ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक उडानका लागि जहाज खरीद योजना ल्याउन निगमलाई निर्देशन

२०७७ भदौ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई आन्तरिक उडानको सेवा सहज बनाउने गरी हवाई जहाज खरीद योजना तत्काल अघि बढाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयमा बुधवार भएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा आन्तरिक उडानका जहाज खरीदको योजना ल्याउन निर्देशन दिएका हुन् ।

निगमसँग हाल आन्तरिक उडानतर्फ दुईओटा मात्र ट्विनअटर जहाज छ । निगमलाई आन्तरिक उडानको सेवा विस्तार गर्न नयाँ जहाज आवश्यक रहेकाले तत्काल खरीद योजना अघि बढाउन निर्देशन दिइएको मन्त्री भट्टराई बताउँछन् ।

यसका लागि नागरिक लगानी कोष, सञ्चय कोष, पर्यटन र अर्थ मन्त्रालयसँग छलफल गरी विस्तृत खाका तयार पार्नसमेत निगम पदाधिकारीलाई निर्देशन दिएको उनले जानकारी दिए ।

‘नेपाल एयरलाइन्स ऐतिहासिक नेपाली ध्वजावाहक कम्पनी भएकाले यसको शाख जोगाउने गरी काम गर्न आवश्यक छ । यसलाई निजी÷सार्वजनिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ, त्यसको खाका बनाउनुस्,’ मन्त्री भट्टराईले निगमका पदाधिकारीलाई निर्देशन दिए ।

निगमको आर्थिक स्थिति सुधारका लागि सम्बन्धित विभागहरूबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न ढिलो भइसकेको मन्त्री भट्टराईको तर्क छ । उनले निगम ऋणको बोझमा थिचिएकाले देशका विभिन्न २३ ठाउँमा रहेका अचल सम्पत्ति व्यावसायिक उपयोग गरी आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले खर्च घटाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता हटाउन,  कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत निगमका अध्यक्ष सुशील घिमिरेलाई निर्देशन दिए ।

यस्तै, प्रतिस्पर्धी एवं क्षमतावान् एजेन्सी छनोट गर्न आवश्यक मापदण्ड बनाएर जीएसए तोक्नुपर्ने उनको भनाइ छ । निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएका ६ ओटा चिनियाँ जहाजको उडान गत साउन १५ देखि बन्द रहेको छ । नेपालको आन्तरिक उडानमा निगमको बजार अंश सुदृढ गर्न ल्याइएका ६ ओटै चिनियाँ जहाज पूर्णरूपमा सञ्चालन गर्न नसक्दा निगमले आव २०७१/७२ देखि आव २०७६/७७ सम्म करीब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको थियो । पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका जहाजका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समिति बैठकले साउन १५ देखि यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

चिनियाँ जहाजको सेवा बन्द भएपछि आन्तरिक उडानका लागि बिजनेश प्लानसहितको योजना बनाइरहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)