ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी प्रवेश गर्ने झोलुंगे पुलमै लगाइयो ताल्चा

२०७७ भदौ, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन मानिसहरूको धेरै आउजाउ हुने म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने बेनी–पारिबेनी जोड्ने झोलुंगे पुलमा फलामको बारसँगै ताल्चा नै लगाइएको छ ।

छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा नै कोरोना फैलिएकाले बागलुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाइ गर्ने निर्णय अनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीले झोलुंगे पुलमा ताल्चा लगाएर कडाइ गरेको हो ।

उक्त पुलबाट सर्वसाधारणको आवतजावत बढ्न गई कोरोनाको संक्रमण बढ्न जाने खतरा भएकाले पुल पूर्णरूपमा बन्द गरिएको डीसीसीएमसीले बताएको छ । स्मरणीय छ, बेनी प्रवेश गर्ने कालीपुलको पुलबाहेक अन्य सबै ठाउँमा कडाइ गरिएको छ ।

पुल बन्द गरिएपछि दैनिक रूपमा आवतजावत गर्न पर्ने व्यक्तिहरूले भने परिचय पत्रको आधारमा आवतजावत गर्न पाउन पर्ने माग गरेका छन् । ‘जिल्ला बाहिरबाट आएकालाई कडाइ गरे पनि नियमित आवतजावत गर्ने  पारीबेनीका बासिन्दाहरूलाई भने सहज बनाउन पर्छ’, पर्वत बेनीका नवीन जीसीले भने ।

सदरमुकाम बेनी प्रवेश गर्ने नाकामा कडाइ गरिए पनि छिमेकी जिल्ला बागलुङ हुँदै म्याग्दी प्रवेश गर्ने ग्रामीण क्षेत्रका नाकामा स्थानीय तहले भने कडाइ गर्न सकेका छैनन् । स्थानीय तहले माग गरेअनुरूप सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको भए पनि अन्तरजिल्लाका ग्रामीण नाकाहरू बन्द नगरेर सदरमुकाममा मात्रै कडाइ गरेर जोखिम कम गर्न नसकिने स्थानीयको भनाइ छ ।

बेनीबजारमा बागलुङ, पोखरा, काठमाडौंका साथै विभिन्न ठाउँबाट म्याग्दी आउनेहरूलाई सख्त कडाइ गरिएको प्रशासनले बताएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको पीसीआर परीक्षणको काम भइरहेकाले अनुकुल समय मिलाएर आवतजावतलाई सहज बनाइने जिल्ला प्रशासन कार्यालय म्याग्दीको भनाइ छ ।

हालसम्म म्याग्दीमा समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको कारण आवतजावतमा सहज हुने वातावरण भन्दा डीसीसीएमसीको निर्णयअनुसार अगाडि बढ्न अपिल गरिएको छ । कोरोनाको जोखिम बढ्दै जान थालेपछि घरबाट निस्किदा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, स्यानिटाइजरको प्रयोग गर्न अनिवार्य गरिएको छ ।

म्याग्दीमा हाल बाहिरबाट सरुवा भई आएका १ जना प्रहरीबाहेक अरुलाई सक्रिय कोरोना संक्रमण देखिएको छैन । विदेशबाट आएका ४८ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । अहिले १ जना प्रहरीमात्र आइसोलेनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)