ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूर अभावले प्रदेश १ का ८५ इँटा उद्योग सञ्चालन अनिश्चित

२०७७ भदौ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ का ८५ इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसक्ने भएका छन् । भारतको पश्चिम बंगालको कुचविहारबाट असोजमा आउने २२ हजार मजदूर यो वर्ष कोरोना संक्रमणका कारण आउन नसक्ने भएपछि इँटा उद्योग सञ्चालन गर्न नसक्ने अवस्था देखिएको इँटा व्यवसायी संघले जानकारी दिएको हो ।

संघका अनुसार प्रदेश १ मा वार्षिक रूपमा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको इँटा उत्पादन हुँदै आएको छ ।

संघले संघीय उद्योगमन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापन बुझाए पनि भारतबाट सहज रूपमा मजदूर आउने निश्चित नभएपछि उद्योग सञ्चालन हुने अवस्था नदेखिएको हो ।

यस क्षेत्रका इँटा उद्योगले वर्षको एक सिजन हिउँदमा इँटा बनाउने र विक्री गर्दै आएका छन् । इँटा उद्योगमा काम गर्ने ९० प्रतिशत कामदार भारत पश्चिम बंगाल कुचविहार जिल्लाका हुन् । इँटा उद्योगीले पहिले नै एक सिजनको रकम भुक्तानी गरेपछि उनीहरू परिवारसहित नेपाल आएर इँटा उद्योगभित्रै अस्थायी रूपमा बसेर काम गर्छन् ।

पहिले नै पारिश्रमिक बुझेपछि मात्र उनीहरू हिउँदभर काम गरेर वैशाखसम्म आफ्नो घर फर्कने गर्छन् । हिउँद शुरू हुनुअघि भदौ अन्तिमदेखि असोजभित्र उनीहरू उद्योगमा आएर काम शुरू गरिसक्थे । तर, कोरोना महामारीका कारण सीमानाका बन्द भएपछि यो वर्ष उनीहरू आउने सम्भावना नरहेको एबीआई इँटा उद्योग सञ्चालक तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

उद्योग संगठनका तर्फबाट इँटा उद्योगमा काम गर्ने भारतीय मजदूरलाई ल्याउन र नेपाल आएपछि उद्योगले विश्व स्वास्थ्य संगठनले तयार पारेको स्वास्थ्य सतर्कता अपनाएर उद्योग सञ्चालनको वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाइए पनि सुनुवाइ हुन नसकेको इँटा उद्यमीहरूको गुनासो छ ।

सिजनकै बेला इँटा उद्योग सञ्चालन हुन नसके प्रदेश १ मा इँटा अभाव भई त्यसले विकास निर्माण प्रभावित हुनेछ । प्रदेश १ का उद्योगले उत्पादन गर्ने इँटाको मूल्य ७ देखि १८ रुपैयाँ प्रतिगोटासम्म पर्छ । प्रदेश १ मा सञ्चालित इँटा उद्योगहरूले वार्षिक न्यूनतम ३४ करोड इँटा उत्पादन गर्दै आएका छन् । प्रदेश १ का इँटाभट्टाले सरकारलाई वार्षिक करबापत ३५ करोड राजस्व बुझाउँदै आएका छन् । उद्योग सञ्चालनमा नआए सरकारी राजस्वसमेत गुम्नेछ ।

इँटा उद्योग तथा व्यवसायी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्र श्रेष्ठ इँटाभट्टा उद्योगको काम सकिएपछि मजदूर पठाउन निकै सास्ती खेप्नु परेको सुनाउँछन् ।

भारत फर्किएका मजदूरलाई नेपाल ल्याउन पनि उत्तिकै समस्या रहेको उनले जानकारी दिए । ‘धेरै संख्याका मजदूरलाई नेपाल सरकारले प्रवेश दिने/नदिने टुंगो छैन । मजदूरविना उद्योग सञ्चालन हुँदैन,’ उनले भने ।

भारतीय मजदूर नेपाल आए पनि पीसीआर परीक्षण गराउँदा एउटा मात्रै कोरोना पुष्टि भए उद्योगमा उनीहरूलाई स्थानीयले बस्न नदिने वातावरण भएकाले यो वर्ष इँटा उद्योग सञ्चालन गर्ने पक्षमा उद्योगीहरू नरहेको श्रेष्ठले जानकारी दिए । कोशी इँटा उद्योग तथा व्यवसायी संघका महासचिव राजन तिम्सिना मजदूर अभावकै कारण अहिलेसम्म उद्योग सञ्चालन हुने अवस्था नरहेको बताउँछन् । ९० प्रतिशत भारतीय मजदूरको भरमा प्रदेश १ का इँटा उद्योगहरू चल्ने गरेका छन् ।

नेपालका मजदूरले मात्र उद्योग सञ्चालन गर्ने अवस्था नरहेकाले भारतबाट ल्याउन सरकारले नै पहल गरिदिनुपर्ने उनको माग छ । स्थानीय सरकारले वातावरण निर्माण गरी मजदूर ल्याउने अवस्था बनाइदिए मात्र उद्योग सञ्चालनमा आउनेछन् । तिम्सिनाले भने, ‘भारतले नेपाली मजदूरलाई कुनै रोकतोक प्रवेश दिइरहेको छ । तर, नेपाल सरकारले भने उताका मजदूर आउन दिने/नदिने भन्ने स्पष्ट नीति बनाएको छैन ।’ स्वास्थ्य प्रोटोकललाई पहिलो शर्त राखेर भारतबाट मजदूर आउन दिनुपर्ने धारणा तिम्सिनाको छ ।

सरकारले भारतीय मजदूर आउन नदिने हो भने उद्योगहरूका लागि भन्सार छूटमा अटोमेटिक मेशिनहरू आयात गर्न सहुलियतसहितको व्यवस्था गरिदिनुपर्ने माग महासचिव तिम्सिनाको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)