ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार अनुसन्धानकर्ता कम्पनी द निल्सन नेपाल बन्द हुँदै

२०७७ भदौ, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बजार अनुसन्धानकर्ता कम्पनी द निल्सन नेपाल प्रालि बन्द (लिक्वीडेशन) प्रक्रियामा अगाडि बढेको छ । बहुराष्ट्रिय कम्पनी निल्सन होल्डिङ्सको शतप्रतिशत शेयर रहेको यस कम्पनीले गत जुन ३० मै आन्तरिक रूपमा बन्द गर्ने घोषण गरेको थियो ।

कम्पनीले आगामी सेप्टेम्बर ३१ तारीखभित्र लिक्वीडेशन गरिसक्ने गरी प्रक्रिया अगाडि बढाएको छ । आन्तरिक प्रक्रिया पूरा भइसके पनि लिक्वीडेट गर्न सरकारी काम मात्र बाँकी रहेको कम्पनी स्रोतले बताएको छ । लिक्वीडेशन प्रक्रियालाई पछिल्लो निषेधाज्ञाले असर गरे पनि सेप्टेम्बर ३१ भित्रैै आधिकारिक रूपमा बन्द गरिने कम्पनीका एक उच्च अधिकारीले आर्थिक अभियानलाई बताए ।

सन् १९९३ देखि नेपालमा बजार अनुसन्धानको काम गर्दै आएको निल्सनको पछिल्लो समय सोचेअनुरूप व्यवसाय हुन सकेको थिएन । कोरोना महामारीले व्यवसाय थप प्रभावित भएपछि कम्पनी नै बन्द गर्न लागिएको हो ।

निल्सन होल्डिङ्सले आफ्नो स्वामित्वमा रहेका ओमानसहित विभिन्न पाँच देशका कम्पनी पनि बन्द गर्न लागेको छ ।

अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको निल्सन होल्डिङ्स ख्यातिप्राप्त अन्तरराष्ट्रिय डेटा एनालेटिक कम्पनी हो । पछिल्लो समय निल्सनले निल्सन मिडिया र निल्सन कनेक्ट गरी दुई क्षेत्रमा मात्र आफ्नो व्यवसाय केन्द्रित गर्ने रणनीति लिएको छ ।

नेपाल निल्सन कनेक्टअन्तर्गत पर्छ । निल्सन कनेक्टअन्तर्गत बजार अनुसन्धान, सामाजिक अनुसन्धान र रिटेल मेजरमेन्टको काम हुन्छ । तर, निल्सन होल्डिङ्सले नेपालमा यससम्बन्धी व्यावसायिक सम्भावना नदेखिपछि कम्पनी बन्द गर्न लागेको हो ।

निल्सनको मापदण्डअनुसार नेपालमा व्यवसाय गर्दा खर्च बढी हुने र त्योअनुसारको नाफा कमाउन नसकिने कम्पनीको भनाइ छ । निल्सनले अब बढी नाफा कमाउने मुलुकमा मात्र आफ्नो व्यवसाय विस्तार गर्ने बताएको छ ।

निल्सन नेपालले नेपाली बजारमा विक्री हुने उपभोग्य वस्तुको विषयमा बजार अनुसन्धानको काम गर्दै आएको थियो । बहुराष्ट्रिय कम्पनीहरू सूर्य नेपाल, युनिलिभर नेपाललगायतले नयाँ वस्तु उत्पादनका क्रममा त्यसको मूल्य तोक्ने प्रक्रियाबारेको अनुसन्धान निल्सन नेपालमार्फत गराउँथे ।

निल्सन नेपालमा ६० भन्दा बढी कर्मचारी आबद्ध थिए भने २ सयभन्दा बढी स्वतन्त्र अनुसन्धानकर्ता पनि थिए । कम्पनी बन्द गर्ने भएपछि त्यहाँ आबद्ध सबै कर्मचारीको रोजगारी गुमेको छ । कम्पनीले अधिकांश कर्मचारीलाई जुलाईदेखि नै बिदा गरिसकेको छ । कम्पनी बन्द गर्ने प्रक्रियाका लागि भने लेखा र प्रशासन शाखाका सीमित कर्मचारीलाई राखिएको स्रोतको भनाइ छ । जागीर गुमेका कर्मचारीहरूले भने उचित क्षतिपूर्ति पाएका छन् ।

‘कोरोना महामारीमा रोजगारी जानु आफैमा दुःखद हो तर हामीले उचित क्षतिपूर्ति पाएका छौं,’ कम्पनीका एक पूर्वकर्मचारीले भने, ‘कम्पनीले स्वेच्छाले नै सेवा बन्द गर्न लागेको हो । सोही कारण हामीले उचित क्षतिपूर्ति पाएका हौं ।’

नेपालमा सन् १९९३ मा मार्ग नेपाल भनेर यो कम्पनी स्थापना भएको थियो । तत्कालीन समय भारतको मार्केट एन्ड रिसर्च ग्रूप र नेपालको सोल्टी ग्रूप अफ कम्पनीले ५०/५० प्रतिशत शेयर अंशमा सो कम्पनी स्थापना गरेका थिए । सन् १९९८ मा उक्त कम्पनी भारतमै अपरेशन रिसर्च गू्रप (ओआरजी) सँग मर्ज भयो । त्यसपछि सन् २००४/५ मा ओआरजीलाई भारतकै एसी निल्सनले किनेको थियो । एसी निल्सन आएपछि सोल्टी ग्रूपले भने आप्mनो शेयर झिक्यो र उक्त कम्पनीमा एसी निल्सनको नै शतप्रतिशत शेयर कायम भयो ।

त्यसपछि नेपालमा एसी निल्सन नाममा कम्पनीले सेवा थाल्यो । सन् २००९÷१० मा एसी निल्सनलाई निल्सन होल्डिङ्सले किनेपछि नेपालमा यसले द निल्सन कम्पनी नेपाल प्रालि नाम दिएर आफ्नो सेवा सञ्चालन गर्दै आएको थियो ।

कम्पनी बन्द भएपछि त्यहाँ आबद्ध चार जना कर्मचारी मिलेर यस्तै प्रकृतिको मार्क डेटा नेपाल नामक कम्पनी स्थापना गरेका छन् । कोरोना महामारी साम्य भएपछि उक्त कम्पनीलाई सञ्चालनमा ल्याइने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

Manita kumari bhujel

[Sep 5, 2020 08:29am]

New name ma company feri chalne vayo 😊😊


User Image

Amit kumar shrestha

[Sep 4, 2020 03:36am]

15% tax le po garro banayo ....



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)