म्याग्दी । धवलागिरि क्षेत्रमै पहिलोपटक म्याग्दीमा कालिजपालन शुरू गरिएको छ । रू. ६ करोड लगानीमा करीब २ वर्षअघि शुरू भएको स्थानीय हरियाली ग्रुपले तरकारी र फलफूलका साथै कालिजपालन पनि शुरू गरेको हो ।
‘विश्वमै सफल मानिएको दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक किसानहरूको ‘अमुल’मोडेललाई पछ्याउँदै शुरू गरिएको हरियाली ग्रुपको कालिजपालन व्यवसाय फार्मकै आकर्षण समेत बनेको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र आगेबगरमा नयाँ मोडेलको आधुनिक कृषि फार्म सञ्चालन गरेर तरकारीखेती, ड्रागन फ्रुट, माछा तथा कुखुरापालन र पूmल खेतीका साथै धवलागिरि क्षेत्रमा नै पहिलोपटक कालिजपालन शुरू गरेको हो । अहिले कुखुरा जातको कालो जंगली चरो अर्थात् कालिजपालन शुरू गरेपछि फार्म भ्रमणमा आउनेहरूको भीड लाग्ने गरेको छ ।
काठमाडौंको दक्षिणकालीस्थित एभरेष्ट वाइल्ड लाइभ एग्रो रिसर्च प्रालिले उत्पादन गरेको रिङनेक प्रजातिको कालिजको चल्ला प्रतिगोटा रू. १ हजार ३५० का दरले खरीद गरी ल्याएर कालिजपालन थालिएको हरियाली ग्रुप प्रालिले बताएको छ ।
कालिज खरीद र घेराबारसहित रू. ५० लाख लगानी गरिएको फार्ममा अहिले सानाठूला गरी ९०० ओटा कालिज रहेको हरियाली ग्रुप ‘ए’ ब्लकका इञ्चार्ज भगवान खड्काले जानकारी दिए । १० रोपनी क्षेत्रफलको जग्गामा पालिएको कालिज प्रतिगोटा रू. ३ हजार ५०० देखि रू. ४ हजारसम्म मूल्य तोकिएको उनको भनाइ छ ।
सिंगामा उत्पादन भएको कालिजको मासु हरियाली ग्रुपसहित सदरमुकाम बेनीबजार, पश्चिम म्याग्दीको दरबाङ, छिमेकी जिल्ला पर्वत र बागलुङका बजारसम्म विक्रीवितरण हुने गरेको छ । ग्रुपले मासुका लागि भाले र अण्डाका लागि पोथी कालिज पालेको जानकारी दिएको छ । अहिले ४ महीनाको भएकाले ६ महीना पुगेपछि विक्रीवितरण शुरू गर्ने ग्रुपको भनाइ छ ।
नमूना फार्म स्थापना गरी कालिज पालेको हरियाली ग्रुपले पोथी कालिजबाट उत्पादन भएको अण्डालाई ह्याचिङ गरेर जिल्लाको गाउँगाउँसम्म पुर्याइने इञ्चार्ज खड्काले बताए । जिल्लाको सबैभन्दा ठूलो कृषि कम्पनीको रूपमा चिनिएको हरियाली ग्रुपले कृषि मन्त्रालयको अनुमति लिएर कालिजपालन शुरू गरेको बताएको छ ।
कालिजको एउटा पोथीले २० ओटादेखि ४० ओटासम्म अण्डा उत्पादन गर्ने भएकाले चल्ला उत्पादन गरी कालिज व्यवसायलाई समूहको प्रमुख आम्दानीको स्रोत बनाउने योजना समेत रहेको बताइएको छ । होटेल तथा रेष्टुराँहरूमा कालिजको सेकुवा, तास, सुपलगायत मीठामीठा परिकारहरू बनाएर विक्री गर्ने गरिन्छ । पंक्षी तथा चराचुरुङ्गीतर्फ कालिजको मासु निकै स्वादिलो मानिन्छ ।
हरियाली ग्रुप प्रालिका प्रबन्ध निर्देशक शेरबहादुर केसीले जग्गालाई चक्लाबन्दी बनाएर कृषि व्यवसाय शुरू गरिएको जानकारी दिए । उनले नेपालमै पहिलोपटक हरियाली मोडेलको नमूना कृषि फार्म स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै उनले रोल्पा, रुकुम र सल्यानमा समेत हरियाली मोडेल विस्तार गरी काम शुरू गरिएको बताए । फार्ममा माछा, कालिज, लोकल कुखुरासहित व्यावसायिक खेती र पशुपक्षीपालन गरिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठको परिकल्पनाअनुसार स्थापना भएको हरियाली कृषि फार्ममा कुल ६१ जनाको रू. ६ करोड लगानी छ । १५५ रोपनी जग्गामा कालिज, कुखुरा, माछा र बोयर जातका बाख्रा पालिएका छन् चने तरकारी, फलफूल र फूलखेती समेत गरिएको छ । फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामार्फत परियोजना धितोमा राखेर रू. ५ करोड सहुलियत ब्याजदरको कर्जा लगानी भएको छ ।
कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण, रोजगारी सृजना, उत्पादन र किसानको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडेल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना समेत हो ।
टिम्बाली र आमुल मोडेल
‘विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक किसानहरूको ‘अमुल’मोडेललाई पछ्याउँदै सोही मोडेललाई समावेश गरी फार्म सञ्चालन गरिएको हो । यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट समेत हो । कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडेल विस्तार गर्न लागिएको प्रबन्ध निर्देशक केसीको भनाइ छ ।
फार्ममा ४३ जना कर्मचारी तथा मजदुर कार्यरत छन् त्यसमध्ये अधिकांश जग्गाधनीहरू छन् । जग्गाको भाडासँगै रोजगारी पाउनुका साथै खडेरी, मल–बीउ, कृषि मजदुर, लगानी अभावको समस्याबाट किसानले समेत मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए ।