ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण : १ महीनाभित्रै ज्युरिखको प्रस्तावबारे अन्तिम निर्णय

२०७७ भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ विमानस्थल निर्माणका लागि ज्युरिख एयरपोर्ट इन्टरनेशनलसँग सेप्टेम्बर ३० भित्रै लगानीसम्बन्धी अन्तिम निर्णय लिने निधो गरेको छ ।

निजगढ विमानस्थल उच्चस्तरीय सहजीकरण समितिका संयोजक योगेश भट्टराई अध्यक्षताको मंगलवारको बैठकले विमानस्थल निर्माणका लागि छनोट भएको ज्युरिख एयरपोर्ट इन्टरनेशनलसँग अन्तिम निर्णय लिने जिम्मा लगानी बोर्डलाई दिने निर्णय गरेको हो ।

बैठकले आयोजना स्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि स्थलगत निरीक्षण गरेर बस्ती व्यवस्थापन स्थलसहितको मोडालिटी तय गरी १५ दिनभित्र उच्चस्तरीय समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । यसका लागि बैठकले भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरीद सम्झौता प्रक्रियाका बाँकी काम आगामी १ साताभित्रै सम्पन्न गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको भट्टराईले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणअन्तर्गत विमानस्थलको १९ सय हेक्टरमा रहेका रूख–बिरुवा तथा पोल हालसम्म ५७ हजार ३ सय ५० गणना गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

बैठकले डिभिजन वन कार्यालय बाराले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने रूख तथा पोलको लगत नम्बरिङको काम छिटो पूरा गर्न जनशक्ति थप गरी २०७७ मङ्सिर मसान्तसम्म रूख गणना सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रूख कटान सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत काम अगाडि बढाउन प्राधिकरणबाट पहल गर्ने निर्णय गरेको छ ।

डिभिजन वन कार्यालय बाराबाट यसअघि नै गणना सम्पन्न गरिएका ४ हजार २ सय ३२ ओटा रूखको कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेशन सम्पन्न गरी १ महीनाभित्र मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गरिनेछ ।

विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन गतवर्ष नै आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने भनिए पनि अझै भएको छैन । सरकारले गतवर्ष असोज पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनललाई संक्षिप्त सूची (सर्ट लिस्ट) मा राखेको थियो ।

प्रधानमन्त्री केपी ओली अध्यक्षताको गतवर्ष असोज ६ मा बसेको लगानी बोर्डको ४०औं बैठकले तोकिएको मापदण्ड पुगेको आधारमा ज्युरिखलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने निर्णय गरेको थियो ।

यस्तै, लगानी बोर्डले २ महीनाभित्रै विमानस्थल निर्माणका लागि आशयपत्र जारी गर्ने र सो आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिखले बोर्डसमक्ष विस्तृत प्रस्ताव पेस गर्नुपर्ने सहमति भएको थियो । तर, शुरूमा कम्पनीको ढिलाइ र त्यसपछिको बन्दाबन्दीका कारण सबै काम अवरुद्ध भएको मन्त्रालयले बताएको थियो ।

ज्युरिख एयरपोर्ट एजी विमानस्थल सञ्चालन र व्यवस्थापन गर्ने कम्पनी हो । सरकारी लगानीको यो कम्पनीले स्वीट्जरल्यान्डकै ज्युरिखमा विमानस्थल सञ्चालन गरिरहेको छ भने छिमेकी भारतको बैंगलोर अन्तरराष्ट्रिय विमानस्थल निर्माण÷सञ्चालन गर्दै आएको छ ।

सरकारले अघिल्लो वर्षको चैत दोस्रो साता आयोजना गरेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा यो विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन
कोेरोना महामारीका कारण थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरेको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित संघसंस्था एवम् अग्रज पर्यटन व्यवसायीलाई सल्लाहकारका रूपमा समेटेर बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको हो ।

पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायीलाई एउटै छातामुनि समेटेर पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए । कार्यदलले कोरोनाले थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिने उपायबारे अन्तरराष्ट्रिय अभ्याससमेतको अध्ययन गरी आफ्ना सुझाव दिने रेग्मीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

sUSHIL

[Sep 9, 2020 06:58am]

YEDI ISHYA SHAKTI HUNE HO VHANE SARKAR BAHUMAT XA RA YO PROJECT WITHIN 3 YEAR COMPLETE HUN6 NA YO AIRPORT BANAUNA LAI MOUNTAIN LE CHEKAXA NATA BASTI LE NAI SRIF CHEKAXA TA INTEREST LE. AAHILE SAMMMA HAMRA NETAHARU BIKAS MA COMPETITION GAREKO DHEKHIYENA.ABA KO VOTE JASLE DHERAI BIKAS GARXA USLAI.BOLNE KAM GARNE BADI.SAME MODEL LIKE CHINA


User Image

Rajkumar Naupane

[Sep 9, 2020 12:37am]

यदम रामरो Swizerland को जुरिच Airport सहर बाट ४० किलोमीटर टाडा छ निजगड पनि काठमांडू बाट ८० किलोमीटर हुन्छ fasttrack बन्ने पछी ,मैले जुरिच airport पुगेको छ ,,,नेपालिहरूको गौरब गर्ने लायक बन्छ,चाडौ सरकार ले डिसिजन गरोस



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)