ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना प्रभाव : पर्वतमा सडक कालोपत्रको काम अलपत्र

२०७७ भदौ, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

भदौ २८, पर्वत । पर्वतमा कोरोना भाइरसको प्रभाव कम छ । लकडाउन खुलेर विकास निर्माणका सामान्य कामहरू सुचारु भएका छन् । तर, सडक पूर्वाधार विकासको काम भने बिचमै अलपत्र भएको छ । भारत तथा तराईबाट कामदार आउन नपाउँदा कालोपत्र गर्न ठिक्क पारिएका सडकको काम चैत यता ठप्प छ । 

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास वैरागीले जिल्लामा अघिल्लो वर्ष सम्पन्न हुनुपर्ने ४३ ओटा सडकको स्तरोन्नति सहित ७ ओटा ठूला आयोजनाका सडकको काम रोकिएको बताए । ‘नेपाली कामदारले मात्रै कालोपत्रको काम गर्न नसक्ने रहेछन्,’ उनले भने, ‘भारतीय कामदार कोरोनाका कारण ल्याउन सकिएन ।’ 

मजदूर नहुँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर सहित ९ ओटा सडकको काम रोकिएको छ । ग्रामीण क्षेत्रका सडक सहित सदरमुकाम कुश्माको भित्री सडक र वाहिरी चक्रपथको कालोपत्र गर्ने काम पनि अलपत्र छ । लकडाउनपछि घर फर्किएका यहाँका आयोजनामा कार्यरत मजदूरहरू पुनः काममा फर्किन पाएका छैनन् ।

गत आर्थिक वर्षभित्रै सक्ने गरी सम्झौता भएका चिसापानी–हुवास १० किलोमिटर, कुश्मा–दुर्लुङ ५ किलोमिटर, सिल्मी–कार्कीनेटा साढे ५ किलोमिटर कालोपत्रको अन्तिम चरणमा थिए । दोबिल्ला–फलेवास, हिलेखोला–कार्किनेटा, अर्मादी–बनौँ सडकको कालोपत्र पनि अलपत्र अवस्थामा रहेको बैरागीले जानकारी दिए । प्रदेश मातहतको पूर्वाधार कार्यालय बाहेक स्थानीय तह र संघीय सरकार मातहत मर्मत र स्तरोन्नति हुनुपर्ने सडकको काम रोकिएको छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको २४ किलोमिटर र कालीगण्डकी कोरिडोरको ७ किलोमिटर कालोपत्र गर्ने योजना पनि पूरा हुन सकेको छैन् । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापामगरले असारसम्म पर्वत खण्ड सक्ने सम्झौता रहेकोमा म्याद थप्ने तयारीमा रहेको जानकारी दिए ।

‘स्थानीय रुपमा उपलब्ध कामदारबाट नाली निर्माण, गिटी बिच्छ्याउने, पर्खाल निर्माण लगायत संरचना बनाउने काम चलिरहेको छ,’ थापा मगरले भने, ‘विगत पाँच महीनादेखि कामको गति शून्य अवस्थामै छ भन्नुपर्छ ।’ पूर्वाधार कार्यालयले अघिल्लो आर्थिक वर्षमा सकिने सबैजसो योजनाको कम्तीमा ६ महीना म्याद थप गरेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । कामदार ल्याउन प्रशासनसँग समन्वय भइरहेको आचार्यले बताए । 

जिल्लाका सबै स्थानीय तहसम्म पुग्ने सडक कालोपत्र गर्न अघिल्लो वर्षदेखि संघ, प्रदेश र स्थानीय तहले करोडौं रुपैयाँ बजेट विनियोजन गरेका थिए । जिल्ला सदरमुकाम कुश्माको भित्री सडक र बाहिरी चक्रपथ विस्तारले पनि गति लिएको छैन् । कालोपत्र गर्न ठिक्क पारेको सडक बर्खाले खोल्साएर कामै नलाग्ने बनाएको छ । कालीगण्डकी कोरिडोरको अर्मादी– फलेवास खण्डको ट्र्याक खोल्न शुरू भए पनि कालोपत्र गर्ने काम भने शुरू हुन नसकेको कोरिडोर कार्यालय पाल्पाले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)