ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राकृतिक बिपत्तिबीच व्यापार : सुन्तलाको बेर्ना बेचेर वार्षिक रू. ७ लाख आम्दानी

२०७७ भदौ, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पहिरोका कारण जमीनमा जताततै धाँजा फाटेर खुट्टा अड्याउने ठाउँ छैन । गाउँ नै विस्थापित हुने अवस्थामा पुगेपछि गाउँलेहरू आत्तिएका छन् । तर, त्यहीँको माटोमा उमारिएका छन्, लाखौं मूल्य बराबरका सुन्तलाका बेर्ना । त्यही बेर्ना बेचेर यहाँका मानिसहरू वार्षिक लाखौं रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।

विश्वव्यापी कोरोना भाइरससहितको प्राकृतिक बिपत्तिकाबीच पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित फगामका किसान भने अहिले पनि सुन्तलाका बेर्ना बेचेर धमाधम आयआर्जज गरिरहेका छन् ।

भिरालो जमीन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट बिस्तार गरिएको बेनी–जोमसोम सडकखण्डका कारण जमीन भासिएर फगाम गाउँका ७४ मध्ये १४ घरधूरी पूर्णरूपमा विस्थापित भइसकेका छन् । सोही गाउँको माटोमा सिंगौरी खेलेर वार्षिक रू. ७ भन्दा बढी आम्दानी गर्दैछन् पौरखी किसान जोगबहादुर विक । फगामका किसानले नर्सरीबाटै बेर्ना बेचेर रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

डेढ दशकदेखि सुन्तलाका बेर्ना उत्पादन गरिरहेका जोगबहादुर विकले बेर्ना बेचेरै वार्षिक रू. ७ लाखभन्दा बढी कमाउने गरेको बताउँछन् । सामान्य लगानीमा नर्सरी स्थापना गरेका विकले अहिले करीब ४ रोपनी क्षेत्रफलमा फलफूलखेतीसँगै सुन्तलाका नर्सरी पनि स्थापना गरेका छन् । पछिल्लो आधा दशकयता नर्सरीमै ग्राहकले बेर्ना खोसाखोस गर्न थालेपछि आफू उत्साहित भएको विकको भनाइ छ ।

विकको नर्सरीमा उत्पादन गरेका बेर्ना खरीद गर्न जिल्ला बाहिरबाट समेत ग्राहक पुग्न थालेपछि अहिले नर्सरीमा २० हजार बेर्ना तयारी अवस्थामा राखिएको उनले बताए । विकजस्तै दिलमाया पुनले गत वर्ष २० हजार बिरुवा विक्री गरी रू. ६ लाख आम्दानी गरेको बताइन् । विक र पुनले मात्रै होइन बिपत्तिसँग पौंठेजोरी खेल्दै गाउँका अन्य ७ जना किसानले पनि सुन्तलाका बिरुवा बेचेर वार्षिक लाखौं रूपैयाँ कमाइरहेका छन् ।

ग्रामीण क्षेत्रका महिलाहरू निर्वाहमुखी खेतीपाती, घरायसी काममा व्यस्त हुने भ्रमलाई चिर्दै पुनले आप्mनै बारीमा स्थापना गरेको नर्सरीबाट वार्षिक रू. ६ लाखभन्दा बढी आम्दानी गर्न सफल भएको बताइन् । छिमेकी जिल्ला बागलुङ र पर्वतबाहेक कास्की तथा चितवनलगायत विभिन्न जिल्लामा बेर्ना निर्यात हुने गरेको उनीहरू बताउँछन् । माग ह्वात्तै बढेपछि गाउँमा धेरै बेर्ना उत्पादन गर्ने ७ जना किसानले वर्षेनि नर्सरीको क्षेत्रफल बढाउँदै लगेका छन् । प्रतिबिरुवा रू. ४० मा नर्सरीबाटै विक्री हुने गरेको उनीहरूको भनाइ छ ।

फगाम गाउँ सुन्तलाको पकेट क्षेत्र समेत मानिन्छ । गत वर्ष करीब ८ ट्रक सुन्तला निर्यात भएको थियो । बेर्ना र फलेको सुन्तलाबाट गाउँलेले वार्षिक करीब रू. ७० लाखभन्दा बढी आम्दानी गर्ने गरेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले बताइन् ।

तर, यस्तो उर्वर माटो र पौरखी गाउँलेहरू भएको यो बस्तीमा प्राकृतिक विपत्तिले भने सताइरहेको छ । बस्ती नजिकैबाट बिस्तार गरिएको सडकका कारण जमीन भासिएको र चिराचिरा परेको छ । जमीन भासिने र फाट्ने भएपछि गाउँलेले खेतबारीमा बाली लगाउन समेत छोडेका छन् ।

गाउँपालिकाले भूगर्भविद् ल्याएर परीक्षण गर्न र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी समेत गरेको छ । बिस्तारै तल्लो हुँदै माथिल्लो गाउँको खेतबारी, सडक आसपासका क्षेत्र समेत भासिएकाले माथिल्लो क्षेत्रबाट समेत पहिरो खस्न सक्ने जोखिमले भीषण वर्षा हुँदा माथिल्लो गाउँका बासिन्दा समेत रातभर सुत्न सक्दैनन् ।

फगाम गाउँ सुन्तला उत्पादनका लागि प्रख्यात मानिन्छ । कृषि खेतीका लागि हावापानी अनुकुल भएकाले अन्य क्षेत्रबाट समेत तरकारी र फलफूलखेती गर्ने लगानीकर्ता समेत आकर्षित भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)