ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं उपत्यकामा शर्तसहितको निषेधाज्ञा थप खुकुलो

आलोपालो प्रणालीबाट पसल खोल्न पाइने, सवारीसाधनमा जोरबिजोर लागू

२०७७ भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । व्यावसायिक क्षेत्रले निषेधाज्ञा जारी भए आआफ्ना व्यवसाय सञ्चालन गरी अवज्ञा गर्ने बताइरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई बिहीवारबाट केही खुकुलो बनाइने भएको छ ।

बुधवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ २५ देखि निषेधाज्ञालाई केही खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग कलकारखाना चलाउन शर्तसहित अनुमति दिएको हो ।

बैठकले बुधवार मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी निषेधाज्ञाका बेलामा विभिन्न सेवा सञ्चालन गर्न छूट दिने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्दै आएको छ ।

पछिल्लो समय निजीक्षेत्रले सरकारलाई निषेधाज्ञा खुकुलो बनाउन दबाब दिन थालेको थियो । निजीक्षेत्र र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आइतवारको छलफलमा पनि निजीक्षेत्रको यही माग थियो । यसबीचमा अटोमोबाइल व्यवसायीले निषेधाज्ञा थपिए अवज्ञा गर्ने चेतावनी दिएका थिए भने यातायात व्यवसायीले असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थिए ।

स्थानीय प्रशासनको पछिल्लो निर्णयअनुसार उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी र सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको छ । १६ सीट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने, भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जना राखी चलाउन सकिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, निजी सवारीसाधन पनि स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइनेछ । तर, मालवाहक तथा अत्यावश्यक सामग्री आपूर्ति गर्ने सवारीसाधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

निषेध गरिएका क्षेत्रहरू
जारी निषेधाज्ञामा खुला स्थानमा भीडभाड हुन, भेला हुन तथा जुलुस गर्न तथा नित्य पूजापाठबाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन ।

भीडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।

शैक्षिक संस्थाहरू सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरीत श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालीम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्युटीपार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

आलोपालो प्रणालीबाट पसल खोल्न पाइने
बिहीवारदेखि उपत्यकामा वारअनुसार आलोपालो गरी पसल खोल्न दिने व्यवस्था गरिएको छ । बजारमा बढी भीड बढ्न नदिन समय र वारअनुसार पसल खोल्न दिन लागिएको हो ।

खाद्यान्न, दूध, फलफूल, तरकारी, मासु विक्री गर्ने पसलहरू दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहनेछन् । त्यस्तै, विकास निर्माणसँग सम्बद्ध सामग्री विक्री गर्ने पसल व्यवसाय र सोको ढुवानी गर्ने सवारीसाधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

यस्तै, तयारी खाद्यवस्तुको टेकअवे र अनलाइन डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाइनेछ ।

सहकारी संस्थाहरू स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्तापसल, कस्मेटिकलगायत पसल मापदण्ड पालना गरेर साताको सोमवार, बुधवार र शनिवार खोल्न पाइनेछ ।

भाँडा र भान्साजन्यका साथै सोही प्रकृतिका अन्य पसल साताको आइतवार, मंगलवार र शुक्रवार मात्र खोल्न पाइनेछ ।

फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सातामा सोमवार र बुधवार खुला रहनेछन् । फुटपाथ, ठेला, स्टेशनरी इलेक्ट्रिक र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खुल्नेछन् ।

सवारीसाधनका वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर, यी सबैमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)