ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक भित्र्याउन नीतिगत व्यवस्थाको सुधार आवश्यक

पर्यटन क्षेत्रलाई लयमा फर्काउन ५ वर्ष लाग्ने

२०७७ भदौ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । कोरोनाको संकटकै बीचमा नेपालमा पर्यटक भित्र्याउन नीतिगत व्यवस्थाको सुधार आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा, बीमा लगायत विषय समेटेर तत्काल प्याकेज ल्याउनेतर्फ ध्यान पुर्‍याउनुपर्नेमा उनीहरूको जोड छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमवार आयोजना गरेको सेजन अर्थ नीति बहस अन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा सहभागी सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।

पर्यटनलाई पुनः लयमा फर्काउन ४–५ वर्ष लाग्ने भन्दै उनीहरूले संकट छ भनेर यत्तिकै बस्नुभन्दा आउने दिनको तयारी गर्न सरकारलाई सुझाव दिए । कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने भन्दै उनीहरूले भोलिको तयारीमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तै उनीहरूले कोभिड–१९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायमा देखिएको संकट व्यवस्थापन गर्न निजीक्षेत्र तयार रहे पनि सरकारले निजीक्षेत्रलाई अविश्वास गरेको समेत आरोप लगाएका छन् । उनीहरूले यस्तो बेलामा सरकार अग्रपंक्तिमा रहेर निजीक्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा सरकारले विश्वास नगरेको बताए ।

वरिष्ठ पर्यटन व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजीक्षेत्रबीच समन्वयको आवश्यकता औंल्याए । पर्यटक भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापनका लागि निजीक्षेत्र तयार रहेको भए पनि सरकारले विश्वास नगर्दा नेपाल आउन चाहेकाहरू पनि आउन नपाएको उनको धारणा छ । ‘कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या परेको छ । सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेको छ । सरकारले निजीक्षेत्रलाई साथ लिएर काम गर्नुपर्ने हो, तर सबै काम आफै गर्छु भनेर लागेको छ,’ उनले भने, ‘त्यसैले यस्तो बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीले पनि आप्mनो क्षेत्रबाट प्रयास गर्नुपर्ने देखिन्छ ।’ पर्यटन क्षेत्रको उत्थानका लागि बजेट मार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्ने र त्यस्तो प्याकेज ‘पार्टीको झण्डा बोक्ने’लाई दिने वातावरणको अन्त्य गर्नुपर्नेमा उनले
जोड दिए ।

यस्तै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले महामारीको समयमा सबै क्षेत्र संकटमा भए पनि पर्यटन थप समस्यामा परेको भन्दै यसबाट अगाडि बढ्न सरकारले सबैको साथ लिएर अघि बढ्नुपर्ने धारणा राखे ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै उनले अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए । ‘अब मास टुरिजमको समय गयो । अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ, जहाँ कुनै विशेष चाहनाको आधारमा सेवा दिन सकिन्छ,’ उनले भने, ‘त्यसो भयो भने मात्र पर्यटक भित्र्याउन सकिन्छ ।’

कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको बताउँदै श्रेष्ठले डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमै व्यवस्थापन गर्न सफल भएको भए पनि अहिलेको परिस्थिति भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)