ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिरोले बाटो बगाएपछि यात्रा जोखिमपूर्ण

२०७७ भदौ, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गत असार २५ गते पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक बगाएपछि ती दुई गाउँपालिकाका हजारौं मानिसहरू भीरमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पहिरोले धवलागिरि र मालिकाका डेढ दर्जनभन्दा बढी ठाउँमा बाटो बगाएको छ ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङदेखि बिम, मराङ, मुना, मलम्पार, मल्काबाङ लगायत गाउँमा जाने सडक पहिरोले बगाएको हो । बाटो नहुँदा मानिसहरू खाद्यान्नको भारी बोकेर भीरमा झुण्डिदै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । मालिका गाउँपालिका–७ बिमको तल्लो गाउँदेखि मराङको बेंशी हुँदै मलम्पार, बेसी, मल्कावाङ पुग्ने सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको मलम्पारबाट दरवाङ आउँदै गरेका डेकबहादुर छन्त्यालले बताए ।

उनका अनुसार मलम्पारका १७० घरधुरीले ज्यान हत्केलामा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरी खाद्यान्नको जोहो गर्नुपर्ने अवस्था छ । ‘तलपट्टी वर्षेखोला र माथिपट्टी डरलाग्दो भीरको बीचमा पैताला अड्याउँदै, बुट्यान समातेर हिँड्नुपर्ने अवस्था छ’, मलम्पारबाट खच्चड लिएर दरवाङमा खाद्यान्न लिन जाँदै गरेका बेगबहादुर विकले भने, ‘मर्ने बाँच्नेको ठेगान नै हुँदैन, एकठाउँमा होइन दर्जनौं ठाउँमा बाटो छैन ।’

तल्लो बिमको ठाडोखोलादेखि मराङको बेंशी पारीसम्मको करीब १५ किलोमिटर सडक पहिरोले छियाछिया बनाएको छ । त्यहाँ सामान्य मर्मत गरेर सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको धवलागिरि गाउँपालिका–६ मराङका वडाअध्यक्ष राजाराम सुबेदीले बताए ।

वडाध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिए । ‘हाम्रो बजेटले सम्भव नै छैन, प्रदेश र संघ सरकारले ध्यान दिन आवश्यक छ’, उनले भने, ‘तै पनि मानिस र डोजर लगाएर मर्मतको काम गरिरहेका छौं, गाडी गुड्न सक्ने नभए पनि मानिस हिँड्न सक्ने बनाउन सकिन्छ कि ।’ पैदल हिँड्नलायक बनाउनका लागि वडा कार्यालयको तर्फबाट मानिस र मेशिन लगाएर मर्मतको काम भइरहेको भए पनि ठूलाठूला पहरा र भीरमा काम गर्न सम्भव नभएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ ।

ठाउँठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नु पर्ने अवस्था रहेको पहिरो पीडितहरूका लागि म्याग्दी समाज न्यूयोर्क अमेरिकाले पठाएको सहयोग रकम हस्तान्तरण गर्न मराङ पुगेका म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए । ‘ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नुपर्ने अवस्था रहेछ’, उनले भने । मराङका पहिरो पीडितहरूलाई रू. ९ लाख ३० हजार सहयोग रकम प्रदान गर्न त्यहाँ पुगेका उनले भने, ‘हामी एकदिन आउनेलाई त यस्तो सास्ती छ, सधैंभरी ओहोरदोहोर गरिरहनुपर्ने यहाँका स्थानीयलाई कति समस्या होला ।’

तर, मालिका गाउँपालिका–७ बिममा पुग्ने सडक भने मर्मत भइरहेको विमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । उनका अनुसार १०÷१५ दिन भित्रमा सडक मर्मतको काम सम्पन्न हुने छ ।

असार २५ गते राती गएको पहिरोले मराङमा १९ जनाको ज्यान गएको छ भने २ जना अझै बेपत्ता छन् । यस्तै बिममा सोही राती आएको पहिरोमा परी ९ जनाको ज्यान गएको छ । म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा मराङ र बिमका साथै धारापानी, ताकम, देवीस्थान, कल्लेनीलगाएत धेरै ठाउँमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)