशत उत्पादन यही क्षेत्रका उद्योगले गर्ने भएकाले अभाव हुन सक्ने उनले बताए ।

बन्दाबन्दी र त्यसलगत्तै लगाइएको निषेधाज्ञाले कच्चा पदार्थको आपूर्तिसमेत अवरुद्ध भएको राजभण्डारीले बताए । कच्चा पदार्थको कमी र उत्पादनका अवरोधले उद्योगहरू यसअघि नै क्षमताको २५/३० प्रतिशतमा झरेकोमा उत्पादन बन्द भएपछि औषधिको हाहाकार हुन सक्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)