ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन विभागद्वारा बरुन्चे हिमाल आरोहणका लागि अनुमति प्रदान

बहराइनका राजकुमार पनि हिमाल आरोणका लागि नेपाल आउँदै

२०७७ भदौ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को कारण पर्यटकीय गतिविधि ठप्प भइरहेकै समयमा पर्यटन विभागले बरुन्चे हिमाल आरोहणका लागि अनुमति प्रदान गरेको छ । ७ हजार १२९ मिटर अग्लो सो हिमाल आरोहणका लागि विभागले ६ नेपालीको टोलीलाई अनुमति दिएको पर्यटन विभागले जानकारी दिएको छ । अनुमति लिएको ६ जनाको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्ने भएका छन् ।

सरकारले शरद् ऋतुका लागि पर्यटकीय गतिविधि खुला गर्ने निर्णय गरेसँगै हिमाल आरोहणका लागि अनुमति दिन खुला गरेको विभागका निर्देशक मिरा आचार्यले जानकारी दिइन् । कोरोनापछिको पहिलो आरोहण बरुन्चे हिमालमै हुने विभागले जानकारी दिएको छ ।

यसैबीच सेप्टेम्बर १५ पछि बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफाको टोली लोत्से हिमाल आरोहणका लागि आउने भएको छ । बहराइनको सेनाको कमाण्डर समेत रहेका राजकुमार १५ बहराइनी र तीन बेलायतीसहित १८ जनाको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउने भएका हुन् । राजकुमार खालिफाको टोली करीब २ महीना नेपाल रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्ले रोयल गार्ड बहराइनको टिमलाई चार्टर्ड उडान गरी नेपाल आउन केही दिनअघि अनुमति दिने निर्णय गरेको थियो ।

बहराइनका राजकुमारको उक्त टोलीलाई विश्वका ८ हजार मिटर अग्ला सबै १४ ओटा हिमाल आराहण गरेका कीर्तिमानी आरोही मिङ्मा शेर्पाको कम्पनी सेभेन समिट ट्रेकर्सले आरोहण गराउनेछ । उनीहरूले ८ हजार १६३ मिटर अग्लो मनास्लु र ६ हजार ११९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन् । जहाज चार्टर्ड गरेर भदौ ३१ मा आउने राजकुमारको टोली काठमाडौं आएर केही दिन बसेपछि पहिला लोबुचे र त्यसपछि मनास्लु हिमाल आरोहणमा जाने विभागले जानकारी दिएको छ । यो टोलीले पहिलो चरणमा यी हिमाल आरेहण गरी अर्को वर्ष सगरमाथा आरोहण गर्ने योजना छ ।

कोभिड–१९ को अवस्थामा पनि नेपाली हिमाल आरोहण गर्न भीआईपी टोली नेपाल आउन लाग्नु नेपालको पर्वतीय पर्यटन र समग्र पर्यटनका लागि सकारात्मक भएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । यो आरोहणले विश्वको ध्यान खिच्ने र कोरोनाले थलिएको पर्यटनमा केही हदसम्म भए पनि राहत मिल्ने उनले बताए । नेपाल आउन चाहने अल्पाइन क्लबका सदस्यहरूले नेपाल आउन यसअघि गरेको होटल बुकिङ समेत रद्द नगरेको भन्दै होटल संघ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य र सुरक्षालाई ध्यान दिँदै हिमाल आरोहण तथा ट्रेकिङ गर्न आउन चाहनेहरूलाई अनुमति दिनुपर्ने बताए । तर, पर्यटक आगमनका लागि के कसरी जाने भनेर स्पष्ट प्रोटोकल आवश्यक भएको उनको भनाइ छ ।

नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेकोमा करीब २ लाख पर्यटक ट्रेकिङ तथा पर्वतारोहणका लागि आएको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो देश भित्रिने कुल पर्यटकमध्ये १६ प्रतिशत हो । पर्वतीय पर्यटनका लागि आउने संख्या प्रतिशतमा थोरै देखिए तापनि पर्यटकको बसाइ अवधि र उनीहरूले गर्ने प्रतिव्यक्ति औसत खर्चका आधारमा देशको पर्यटन क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकको योगदान बढी रहने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)