ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाका बीच नयाँ श्रमस्वीकृति खुला

२०७७ भदौ, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना नियन्त्रणका लागि राजधानीसहित देशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाइरहेका बेला संघीय सरकारले भने नयाँ श्रमस्वीकृति दिन खुला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ श्रमस्वीकृति खुला गर्ने निर्णय गरेसँग वैदेशिक रोजगार विभाग मातहतको श्रम कार्यालय ताहाचलले आज (बुधवार) देखि नयाँ श्रमस्वीकृति दिने भएको हो । श्रमस्वीकृति खुला गरेसँगै कोरोनासम्बन्धी मापदण्ड पूरा गरेर नेपालीहरू रोजगारका लागि विदेश जान पाउनेछन् ।

सम्बद्ध श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रमस्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । कोरोना महामारीका कारण गएको फागुन अन्तिमदेखि श्रमस्वीकृति दिन बन्द गरिएको थियो ।

नयाँ श्रमस्वीकृति श्रम कार्यालय ताहाचलबाट मात्रै दिइनेछ । कोरोनाको त्रासका बीच श्रमस्वीकृति दिन लागिएको उनको भनाइ छ । दाहालका अनुसार वैदेशिक रोजगारमा जानेहरू काठमाडौंसम्म आउनै कठिन छ ।

‘श्रमस्वीकृति लिन भौतिक रूपमै काठमाडौं स्थित ताहाचल कार्यालयमा उपस्थित हुनुपर्छ, निषेधाज्ञामा श्रमस्वीकृति लिन राजधानीसम्म कसरी आउने ?’ दाहालले भने ।

सरकारले पुनः श्रमस्वीकृति दिन भने गएको असार १८ गतेदेखि खुलाएको थियो । पुनः श्रमस्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ ।

कोभिड महामारीका कारण विश्व अर्थतन्त्र धराशयी बनिरहेकाले वैदेशिक रोजगार प्रभावित बनिरहेको छ । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोनाको असर वैदेशिक रोजगारमा जानेको संख्यामा समेत देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा वैदेशिक रोजगारमा जानेको संख्यामा लोकतन्त्र स्थापनायताकै सबैभन्दा कम रहेको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयका अनुसार गतवर्ष १ लाख ९० हजार नेपाली रोजगारीका लागि विदेशिएका थिए । २०६२/६३ मा १ लाख ६५ हजार नेपाली वैदेशिक रोजगारमा गएका थिए । त्यसयता यो संख्या प्रत्येक वर्ष बढ्दो क्रममा थियो ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार सरकारले श्रमस्वीकृति खुलाए पनि निर्बाध रूपमा वैदेशिक रोजगारीमा पठाउने अवस्था भने छैन । श्रमस्वीकृति खुलाउने सरकारको निर्णयले बिदामा नेपाल आएर भिसा नसकिएका करीब १ लाख ३० हजार नेपाली फेरि विदेश फर्कन सक्ने अनुमान व्यवसायीहरूको छ । संघका महासचिव सुजित श्रेठका अनुसार घरबिदामा आएका ३० हजारभन्दा बढी नेपाली श्रमस्वीकृति खुलेसँगै साइप्रस फर्किन सक्नेछन् ।

सरकारले लामो समयसम्म वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाउँदा नेपालमा आउने गरेको श्रमिकको माग अन्य देशतिर मोडिने खतरा रहेको व्यवसायीको भनाइ छ । विशेषगरी भारत, बंगलादेश, पाकिस्तानले वैदेशिक रोजगारमा जान प्रतिबन्ध नलगाएका कारण नेपालमा आउने माग त्यता मोडिने खतरा रहेको छ । त्यसैले अहिले श्रमस्वीकृति खुला हुनु सकारात्मक रहेको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार नेपालीहरू रोजगारीका लागि बढी जाने गन्तव्य मुलुकहरूमा दुबई पर्छ । दुबईबाट धेरै कामदारको माग हुने अवस्था छ । ‘म्यानपावर व्यवसायीसँग रोजगारदाताले धेरै ‘डिल’ गरिरहेका छन्, दुबईले छिट्टै आप्रवासी कामदारको आवागमनलाई सहज बनाई नेपाली कामदार लिने देखिन्छ,’ श्रेष्ठले भने ।

कतार, बहराइन, ओमन,रोमानियाले पनि नेपाली कामदार मगाउने तयारी गरिरहेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूका अनुसार सरकारले श्रमस्वीकृति खुलाए पनि कामदारलाई आर्थिक भार नपर्नेगरी गन्तव्य मुलुकसम्म पठाउने तयारी गर्नुपर्छ । कोरोनासम्बन्धी मापदण्ड पूरा गर्दा कामदारले जानुपूर्व र गइसकेपछि पीसीआर परीक्षण, रोजगारदाता मुलुकमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दा आर्थिक भार थेगिनसक्नु हुन्छ । दुवै देशका सरकारी स्तरबाट छलफल गरी यस्तो खर्च सम्बद्ध देश अथवा कम्पनीले बेर्होने गरी व्यवस्थापन गर्न जरुरी रहेको व्यवसायीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)