ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्व नजिकिँदै गर्दा चीनतर्फका प्रमुख नाका ठप्प

२०७७ भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चीनतर्फका प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट मालवाहक गाडीहरू छुट्न नसक्दा चाडपर्वका बेला हुने आयात ठप्प भएको छ ।

भन्सार विभागका अनुसार असारदेखि नै पहिरोले सडक अवरुद्ध भएका कारण तातोपानी नाका बन्द छ भने रसुवागढी नाका पछिल्लो समय सञ्चालनमा आए पनि त्यहाँ सामान लोड गर्ने मजदूरमा कोरोना संक्रमण देखिएपछि अहिले बन्द छ ।

भन्सार विभागका निर्देशक शिशिर घिमिरे चीनतर्फका नाका सञ्चालन गर्न भौगोलिक विकटताका कारण चुनौती रहेका बेला प्राकृतिक विपत्ति र महामारीले थप अप्ठ्यारो परेको बताउँछन् ।

मजदूरमा कोरोना भेटिएसँगै तत्काललाई नाका सञ्चालनमा ल्याउन नसकिएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । ‘हाल कार्यरत अन्य मजदूरहरूको स्वाब लिएर क्वारेन्टाइनमा राखिएको छ । रिपोर्ट नआउँदासम्म नाका खुल्ने अवस्था छैन,’ उनले भने ।

खड्काका चिनियाँ अधिकारीले दुवैतर्फका सवारी चालक, सहचालक, सामान लोड गर्ने मजदूर सबैको पीसीआर परीक्षणको नतीजा आएपछि मात्र सामान पठाउने बताएका छन् ।
नाकाबाट सामान नआउँदा भन्सारमै करीब ३० कन्टेनर थन्किएको भन्सार कार्यालयले बताएको छ । दशैंतिहारजस्ता ठूला चाडपर्व नजिकिएसँगै चीनबाट ठूलो परिणाममा सामान भित्रने भएकाले नाका छिट्टै खोलिने भन्सार प्रमुख खड्काले जानकारी दिए ।

हाल दैनिक चार चिनियाँ कन्टेनरमार्फत सामान आयात भइरहेकोमा दशैंतिहारलाई लक्षित गरी अर्को साताबाट दैनिक ८ चिनियाँ कन्टेनरबाट सामान ल्याउने योजना थियो । सामान लोडिङका लागि सोहीअनुसारको व्यवस्थापन पनि शुरू गरिसकिएको थियो ।

चाडपर्वका बेला यी नाकाबाट लत्ताकपडा, इलेक्ट्रोनिक, खेलौनालगायत सामान आयात हुने गरेको थियो । रसुवागढी नाका पहिरोका कारण जेठयता बारम्बार अवरोध हुँदै आएको छ । पहिरोका कारण गत साता १५ दिन अवरोध भएर उक्त नाका केही समय खुलेको थियो ।

तातोपानी भन्सार कार्यालयका अनुसार पहिरोले बाटो अवरुद्ध हुँदा तातोपानी भएर भित्रिने मालवाहक सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् ।

तातोपानीको लिपी बजारदेखि २०० मीटरनजीकै भीरमा पहिरो गएपछि कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायत सामान बोकेका १४ कन्टेनर बाटोमै रोकिएका छन् । नाकामा सामान लोड भएर करीब ५० ट्रक छुट्न सकेका छैनन् । यसअघि कोरोना महामारीका कारण गत १६ माघबाट बन्द तातोपानी नाका २६ चैतदेखि सञ्चालनमा आएको थियो । सडक तत्कालै मर्मत गर्न भोटेकोशी र मध्यभोटेकोशी आयोजनासँग समन्वय भइरहेको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । दुवै नाका बन्द हुँदा व्यापारीहरूले सामान जाँचपास गरेर काठमाडौंसम्म ल्याउन सकेका छैनन् । लामो समय नाका अवरुद्ध भए सामान बिग्रन सक्ने र लागतसमेत बढ्न जाने व्यापारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)