काठमाडौं । विगतमा शाखारहित बैंकिङमा जोड दिएका बैंकहरूले अहिले आफ्ना शाखारहित बैंकिङको संख्या घटाउन थालेका छन् । बैंकहरूले कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएको भन्दै संख्या घटाउन थालेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय पहुँच बढाउन शाखारहित बैंकिङ केन्द्रहरू थप्दै गएका थिए । तर, कोरोना महामारीका कारण वाणिज्य बैंकहरूले जेठयता १२ ओटा शाखारहित बैंकिङ केन्द्र खारेज गरेको नेपाल राष्ट्र बैंकले बताएको छ । कोरोनाका कारण बैंकहरूको मुनाफामा दबाब परेपछि खर्च जोगाउन पनि शाखारहित बैंकिङ बन्द गरेको देखिन्छ । बैंकको शाखा बन्द गर्न राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने तर शाखारहित बैंकिङ खोल्न र बन्द गर्न सहज भएकाले बैंकहरूले कम खर्चमा सेवा पुर्याउन यस्तो बैंकिङ सेवा दिएका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शाखारहित बैंकिङ केन्द्र गत जेठमा १ हजार ५ सय ८६ ओटा सञ्चालनमा रहेकोमा गत असारमा घटेर १ हजार ५ सय ७४ ओटा मात्र रहेका छन् । गत चैत्रमा नौओटा केन्द्र थपिएका थिए । तर, वैशाख र जेठमा भने कुनै थपघट भएन । शाखारहित बैंकिङमा कारोबार गर्ने ग्राहक संख्या गत असार मसान्तसम्म १ लाख ९३ हजार ६ सय ७ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार यसअघि बैंकबाट धेरै माग भएको ब्रान्चलेस बैंकिङ केन्द्र कारोना महामारी बढेपछि धेरैले बन्द गर्ने सोच बनाएका छन् । ‘दूरदराजका गाउँगाउँमा स्थानीय बासिन्दालाई एजेन्टको रूपमा राख्ने भएकाले सो क्षेत्रका बासिन्दाले शाखारहित बैंकिङमार्पmत गर्ने कारोबारप्रति विश्वास बढेको छ । तर, अहिले कोरोनाका कारण सञ्चालन गर्न असहज भएको भन्दै धेरै बैंकले बन्द गर्ने भनेका छन्,’ उनले भने । करीब ५–१० हजारसम्मको मात्र कारोबार गर्न मिल्ने शाखारहित बैंकिङमा कारोबार रकम कम भए पनि यो बैंकिङ प्रणालीमा जोड्ने माध्यम बनेको उनले बताए ।
राष्ट्र बैंकले ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई शाखारहित बैंकिङ सेवा सञ्चालनको स्वीकृति प्रदान गर्ने व्यवस्था गरे पनि उनीहरूले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेका छैनन् । बैंकका शाखा नपुगेका स्थानसम्म पहुँच पुर्याउने उद्देश्यले शाखारहित बैंकिङको अवधारणा ल्याइएको थियो ।
वाणिज्य बैंकहरूले आआफ्ना ग्राहकलाई संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) को सहायताले पोइन्ट अफ ट्रान्जेक्शन मेशिनका माध्यमबाट स्मार्ट कार्ड तथा म्याग्नेटिक कार्ड प्रयोग गरी शाखारहित बैंकिङ सेवा दिँदै आएका छन् । शाखारहित बैंकिङमा ग्राहकले खातामा नगद जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने र रकमान्तर गर्ने गर्छन् । यसैगरी, यस्ता केन्द्रले ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण (स्टेटमेन्ट) प्रदान गर्ने, स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्ने गर्छ । तर, बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानीय तहका वडाहरूमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न यस बैंकको स्वीकृति लिनुपर्ने छैन ।
बैंक तथा वित्तीय संस्थाले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका क्षेत्रमा मात्र यस्तो सेवा सञ्चालन गर्न स्वीकृति दिने गरेको छ ।