ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक उडान खुलाउन पर्यटन मन्त्रालयको प्रस्ताव

२०७७ भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज १५ गतेदेखि आन्तरिक उडान खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पठाएको छ । कोरोना संक्रमण कम भएका हिमाली तथा पहाडी केही जिल्लाबाट उडान शुरू गर्ने तयारी भइरहेका बेला मन्त्रालयले सीसीएसीमा प्रस्ताव पठाएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत ‘कोभिड–१९ पछि पर्यटन र हवाई क्षेत्रमा पारेको समस्या र अबको बाटो’ विषयक भर्चुअल संवादमा मन्त्री भट्टराईले यसअघि हिमाली तथा पहाडी जिल्लाहरूमा असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने तयारी गरिए पनि रोकिएको बताए ।

असोज १ गतेको तयारीमा केही थप गर्नुपर्ने भएकाले १५ गतेदेखि उडान सुचारु गर्ने प्रस्ताव पेश गरिएको जानकारी उनले दिए ।

मागको आधारमा विस्तारै अन्तरराष्ट्रिय उडानको संख्या पनि बढाउने प्रस्ताव सीसीएमसीमा लगिएको मन्त्री भट्टराई बताउँछन् । ‘५ महीनादेखि बन्द पर्यटनलाई कोरोनाकै बीचमा कसरी सुरक्षित ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारले चिन्तन गरिरहेकै छ । काठमाडौंजस्तो ठूलो जनघनत्व भएको ठाउँ र तराईका जिल्लाहरूमा पछिल्लोपटक कोरोना संक्रमण बढेकाले खुला गर्ने भनिए पनि निर्णय पुनर्विचार गर्नु परेको हो,’ उनले भने ।

सरकारले कोरोना संक्रमणका कारण करीब ५ महीनादेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो । अब स्वास्थ्य र सुरक्षा अवस्था हेरी क्रमशः खोल्दै लैजाने तयारी भएको मन्त्री भट्टराईले जानकारी दिए ।

यसअघि सरकारले भदौ १६ गतेदेखि नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान पुनः बन्द गर्ने निर्णय गरेको थियो ।

देश दर्शन कार्यक्रमलाई अघि बढाइने
मन्त्री भट्टराईले कोरोना संक्रमणको प्रभाव कम हुनासाथ आन्तरिक पर्यटन प्रवद्र्धन गर्न देश दर्शन कार्यक्रमलाई अघि बढाउने योजना रहेको बताए । पर्यटन क्षेत्रका सरोकारवालाहरूले कोरोना संक्रमणको पछिल्लो अवस्थामा स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै विस्तारै पर्यटन क्षेत्र खुला गर्नुपर्ने बताएका छन् ।

वायुसेवा सञ्चालक संघ आवोनका प्रवक्ता योगराज कँडेल स्वास्थ्य सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर उडान सञ्चालन गर्नुपर्ने औंल्याउँछन् । ‘हामीले अन्तरराष्ट्रिय उडानमा पूर्ण पीसीआर गरेका यात्रु मात्र ल्याउने गरी प्रोटोकल बनाएकै छौं । आन्तरिक उडानको हकमा पनि एकद्वार प्रणाली लागू गरेर जान सकिन्छ । यसले ठप्प भएको अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्नेछ,’ उनले भने ।

होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले होटेल कहिलेसम्म बन्द रहने वा खुला गर्ने भन्ने विषयमा सरकारलाई स्पष्ट हुन आग्रह गरे । ‘हामीले ५ महीना त हेर्‍यौं । बन्द गरेर मात्र भएन । प्रोटोकल बनेको छ । पालना नगर्नेलाई कारबाही होस् । व्यवसाय डुब्ने अवस्थामा छ । त्यसैले स्वास्थ्य सुरक्षाको अवस्थालाई ध्यानमा राखेर होटेल खोल्नुको विकल्प छैन ।’

यस्तै, नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले कोरोना कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो नभएको अवस्थामा संक्रमित कम भएका जिल्लामा हवाई उडान शुरू हुँदा पर्यटनमा केही राहत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीले अहिले पनि विदेशी पर्यटक पर्वतीय पर्यटनमा आउन चाहेकाले व्यवस्थापन गरेर पर्यटक आउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)