ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दाबन्दीमा गलेका उद्योग निषेधाज्ञामा थलिए

२०७७ भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । ४ महीना लामो बन्दाबन्दीमा जसोतसो चलेका बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग डेढमहीने निषेधाज्ञाले थलिएका छन् । पछिल्लो समय कोरोनाको बढ्दो संक्रमण र नियन्त्रणमा प्रशासनले कडाइ गरेपछि अधिकांश उद्योगको उत्पादन स्वात्तै घटेको छ ।

असारको अन्तिम साता वीरगञ्जमा लक्षणसहितका संक्रमित देखिन थालेसँगै उच्च सतर्कता अपनाइएको हो । साउन १० देखि वीरगञ्ज र आसपासका क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । लगत्तै छिमेकी बारा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश गरेपछि कोरिडोरमा उत्पादन प्रभावित भएको हो ।

पछिल्लो समयमा कोरोना संक्रमणको त्रास र प्रशासनको नियन्त्रण दुवै बढेकाले उत्पादन नराम्ररी प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए । ‘बन्दाबन्दीमा कोरोना संक्रमण देखिए पनि प्राणघातक नभएकाले उतिसारो त्रास थिएन । प्रशासनले पनि उत्पादन र आवागमनलाई सीमितमात्र नियन्त्रण गरेको थियो,’ गुप्ताले भने, ‘डेढ महीनादेखि उद्योग सञ्चालनको मापदण्डमा कडाइ गरियो । यसले उत्पादन र बजारीकरण पूरै प्रभावित हुन पुग्यो ।’

लक्षणसहितको संक्रमण र यसबाट ज्यानै जान थालेपछि उद्यमी र कामदारमा त्रास फैलिएकाले पनि उत्पादन घटेको नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताको भनाइ छ । ‘उद्योगी नै उद्योगमा आउजाउ गर्न डराएका छन् । कामदार र कर्मचारीको मनोदशा पनि उस्तै छ,’ उनले आर्थिक अभियानसँग भने ।

यसअघि चैत ११ मा बन्दाबन्दी घोषणा गरेको सरकारले १ साता पनि नबित्दै चैत १६ मा अत्यावश्यकीय उत्पादन र सेवा सञ्चालनको अनुमति दिएको थियो । मापदण्ड बनाएर चैत २६ देखि अन्य उद्योग चलाउन भनिएको थियो । लक्षण नभएका संक्रमितमात्र भेटिएकाले उद्योगमा मापदण्ड पालनामा त्यतिसारो निगरानी नराखिएकोमा अहिले प्रशासनले कडाइ गरेपछि अधिकांश उद्योगको उत्पादन खुम्चिएको उद्यमीहरू बताउँछन् ।

बारा र पर्सा प्रशासनले उद्योगमै क्वारेन्टाइनको व्यवस्था मिलाएर उद्योग चलाउनुपर्ने, संक्रमण देखिएमा उद्योगले नै आइसोलेशनमा राख्नुपर्नेलगायत मापदण्डमा कडाइ गरेपछि कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् । यही मापदण्डका कारण कोरिडोरका औषधि उद्याग १ साताभन्दा बढी बन्द भएका थिए ।

अहिले सवारी आवागमनको अनुमति दिएकाले औषधि उद्योगको उत्पादन सुचारू भएको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए । बन्दाबन्दीमा क्षमताको ३५/४० प्रतिशतमा चलेका उद्योग बन्दाबन्दी हटेसँगै ८० प्रतिशतसम्म पुगेका थिए । अहिले यो क्षेत्रका उद्योगले क्षमताको २० प्रतिशत हाराहारीमा उत्पादन गरिरहेको दाबी गुप्ताको छ ।

निषेधाज्ञायता बजारबाट माग नै आउन छोडेको उद्योगी राजेश क्याल बताउँछन् । ‘बन्दाबन्दीमा समेत बजारमा यस्तो मन्दी थिएन । बन्दाबन्दी हटिसकेपछि सामान्य हुन थालेको बजार निषेधाज्ञाले फेरि सुक्यो,’ क्यालले भने । माग नभएकाले पनि उत्पादन घटाएको उद्योगीको भनाइ छ ।

बारा–पर्सा कोरिडोरका उद्योगको मुख्य बजार काठमाडौं उपत्यका हो । बन्दाबन्दीमा उपत्यकाबाट बाहिरिएकाहरू पनि खुकुलो भएसँगै फर्किएपछि माग बढ्न थालेकोमा निषेधाज्ञाले प्रायः ठप्प भएको उद्योगी क्यालको अनुभव छ । भदौ ३ देखि उपत्यकामा लगाइएको निषेधाज्ञा गत बिहीवारदेखि खुकुलो बनाइएको छ ।

बजारबाट माग आउन छोडेपछि कतिपय उद्योगले सीमित परिमाणमा भएको उत्पादन समेत गोदाममा थन्क्याएका छन् । ‘सामान्य खर्च उठाउन पनि उद्योग चलाउनै प¥यो । बजारमा उधारो दिँदा भुक्तानी आउँदैन,’ उद्योगी विश्वामित्र कलवारले भने, ‘भुक्तानी नउठ्दा उद्योगले सञ्चालन पूँजीको अभाव सामना गरिरहेका छन् ।’

बन्दाबन्दीको असर सामान्य हुन नपाउँदै डेढ महीनाको निषेधाज्ञाले व्यापार खस्किएको वीरगञ्ज वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको दाबी छ । कोराना नियन्त्रणका लागि सरकारले अपनाएको उपायले ढुवानी, आवागमन र बजार बन्द भएपछि उत्पादन र व्यापार खस्किएको अध्यक्ष केडियाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)