ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकाली अस्पतालको सेवामा उल्लेख्य सुधार

६ शय्याको आईसीयू सेवा शुरू, विशेषज्ञ चिकित्सक पनि थपिए

२०७७ भदौ, १७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कुनै समय रिफर सेन्टरको रूपका चिनिएको कञ्चनपुरको महाकाली अस्पतालले मुहार फेर्ने थालेको छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको बेला पछिल्लो समय जटिल किसिमको उपचार समेत महाकालीमै हुन थालेका छन् ।

गत वर्ष जिम्मेवारी पाएको अस्पताल विकास समितिले सक्रियता बढाएपछि अस्पताललको सेवाले सुदृढीकरणको मौका पाएको हो । डाक्टर नै बस्न नचाहाने यो अस्पतालमा अहिले ९ जना विशेषज्ञ डाक्टरसहित २१ जना डाक्टर कार्यरत छन् । अस्पतालले विशेषज्ञ डाक्टरसँगै आवश्यक उपकरण पाएपछि सेवा विस्तार भएको हो ।

२०७६ जेठ १५ गते कृष्णदत्त जोशी (बोक्सर) पहिलोपटक महाकाली अस्पतालको अध्यक्षको जिम्मेवारी पाएपछि अस्पतालको सेवामा उल्लेख्य सुधार आएको हो । त्यसअघि ‘रेफर’ अस्पतालको रूपमा परिचित अस्पताल पर्याप्त चिकित्सकको अभावमा सम्पूर्ण सेवा लथालिंग अवस्थामा थियो । अस्पतालमा चिकित्सक सकेसम्म आउन नमान्ने र आएका पनि धेरै समय बस्न नमान्ने अवस्थामा पुगेको थियो ।

जनशक्ति र उपकरणको अभावसँगै सेवा सम्पादनका लागि अनुकुल वातारण नरहेको महाकाली अहिले सेवा सुधारको बाटोमा छ । अस्पताल स्थापनाको ५७ वर्षपछि पहिलोपटक सघन उपचार (आईसीयू) सेवा सोमवारदेखि सञ्चालनमा आएको छ । आईसीयू सञ्चालनका लागि ४ वर्षअघि उपकरण ल्याइएको भए पनि सञ्चालनमा आउन सकेको थिएन । अस्पतालले अस्थायी अक्सिजन प्लान्टमार्फत आइसीयू सञ्चालन गरेको बताएको छ ।

२०२० सालमा प्राथमिक स्वाथ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१ सालमा १०० शøयासहित विस्तार र ०७५ मा प्रादेशिक अस्पतालका रूपमा स्तरवृद्धि गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा लामो समयको प्रयास र पर्खाइपछि आईसीयू सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष जोशीले बताए । उनका अनुसार अहिले ३ ओटा भेन्टिलेटर जडान गरेर ६ शøयाको आईसीयू सेवा सञ्चालन गरिएको छ । आईसीयू सञ्चालनका लागि प्रदेशले रू. १ करोड विनियोजन गरेको उनको भनाइ छ ।

‘अक्सिजन प्लान्टका लागि छुट्टै रू. ८० लाख आएको छ । तर, लकडाउनका कारण बाहिरबाट सामान मगाउन नसक्दा हाल त्यो बजेटको काम रोकिएको छ’, जोशी भने, ‘अक्सिजनका १० ओटा सिलिन्डरमार्फत अस्थायी रूपमा आईसीयू सेवा सञ्चालन गरिएको हो ।’ अक्सिजन प्लान्टका लागि चैत ७ गते नै टेन्डर आह्वान गरे पनि बाहिरी देशबाट मगाउनुपर्ने भएकाले अहिले त्यो आउन नसकेको उनको भनाइ छ ।

तत्कालै आईसीयू कक्षमा ४ ओटा भेन्टिलेटर र १० ओटा शय्या थप्ने तयारी भइरहेको अस्पतालले बताएको छ । त्यसका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन पनि गरिसकेको बताइएको छ ।

आईसीयू सेवा सञ्चालनमा आएसँगै उपचारका लागि चर्को मूल्य तिरेर निजी क्लिनिक तथा अर्को जिल्ला जानुपर्ने बाध्यता हट्ने स्वास्थ्यकर्मी तथा स्थानीयहरूले अपेक्षा गरेका छन् । आईसीयू सञ्चालन भएपछि कोरोना संक्रमित लगायत गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए ।

भेन्टिलेटरको सुविधाले सर्पदंश तथा श्वाप्रश्वासको बिरामीलाई समेत उपचार गर्न सहज हुने उनले बताए । त्यस्तै पछिल्लो १ वर्षयता अस्पतालमा जनशक्ति पनि थपिएको छ । विगतमा दक्ष जनशक्तिको अभावमा थला परेको अस्पतालमा अहिले भने जनशक्ति थपिँदै लगिएको छ ।

अस्पतालमा विशेषज्ञ डाक्टरसहित २८ जना चिकित्सकको दरबन्दीमा २१ जना कार्यरत रहेको मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठले बताए । उनका अनुसार २१ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा स्त्री रोगसम्बन्धी ३ जना, हाडजोर्नीसम्बन्धी २ जना, एमडीजीपी २ जना, ल्याबमा १ जना र एनस्थेसियामा १ जना गरी ९ जना विशेषज्ञ डाक्टर छन् । त्यसैगरी १२ जना मेडिकल अधिकृत छन् ।

त्यस्तै अस्पतालले जेठ महीनादेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्थापनाको साढे ५ दशकपछि आप्mनै फार्मेसी सञ्चालन गर्न अस्पताल सफल भएको हो । साथै उक्त सेवालाई २४ घण्टासम्म विस्तार गर्ने तयारी पनि भइरहेको छ । अस्पतालले रू. २५ लाख बराबरको आधारभूत औषधि राखेर फार्मेसी स्थापना गरेको बताएको छ ।

महाकाली अस्पतालले सोमवारदेखि नै थाइराइडको ल्याब सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अस्पतालले थाइराइडको ल्याब सञ्चालनमा ल्याएको हो । गत वर्ष प्रदेश सरकारले सामग्री तथा उपकरणका लागि दिएको बजेटबाट थाइराइड मेशिन खरीद गरी सञ्चालन गरिएको अस्पतालले बताएको छ । साथै अस्पताले गुरुयोजनासहित भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिँदै आएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)