ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा व्यवसाय : साउनमा औसतभन्दा बढी बीमा शुल्क संकलन

२०७७ भदौ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना महामारीका बीच पनि साउन महीनामा जीवन कम्पनीहरूले औसतभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपालमा १९ जीवन बीमा कम्पनीहरूले औसतमा मासिक पौने ८ अर्ब बीमाशुल्क संकलन गर्छन् ।

साउनमा भने त्योभन्दा बढी अर्थात् रू. १० अर्ब १४ करोड बीमाशुल्क संकलन भएको बीमा समितिको प्रारम्भिक तथ्यांकले देखाएको हो ।

तथ्यांकअनुसार कुल बीमाशुल्कमध्ये रू. २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यवसाय) रहेको छ । तर, वैदेशिक रोजगारी बन्द हँुदा त्यसबापतको बीमाशुल्क भने संकलन हुन सकेको छैन ।

बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । साउनमा उक्त कम्पनीले रू. ३ अर्ब ९७ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले रू. १ अर्ब ६ करोड र तेस्रो नम्बरमा रहेको एलआईसीले रू. १ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि लगाइएको ४ महीना बन्दाबन्दीका कारण जीवन बीमा व्यवसायमा प्रभाव परेको थियो । पुराना बीमालेखको नवीकरण वैशाख, जेठ र असारमा हुने हुँदा बीमाको व्यवसाय बढ्ने गर्छ ।

आर्थिक वर्ष अन्त्य भएकाले अन्य महीनामा भन्दा असारमा बढी बीमाशुल्क संकलन हुन्छ । तर, त्यो समय बन्दाबन्दीका कारण बीमा व्यवसाय सहज हुन सकेको थिएन ।

गत असारदेखि बन्दाबन्दी खुकुलो भएपछि भने जीवन बीमा व्यवसाय बढेको छ । असारमा पनि औसतभन्दा बढी अर्थात् करीब रू. २४ अर्ब बीमाशुल्क संकलन भएको थियो ।
असारमा बन्दाबन्दी खुकुलो भएपछि कम्पनी तथा बीमा अभिकर्ताहरू व्यवसायमा सक्रिय थिए । सोही कारण असारमा बढी बीमाशुल्क उठ्न सकेको थियो । साउनमा पनि असारकै प्रभावले बीमाशुल्क संकलन बढेको युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्णले जानकारी थिए । ‘साउनमा बन्दाबन्दी पनि थिएन । सोही कारण अभिकर्ताहरूले फिल्डमै गएर काम गर्न पाए,’ उनले भने, ‘त्यसैको प्रभावले साउनमा बीमाशुल्क बढी उठेको हो ।’

भदौ लागेपछि भने बीमाशुल्क संकलन प्रभावित भएको कर्ण बताउँछन् । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदा भदौदेखि नै व्यवसायमा कमी आएको उनको भनाइ छ ।

जीवन बीमा व्यवसायका लागि आगामी दिन थप चुनौतीपूर्ण रहेको उनी औंल्याउँछन् । ‘कोरोनाको त्रासले बीमा अभिकर्ता स्वतन्त्र भएर हिँड्न पाएका छैनन् । त्यसको असरले जीवन बीमा व्यवसाय प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘तर, कोरोना त्रास सकिए व्यवसाय ह्वात्तै बढ्न सक्छ ।’

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे पनि साउनमा जीवन बीमाको व्यवसाय फस्टाएको बताउँछन् । सूर्या लाइफका सीईओसमेत रहेका पाण्डेले भने, ‘हाम्रो कम्पनीको पनि अरू महीनाभन्दा ५०/५५ प्रतिशतले व्यवसाय बढेको छ । अन्य कम्पनीहरूको पनि सोही अनुपातमा व्यवसाय बढेको हुन सक्छ ।’ बन्दाबन्दीको अवस्थामा भुक्तानी गर्न बाँकी नवीकरण बीमाशुल्क उठ्न थालेपछि पनि साउनमा व्यवसाय राम्रो देखिएको उनको अनुमान छ । साउनमा बन्दाबन्दी खुकुलो भएको कारण पनि व्यवसाय बढेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)