ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरजग्गा र पूर्वाधारमा लगानी बढाउँदै जीवन बीमा कम्पनीहरू

२०७७ भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा कम्पनीहरूलाई घरजग्गा व्यवसाय तथा पूर्वाधारमा पनि लगानी गर्न पाउने व्यवस्था गरिएसँगै जीवन बीमा कम्पनीहरूले त्यस्ता क्षेत्रमा लगानी गर्न थालेका छन् । बीमा समितिले ‘बीमकको लगानी निर्देशिका, २०७५’ जारी गर्दै कम्पनीहरूलाई घरजग्गा व्यवसाय तथा कृषि, पर्यटन र जलस्रोतजस्ता पूर्वाधारको निर्माणमा ऋण वा पूँजी लगानी गर्न पाउने गरी नयाँ व्यवस्था लागू गरेको थियो । त्यसपछि कम्पनीहरू घरजग्गा तथा पूर्वाधारमा ऋण तथा पूँजी लगानी गर्न थालेका हुन् ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । उनीहरूले गत आर्थिक वर्ष (आव) को अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेपलगायत क्षेत्रमा रू. २ खर्ब ८४ अर्ब ६७ करोड लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरूले जीवन बीमा कोषलगायत विभिन्न कोषमा हुने रकमलाई तोकिएको क्षेत्रमा लगानी गर्न सक्छन् । यद्यपि, उनीहरूले तत्काल भुक्तानी दिन पुग्ने रकम भने राख्नुपर्छ । बीमा समितिको तथ्यांकअनुसार गत असारसम्म जीवन बीमा कम्पनीहरूले घरजग्गा व्यवसायमा रू. ३६ करोड २४ लाख लगानी गरेका छन् ।

कम्पनीहरूले आफूसँग भएको टेक्निकल रिजर्भ (लगानीयोग्य रकम) को बढीमा ५ प्रतिशत रकम घरजग्गामा लगानी गर्न सक्नेछन् ।

यस्तै, कम्पनीहरूले कृषि, पर्यटन र जलस्रोतजस्ता क्षेत्रमा रू. ७ अर्ब ६६ करोड २४ लाख लगानी भएको छ । टेक्निकल रिजर्भको बढीमा २० प्रतिशत रकम पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । पहिले बढीमा ५ प्रतिशत रकम मात्र यस्ता क्षेत्रमा लगानी गर्न पाइन्थ्यो । अहिले त्यो सीमा बढाएपछि पूर्वाधार निर्माणको क्षेत्रमा पनि लगानी बढाउँदै लगेको कम्पनीहरूको भनाइ छ । लगानी निर्देशिकाअनुसार कम्पनीको बैंकको निक्षेप, बैंकको शेयर, सूचीकृत कम्पनीको साधारण शेयर, पब्लिक कम्पनीको डिबेन्चर, सरकारको ऋणपत्र, म्युचुअल फन्ड, घरजग्गा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा लगानी गर्न पाउँछन् । बीमा कम्पनीहरूलाई डिबेन्चरमा लगानी गर्न पनि २०७५ देखि खुला गरिएको हो । त्यसयता जीवन बीमा कम्पनीहरूले डिबेन्चरमा ५ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

पछिल्लो जीवन कम्पनीहरूले लगानीसम्बन्धी नयाँ निर्देशिकाअनुसार आफ्नो लगानीलाई विविधीकरण गर्दै गएको नेपाल जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘अन्य कम्पनीहरूले घरजग्गामा लगानी गर्न शुरू गरिसकेका छन् । हामीले घरजग्गामा पनि लगानी गर्ने विषयमा अध्ययन गर्दै आएका छौं,’ उनले भने, ‘यसका अलावा पूर्वाधार निर्माणमा पनि लगानी बढ्न थालेको छ ।’ उनी सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । निर्देशिकाअनुसार कम्पनीहरूले लगानी सुरक्षित हुनेगरी तोकिएका सबै क्षेत्रमा लगानी गर्दै आएको उनको भनाइ छ ।

यद्यपि, बीमा कम्पनीको लगानीयोग्य रकमको अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको निक्षेपमा नै रहेको छ । कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा रू. २ खर्ब ३४ अर्बभन्दा बढी लगानी गरेका छन् । समितिले पनि बैंक तथा वित्तीय संस्थाको निक्षेपमा नै बढी लगानी गर्नु भनेको छ । लगानीयोग्य रकमको न्यूनतम ७० प्रतिशत रकम निक्षेपमा राख्नुपर्ने व्यवस्था छ । फलस्वरूप बैंक तथा वित्तीय संस्थाको निक्षेपमा नै कम्पनीहरूको बढी लगानी देखिएको हो । बीमा कम्पनीहरू आफै जोखिमको क्षेत्रमा काम गर्ने संस्था हुन् । अन्य क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीहरूले जोखिम वहन गर्न नसक्ने अवस्था आउन सक्छ । तसर्थ, बीमा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाको निक्षेपमा नै बढी लगानी गर्न लगाइएको हो ।

संघका अध्यक्ष पाण्डेले सुरक्षित लगानीको लागि बैंकको निक्षेपमा नै लगानी गर्नुपर्ने बाध्यता भएको बताए । ‘तोकिएका अन्य क्षेत्र नाफामूलक भए पनि त्यति सुरक्षित छैनन् । नाफामूलक भन्दैमा लगानी गरिहाल्ने कुरा भएन,’ उनले भने, ‘त्यसैले बैंकमा लगानी गर्नुपर्ने बाध्यता छ ।’

अहिले लगानीसम्बन्धी भएको व्यवस्था त्यति उपयुक्त नभएको उनको भनाइ छ । अब सरकारले नै दीर्घकालीन लगानीको अवसर निर्माण गरिदिनुपर्ने उनी बताउँछन् । ‘जीवन बीमाक्षेत्रमा दीर्घकालीन रूपमा लगानी गर्न मिल्ने रू. ३ खर्ब रुपैयाँ बराबरको रकम छ । तर, दीर्घकालीन लगानी गर्न नपाउँदा उचित प्रतिफल छ,’ उनले भने, ‘अब सरकारले बैंकको भन्दा बढी ब्याज दिने गरेर बीमा कम्पनीहरूका लागि छुट्टै बन्ड जारी गर्नुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)