ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान फल्ने खेत बन्यो केराको बगैंचा

अन्नबालीबाट भन्दा दोब्बर आम्दानी

२०७७ भदौ, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट र खबरा गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान फल्ने खेत र कोदो रोप्ने बारी अहिले केराको बगैंचामा परिणत भएका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतमा व्यावसायिक रूपमा केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले खेतबारीमा केराखेती गरिएको कृषकहरूले बताएका छन् ।

केही वर्ष अघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैंचामा परिणत भएको छ । अनुकूल हावापानी, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आफूहरू आकर्षित भएको स्थानीय कृषक खिमबहादुर कार्कीले बताए । उनले आफ्नो खेतमा ५५० ओटा केराका बिरुवा लगाएका छन् ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि करीब १० रोपनी खेत र बारीमा केराका बिरुवा लगाएका छन् । ‘खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतैभरि केरा लगाएको छु,’ उनले भने । यस क्षेत्रको करीब ९ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको उनले बताए । अबको २ वर्षपछि बगरफाँट केराफाँटमा परिणत हुने भएको उनको भनाइ छ ।

बगरफाँटमा २० जना कृषकले बगैंचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । स्थानीय अम्बिका शर्मा, सरिता शर्मा, चन्द्रबहादुर घिमिरे, कृष्णप्रसाद रिजाल, भीमबहादुर कार्की लगायत कृषकले धान फल्ने खेतभरि केराखेती विस्तार गरेका छन् । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेकोमा केराखेती आयआर्जनको गतिलो विकल्प बन्ने देखिएको स्थानीय खिमबहादुर कार्कीले बताए ।

गतवर्ष जेठमा यहाँका कृषकले करीब २ हजार केराका बिरुवा लगाएका थिए । पकाएको प्रति १२ कोसा केरा १ सय रुपैयाँका दरले विक्री हुने गरेको छ । एउटै घारीबाट १ हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरूको भनाइ छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केराखेतीका लागि अनुकूल मानिएको छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरूले बताएका छन् ।
बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरिएको वडाध्यक्ष हिराबहादुर थापाले बताए । केराखेती सम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि रू. ३ लाख विनियोजन भएको छ ।

खबरामा वार्षिक ५० लाखभन्दा बढी आम्दानी
बेनीसँगै जोडिएको खबरा गाउँमा पनि सबैजसो कृषकले केराखेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । यहाँका कृषकले केराखेती गरेर डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् । केरा बेचेर मात्रै गाउँमा वार्षिक रू. ५० लाखसम्म भित्रने गरेको छ ।

केही वर्ष अघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैंचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए । ‘यहाँका सबै कृषकले केराखेती गरेका छन्,’ सापकोटाले भने, ‘खबराको आम्दानीको मुख्य स्रोत पनि यही हो ।’ उनका अनुसार ३ वर्षअघि यहाँका कृषकले व्यावसायिक केराखेती शुरू गरेका हुन् । करीब डेढसय घरधुरी रहेको खबराका बासिन्दाले खेतबारी, कान्ला, खोल्सा र खरबारीमा समेत केराखेती गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)