धनगढी । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले फोरजी (चौथो पुस्ताको) इन्टरनेट सेवा सञ्चालनका लागि २१६ टावर सञ्चालनमा ल्याएको छ । टेलिकमले २०७६ असोजमा पहिलोपटक सुदूरपश्चिम प्रदेशको धनगढीसहितका १२ ठाउँमा फोरजी इन्टरनेट सेवा शुरू गरेकोमा हाल प्रदेशका नौओटै जिल्लामा गरी २१७ टावरमार्फत उक्त सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक नामाकर न्यौपानेले जानकारी दिए ।
प्रदेशभर फोरजी सेवाके पहुँच पुर्याउन ३८४ टावर निर्माण गर्नुपर्ने योजना थियो । तर लकडाउन र जारी निषेधाज्ञाका कारण २०७६ चैतदेखि सबै काम बन्द रहेको प्रादेशिक कार्यालय अत्तरियाले बताएको छ । टावर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएकाले कम्पनीका प्राविधिक आउन नसक्दा टावर निर्माण प्रभावित भएको निर्देशक न्यौपानेको भनाइ छ ।
हाल टेलिकमको फोरजी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा सञ्चालनमा छ । सवै टावरको निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमका सवै नागरिकले सहज रूपमा सबै स्थानबाट उच्चस्तरको सेवा प्राप्त गर्न सकिने बताइएको छ ।
बाँकी रहेका टावर निर्माणको काम १ सातापछि शुरू गरिने प्रादेशिक कार्यालय अत्तरियाले जानकारी गराएको छ । गतवर्ष फोरजी सेवा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा शुरू गरिएको थियो ।
फोरजी सेवा शुरू भएसँगै टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोरजी इन्टरनेट सेवा थ्रीजीभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको हुने टेलिकमका प्राविधिक बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड १०० एमबीपीएसभन्दा माथि हुने गरेको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको पाइएको छ । प्रदेशभर गरी अहिलेसम्म नेपाल टेलिकमका १६ लाख सिम विक्रीवितरण भएको प्रादेशिक कार्यालय अत्तरियाले बतााएको छ । कार्यालयका अनुसार टेलिकमबाट ल्याण्डलाइनसँगै इन्टरनेट सेवा लिनेहरू पनि वर्षेनि बढ्दो क्रममा छन् । कोरोना महामारी र लामो समयको लकडाउन तथा हालको निषेधाज्ञाले कार्यालयले अपेक्षित काम गर्न नसकेको बताइएको छ ।