ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा भूकम्पपछिको आवास पुनर्निर्माण ५१ प्रतिशत सम्पन्न

२०७७ भदौ, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

भदौ । पर्वतमा भूकम्पपछिको पुनर्निर्माणमा ५१ प्रतिशत प्रगति हासिल भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय पर्वतका अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले ५ हजार ५१२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए, जसमध्ये हालसम्म २ हजार ७९९ ओटाको पुनर्निर्माण सम्पन्न भई लाभग्राहीलाई तेस्रो किस्ता भुक्तानी दिइएको छ ।

कार्यालयका अनुसार पहिलो किस्ता ५ हजार १२४, दोस्रो किस्ता ३ हजार ६७१ जनाले बुझेका छन् । तर, २ हजार ७३३ जनाको घर निर्माण सम्पन्न हुन बाँकी छ । ३८८ घर पूर्ण क्षतिको सूचीमा परे पनि सम्झौता गर्न नआएको कार्यालय प्रमुख कृष्णराज गौतमले जानकारी दिए ।

‘दोस्रो किस्ता लगे पनि कतिपयको मापदण्ड पुगेको छैन,’ गौतमले भने, ‘मापदण्ड नपुगेका घरलाई मापदण्ड अनुसारको बनाउन प्राविधिकले ताकेता गरिरहेका छन् । मापदण्ड नपुगेका १० प्रतिशत जति घर होलान् ।’ जिल्लामा आंशिक क्षतितर्फ ६४१ घर सूचीकृत छन् । २७६ घरले पहिलो किस्ता लगे पनि दोस्रो किस्ता कसैले पनि लगेका छैनन् भने ३६५ जना सम्झौता गर्न नै नआएको गौतमले जानकारी दिए । यही महीनाको अन्तिमसम्म सम्झौताको म्याद रहेको र केही सम्झौता भई पहिलो किस्ता भुक्तानीको प्रक्रियामा रहेको उनले बताए । पुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार पूर्ण क्षति भएका घरले ३ लाख रुपैयाँ र आशिंक क्षति भएका घरले १ लाख रुपैयाँ अनुदान प्राप्त गर्छन् । जिल्लाका जोखिमपूर्ण बस्तीका २२ घरधुरीमध्ये १६ घरधुरीलाई एकीकृत बस्तीमा स्थानान्तरण गरिएको पनि उनले बताए । पुनर्निर्माण अपेक्षित गतिमा अघि बढेकोमा कोरोना महामारीले केही काम प्रभावित भएको गौतमले बताए ।

कार्यालयका नासु बालकृष्ण शर्माका अनुसार कार्यालयमा गतवर्ष कुल बजेट ६० करोड ३३ लाख ३१ हजारमध्ये पूँजीगत ७ करोड ९२ लाख ५० हजार रहेको र खर्च ६ करोड ९९ लाख ८ हजार रुपैयाँ खर्च भएको छ । चालूतर्फ ५२ करोड ४० लाख ८१ हजारमा ३७ करोड ९ लाख ६ हजार खर्च भएको छ । चालू आवको बजेट प्राप्त नभएको शर्माले बताए । कार्यालयमार्फत पातीचौर मैदान, लप्सीबोट १३ किमी पक्की सडक निर्माण भइरहेको र यसको प्रगति ६५ प्रतिशत रहेको बताइएको छ । गतवर्ष महाशिलाको लामे बौद्ध गुम्बाको पुनर्निर्माण सम्पन्न भएको प्रगतिमा समावेश गरिएको छ ।

भूकम्पपछि विभिन्न समयमा प्राविधिक मूल्यांकन हुँदा छुट भएका र प्राविधिकको निर्णय चित्त नबुझेका भूकम्प पीडितलाई पुनरावेदन गर्न सक्ने अधिकार दिएपछि जिल्लामा ७८१ जनाले उजुरी दर्ता गरेका छन् । कार्यालयले असारबाटै आवेदन माग गरेकोमा साउन ११ गतेदेखि पुनरावेदनको निवेदन दर्ता शुरू भएको थियो ।  

पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको १३०औं बैठकले प्राविधिक मूल्यांकनमा चित्त नबुझेका र घर भत्किएको प्रमाण पुग्ने नागरिकलाई पुनरावेदन गर्न सक्ने अधिकार अख्तियार गरेको थियो । सोही निर्णय अनुसार जिल्लामा भदौ १५ गतेसम्म ७८१ जनाले निवेदन दर्ता गरेको कार्यालय प्रमुख गौतमले जानकारी दिए । निवेदनको हदम्याद ३५ दिन रहेको छ । पुनरावेदनको सुनुवाइ पुनर्निर्माण प्राधिकरणको पुनरावेदनको सचिवालयले गर्ने बताइएको छ । पुनर्निर्माण प्राधिकरणले पर्वतमा २०७३ सालमा पहिलोपटक १४ हजार घरको सर्वेक्षण गर्दा ५ हजार २७९ घर पूर्ण र ४१७ घर आशिंक क्षतिमा परेको प्रतिवेदन तयार भएको थियो । २०७५ सालमा गरिएको दोस्रो पटकको छुट तथा पुनः जाँच सर्वेक्षणमा २४३ घर पूर्ण र २२४ आशिंक क्षतिमा सूचीकृत भएका थिए । उक्त वर्ष ४ हजार ५०० घरको सर्वेक्षण गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)