ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारा–पर्सामा उद्योग सञ्चालनको वैकल्पिक उपाय : औद्योगिक क्वारेन्टाइन र आइसोलेशन बनाउन उद्यमीको माग

२०७७ भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । करीब ६ महीना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट आजित बारा पर्सा औद्योगिक कोरिडोरका उद्यमीले उद्योग सञ्चालनको वैकल्पिक उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन् । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसँगै सतर्कता मापदण्डको पालनामा प्रशासनले कडाइ गरेपछि निजीक्षेत्रले विकल्प खोज्न आग्रह गरेको हो ।

कोरिडोरका उद्योगमा कोरोना संक्रमित भेटिएपछि प्रशासनले उद्योगमै क्वारेन्टाइन बनाएर उद्योग चलाउन भनेको छ । उद्योग हातामा सम्भव नभए समुदायमा क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने प्रशासनको निर्देशन छ ।

प्रत्येक उद्योगमा क्वारेन्टाइन बनाउन सम्भव नहुने भन्दै उद्यमीहरूले औद्योगिक कोरिडोरका लागि सामूहिक क्वारेन्टाइन र आइसोलेशनको विकल्प सुझाएका छन् । सरकार र निजीक्षेत्रको सहकार्यमा वीरगञ्ज क्षेत्रमा कम्तीमा १ हजार बेडको क्वारेन्टाइन र २०० बेडको आइसोलेशन बनाउनुपर्ने वीरगञ्ज उद्योेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता बताउँछन् । छिमेकी देश भारत र जिल्ला बाहिरबाट आउने कामदारलाई निश्चित समयसम्म औद्योगिक क्वारेन्टाइनमा राखेर काममा लगाउँदा जोखिम न्यूनीकरण र उद्योग सञ्चालन दुवै सहज हुने गुप्ताको भनाइ छ । ‘अहिले अधिकांश उद्योग न्यून क्षमतामा चलेका छन् । पूर्ण क्षमता चलाउन कामदार ल्याउनुपर्ने हुन्छ ।

त्यसका लागि औद्योगिक क्वारेन्टाइन र आइसोलेशन सहज उपाय हो,’ नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताले आर्थिक अभियानसँग भने ।

उद्योगका कामदारमा संक्रमण भेटिए औद्योगिक आइसोलेशनमा उपचार गर्न सकिने उद्यमीले बताएका छन् । सामूहिक क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था मिलाएपछि उद्योगैपिच्छे यस्ता संरचना आवश्यक नपर्ने उनीहरू बताउँछन् । कामदार राख्न क्वारेन्टाइन र संक्रमण देखिएमा आइसोलेशनको व्यवस्थापन उद्योगले गर्नुपर्ने मापदण्ड बनाएको छ । प्रत्येक उद्योगमा एउटा एम्बुलेन्ससमेत हुनुपर्ने उल्लेख छ । कोरिडोरका लागि दुईओटा एम्बुलेन्स पर्याप्त हुने उद्योगीको दाबी छ ।  बारा र पर्साको समुदायमा कोरोनाको संक्रमण फैलिनुमा उद्योग मुख्य स्रोत भएको बुझाइ पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको छ । गत साउन महीनाको शुरुआतमा केही उद्योगका कामदारमा संक्रमण देखिएको थियो ।

जटिल लक्षणसहितको संक्रमणबाट बिरामीको ज्यानै जान थालेपछि साउन १० बाट लगाइएको निषेधाज्ञा लम्ब्याउँदै बिहीवार (भदौ २५) सम्म पु¥याइएको छ । अहिले एक दर्जनभन्दा बढी उद्योगका सयौं कामदारमा संक्रमण पुष्टि भइसकेको छ । प्रशासनले मापदण्ड पालनामा निगरानी बढाएपछि उद्योग सञ्चालन असहज बनेको उद्योगी बताउँछन् ।

संक्रमण नियन्त्रणका व्यावहारिक उपाय अपनाएर उत्पादन र आपूर्तिलाई सहज बनाउनुपर्ने सुझाव उद्यमी राजेश क्यालको छ । बन्दाबन्दीको समयमा कामविहीन भएर भारत फर्किएका कामदार अहिले आउन नपाएको उद्योगी क्यालले बताए । ‘उद्योगका कतिपय उपकरण चलाउन र मर्मतका लागि भारतीय प्राविधिक चाहिन्छन् । तर, तिनलाई ल्याउने प्रक्रिया सहज नहुँदा उद्योगको काम प्रभावित भएको छ,’ उनले भने । ४ महीने घोषित बन्दाबन्दीमा संक्रमण समुदायमा नफैलिएकाले मापदण्डमा त्यति कडाइ गरिएको थिएन । अहिले आत्यावश्यकीय उत्पादनमा समेत अवरुद्ध छ । कोरिडोरका औसत उद्योगको उत्पादन क्षमताको २५ प्रतिशतभन्दा पनि तल झरिसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन् ।

अहिले अधिकांश उद्योग क्षमताको न्यून परिमाणमा चले पनि बजार सहज हुनेबित्तिकै उत्पादन बढाउनुपर्ने र कामदारको अभाव हुने गुप्ता बताउँछन् । कोरिडोरमा प्रवेश गर्ने कामदारको विस्तृत विवरण राखेर सामूहिक क्वारेन्टाइन उपयोग गर्दा सहजीकरण हुने उनले बताए ।

कोरिडोरका उद्योगमा २५ प्रतिशत भारतीय कामदार छन् । कोरोना नियन्त्रणका लागि अन्तरराष्ट्रिय सिमाना बन्द गरिएको छ । सरकारले अत्यावश्यक प्रवेशका लागि नाका तोकेको छ । तर, अप्ठ्यारो मापदण्डका कारण भारतीय कामदारहरू खुला सिमानाबाट लुकेर छिर्ने गरेको दाबी उद्योगीको छ । भारतबाट अनधिकृत रूपमा प्रवेश गरेका कामदारबाटै संक्रमण फैलिएको आशंका प्रशासनको पनि छ । बाहिरबाट आउने कामदार सोझैउद्योगमा पस्दा संक्रमणको जोखिम झन् बढेकाले मापदण्डलाई व्यावहारिक बनाइनुपर्ने उद्यमी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)