ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञामा अत्यावश्यकीय उद्योग : उत्पादनदेखि बजारसम्म समस्यै समस्या

२०७७ भदौ, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बन्दाबन्दीको बेला होओस् वा निषेधाज्ञा, सरकारले अत्यावश्यकीय सेवा र सामग्रीको आपूर्तिलाई प्राथमिकतामा राखेको छ । गत चैत ११ गते बन्दाबन्दी शुरू हुँदा १ साता नबित्दै अत्यावश्यकीय उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको थियो । तर, पछिल्लोपटक निषेधाज्ञा लगाइएपछि यस्ता उत्पादन र आपूर्ति असहज बनेको छ ।

कोरोना संक्रमणको त्रास र नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको कडा निषेधाज्ञाले अत्यावश्यकीय उद्योगको उत्पादन अनिश्चित बनेको उद्योगीहरूले बताएका छन् । अहिले ५० भन्दा बढी जिल्ला निषेधाज्ञामा रहँदा खाद्यान्न र औषधिजस्ता उत्पादनसमेत अवरुद्ध भएको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग करीब १ हप्तादेखि बन्द छन् भने खाद्यान्न उद्योग पनि न्यून क्षमतामा चलेको उद्योगीहरू बताउँछन् । यो औद्योगिक कोरिडोर औषधि र खाद्यान्न उत्पादनको केन्द्र हो । उत्पादनको मुहान नै सुकेपछि अत्यावश्यकीय वस्तु र सेवाको आपूर्ति अवरुद्ध हुनसक्ने वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताको चिन्ता छ ।

बारा–पर्सा उत्पादनको मात्र नभएर साउनको पहिलो हप्तादेखि कोरोना संक्रमणको पनि केन्द्र बनेको छ । त्यसयता स्थानीय प्रशासनले कडाइ गरेका छन् । समुदायमा कोरोना फैलिनुमा उद्योग प्रतिष्ठान नै मुख्य स्रोत भएको बुझाइ पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको छ ।

बन्दाबन्दी खुकुलो भएकै समयमा कोरिडोरका केही उद्योगमा कार्यरत भारतीय कामदारमा संक्रमण देखिएपछि यतिबेला उद्योगमा निगरानी बढाइएको छ । कोरिडोरका एक दर्जभन्दा बढी उद्योगका दर्जनौं कामदारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बन्दाबन्दीको समयमा सहजरूपमा सञ्चालन भएका उद्योगले यतिखेर निषेधाज्ञामा सकस सामना गरिरहेका छन् । उद्योगबाट कामदार आवतजावत गर्दा समुदायमा संक्रमण पैmलिएको भन्दै उद्योगमै आवसीय व्यवस्था मिलाएर चलाउन भनिएको छ ।

उद्योग सञ्चालनका लागि सरकारले तयार पारेको मापदण्डमा समेत यो उल्लेख छ । तर, बन्दाबन्दीको बेला यो मापदण्डमा त्यति कडाइ गरिएको थिएन । पछिल्लोपटक समुदायमै कोरोना फैलिएपछि मापदण्डको कार्यान्वयनमा निगरानी बढाइएको मात्र छैन, अत्यावश्यकीय उद्योगका सवारीसाधनको आवागमन पनि रोकिएको छ ।

सवारीका साधन चलाउन अनुमति नपाएपछि कोरिडोरका औषधि उद्योगले उत्पादन बन्द गरेको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । ‘कामदारलाई उद्योगभित्रै खाने र बस्ने व्यवस्था मिलाएर चलाउन भनिए पनि औषधि उद्योगमा यसबाट ब्यारक्टेरिया प्रदूषणको सम्भावना हुने र औषधिको गुणस्तर प्रभावित हुन्छ । यो प्रणालीबाट औषधि उद्योग चलाउन सकिँदैन,’ राजभण्डारीले आर्थिक अभियानसँग भने ।

अधिकांश उद्योग कामदारलाई कारखानामै राखेर उत्पादन गर्न सक्ने अवस्थामा नरहेको उद्योगी सुरेश रुंगटा बताउँछन् । ‘सयौं कामदारलाई उद्योग हातामा राख्न सम्भव नै छैन । कुनै उद्योगसित पनि यो खालको पूर्वाधार छैन,’ ओसीबी फुड एन्ड फिडका सञ्चालक रुंगटाको दाबी छ ।

नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष गुप्ताका अनुसार कामदार र कच्चा पदार्थको आपूर्तिको समस्याले अधिकांश खाद्यान्न उद्योग अहिले क्षमताको १५ देखि २० प्रतिशतमा खुम्चिएका छन् । पशुपन्छीको दाना उत्पादनको अवस्था पनि दयनीय छ ।

बैंकहरूले नियमित सेवा नदिँदा भुक्तानीको समस्याले तयारी मालसामानसमेत बेच्न नपाएको रुंगटाको गुनासो छ । बैंकिड सेवा प्रभावित हुँदा बजारबाट उधारोको भुक्तानी उठ्न नसकेको शिवम् एग्रो इन्डस्ट्रिजका सञ्चालक शिवजीप्रसाद कलवार बताउँछन् ।

‘बजारमा ६ महीनासम्मको उधारो गएकाले त्यस्तो रकम नउठ्दा उद्योग चलाउनै कठिन भइरहेको छ । उधारो व्यवस्थापनमा सरकारले नीतिगत व्यवस्था मिलाउन जरुरी भइसकेको छ,’ उद्योगी कलवारको आग्रह छ ।

पूँजीजति उधारोमा अड्किएपछि १० प्रकारका वस्तु उत्पादन गर्ने उद्योग अहिले १÷२ ओटामा सीमित भएको अध्यक्ष गुप्ताले बताए । बजारमा अहिले समग्र माग घटेको छ । ‘५ महीनाभन्दा लामो घोषित÷अघोषित बन्दाबन्दीले आम्दानी घट्दा अत्यावश्यकीय वस्तुको माग प्रभावित भएको छ । बजारबाट माग र भुक्तानी दुवै घटेपछि उत्पादन त खुम्चिने नै भयो, उनले सुनाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)