ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी कोरिडोर : फलेवास–अर्मादी खण्डको ट्र्याक खोल्न शुरू

२०७७ भदौ, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । विगत १ वर्षदेखि अलपत्र अवस्थामा रहेको कालीगण्डकी कोरिडोरको फलेवास–अर्मादी खण्डको ट्र्याक खोल्न शुरू गरिएको छ । निर्माण कम्पनीको बेवास्ताका कारण अलपत्र अवस्थामा रहेको १४ किलामिटर खण्ड भदौ महीनाभित्र पूरा गर्नेगरी काम शुरू गरिएको हो ।

उक्त सडक खण्डको निर्माण २ वर्षअघि नै सक्नुपर्ने थियो । तर, निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनले बीचमै छोडेको थियो । कहिले वर्षा त कहिले कोरोनालाई कारण बनाउँदै आएको निर्माण कम्पनी अन्तिममा आएर बाँकी पूरा गर्न सहमत भएपछि अहिले पुनः बाँकी कामले गति लिएको कालीगण्डकी कोरिडोर पाल्पाका इन्जिनियर अर्जुन नेपालीले जानकारी दिए । कोरिडोरको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्म १४ किमी लम्बाइ छ । यसमध्ये झण्डै २ सय मिटर भीरमा मात्र ट्र्याक खोल्न बाँकी छ ।

फलेवास–अर्मादी खण्डमा मोदीवेणीघाट नजिक १ सय ५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी रहेको इन्जिनियर नेपालीले जानकारी दिए । निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले आवश्यक कामदार र उपकरण काममा खटिएको बताए ।

२०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । कोरिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । कोरिडोर कार्यालयका प्रमुख नगेन्द्र सुवेदीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको ७ किमीमा सडक कालोपत्रको टेण्डर भइसकेको भने सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्र गर्ने काम भइरहेको छ । रानीपानीदेखि फलेवाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रका लागि टेण्डर आह्वान हुने अवस्था छ ।

जिल्लाका सांसदसहित कुश्मा नगरपालिका, फलेवास नगरपालिका लगायत निकायले खबरदारी गरेपछि पर्वत खण्डको काम चाँडो सक्न निर्माण कम्पनी र कोरिडोर कार्यालयलाई दबाब परेको छ । फलेवास–अर्मादी खण्ड खुलेपछि मालढुंगादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात सञ्चालन गर्न सकिनेछ । यो आर्थिक वर्षभित्र मोदीखोला लमाएखोला, सेती र आँधीखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सीधा यातायात सञ्चालन गर्ने लक्ष्य सहित काम भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)