ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई मन्त्रालयको निर्देशन

अन्तरराष्ट्रिय सेक्टरमा शर्तसहित नियमित उडान शुरू

२०७७ भदौ, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले यात्रुहरूको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार नियमित उडानहरूको भाडादर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौं आएको उक्त एयरलाइन्सलाई १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् ।

एयर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जना आरडीटी गरेको र एकजना परीक्षण नै नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टाइनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिइएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एयरलाइन्सले सबै यात्रुबाट होटल खर्च उठाएको, तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि रकम रकम फिर्ता गराउन र  फिर्ता नगरे कारबाही गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् । यस्तै अन्तरराष्ट्रिय नियमित उडान गर्ने विमान सेवा कम्पनीलाई बढी भाडा नलिन पनि मन्त्रालयले निर्देशन दिएको छ । अन्तरराष्ट्रिय नियमित उडानहरू महँगो भएको गुनासो आएपछि पर्यटनमन्त्री भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको उडान भएका सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

टिकटमा ट्राभल्स एजेन्सीहरूले अनियन्त्रित रूपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सहरूले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै मन्त्री भट्टराईले अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघसँग आग्रह गर्नुपर्ने बताए ।बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न÷नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरूलाई सचेत गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए । यस्तै नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको उनले जानकारी दिए ।

यसैबीच, कोभिड–१९ संक्रमणका कारण बन्द रहेको व्यावसायिक अन्तरराष्ट्रिय उडान ५ महीनापछि बुधवारदेखि शुरू भएको छ । सरकारले बन्दाबन्दीको भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । नियमित अन्तरराष्ट्रिय उडानमा बुधवार बिहान १ बजेट नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिताका लागि उडेको थियो । यस्तै चार्टरतर्फ पाँच उडान भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । यसबीचमा विभिन्न मुलुकबाट चार्टर उडान पनि सञ्चालन गरिनेछ । नेपालमा बन्दाबन्दी शुरू भएको चैत ११ देखि अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यसबीचमा स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान, उद्धार र चार्टर उडान भए पनि कुनै पनि व्यावसायिक उडान भएका थिएनन् ।

पीसीआर परीक्षण सहज भएका मुलुकहरू मलेशिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र यूरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउन बुधवार बिहानदेखि नियमित उडान शुरू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । यस्तै पीसीआर सहज नभएका मुलुकहरू कतार, साउदी अरब, कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)