ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक व्यापारमा कोरोना प्रभाव : घट्यो तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो

२०७७ भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाले नेपालको वैदेशिक व्यापार उल्लेख्य मात्रामा घटेको छ । औद्योगिक उत्पादन र दैनिक उपभोग्य वस्तुको बजार खुम्चिएपछि तेस्रो मुलुकबाट हुने आयात घटेको हो ।

कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का प्रमुख लक्ष्मण खड्काका अनुसार बन्दाबन्दीयता समुद्रपारबाट आउने कन्टेनर कार्गो २३ प्रतिशतले घटेको छ । चालू वर्ष २०२०/२१ को अप्रिलदेखि अगस्तसम्म भारतको कोलाकाता र विशाखापत्तनम् बन्दरगाहबाट ३१ हजार ८ सय ५१ ओटा २० फिटे कन्टेनर भित्रिएका छन् । अघिल्लो वर्ष २०१९/२० को समीक्षा अवधिमा यस्ता कन्टेनर ४१ हजार ४ सय ८६ ओटा आएका थिए ।

नेपालको समुद्रपार व्यापारको करीब ९० प्रतिशत ढुवानी भारतीय बन्दरगाहबाटै हुन्छ । सामान्यतः तेस्रो मुलुकसँगको व्यापार वर्षेनि १० देखि १५ प्रतिशत बढ्ने आयातकर्ता बताउँछन् ।

कोरोना महामारीको अवधिमा कन्टनेर संख्या उल्लेख्य परिमाणमा घटेको तथ्यांकले देखाउँछ । ‘सन् २०१९ को अगस्तमा कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा नेपालका लागि दैनिक ३ सयभन्दा बढी कन्टेनर आएका थिए । यो वर्षको समीक्षा अवधिमा यो संख्या २ सय २४ मा झरेको छ,’ एनटीडब्ल्यूसी प्रमुख खड्काले आर्थिक अभियानसँग भने ।

नेपालमा गत मार्च तेस्रो सातादेखि शुरू भएको बन्दाबन्दी ४ महीनापछि साउन पहिलो साता हटाइएको थियो । कोरोना संक्रमित ह्वात्तै बढेपछि साउन दोस्रो सातायता ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

बजार र आवागमन ठप्प हुँदा अधिकांश उद्योगले उत्पादन घटाएका छन् । अन्य उपभोग्य वस्तुको मागसमेत घटेपछि आयात प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालको भनाइ छ ।

विगत ५ महीनामा कोलकाता बन्दरगाहबाट १९ हजार ३ सय ४१ र विशखापत्तनम्बाट १२ हजार ५ सय १० कन्टेनर नेपालका लागि हिँडेका छन् । तीमध्ये कोलकाताबाट १३ हजार ३ सय ९२ कन्टेनर स्थलमार्ग हुँदै नेपाल भित्रिएका हुन् ।

यो अवधिमा ती बन्दरगाहबाट २ सय २१  र्‍याक कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आएका छन् ।अधिकांश उद्योग क्षमताको २० देखि २५ प्रतिशत हाराहारीमा चलेका छन् । उद्योग सञ्चालन नहुँदा औद्योगिक कच्चा पदार्थको आयात घटेको आयातकर्ता प्रदीप केडिया बताउँछन् । ‘बजार बन्द छन् । ढुवानी अवरुद्ध छ । बजारमा माग नभएपछि व्यापार खस्किनु स्वाभाविकै हो,’ केडियाले भने ।

चार महीने बन्दाबन्दीलगत्तैको डेढ महीनाको निषेधाज्ञाले व्यापार खस्किएको वीरगञ्ज वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । ‘सरकारले कोराना नियन्त्रणका लागि अपनाएको उपायले उत्पादन, ढुवानी, आवागमन र बजार बन्द भएपछि व्यापार प्रभावित भयो,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)