ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अध्यागमन विभागबाट भिसा सेवा पुन: सञ्चालनमा

१५ दिनभित्रै स्वदेश फर्कने भए विदेशी पर्यटकलाई निः शुल्क भिसा 

२०७७ भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ २८, काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकलाई दिँदै आएको भिसा सेवा एक महीनापछि पुनः सञ्चालन गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको भिसा सेवा आइतवार शुरु भएको हो । 

भिसा सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्मको भिसा भएका विदेशी पर्यटक अन्तरराष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क भिसा दिने विभागले जानकारी दिएको छ । 

विभागको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सीमा नाका अध्यागमन कार्यालयबाट निः शुल्क भिसा दिएर प्रस्थान गराइने जानकारी दिइएको छ । 

यस्तै चैत ८ गतेसम्मको पर्यटक भिसा लिएका र उडान सञ्चालन भए पनि विभिन्न कारणले आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीलाई मंसिर मसान्तसम्म शुल्क लिएर पर्यटक भिसा दिने तयारी विभागको छ । 

पर्यटक वा अन्य भिसा रुपान्तरण गर्न चाहानेलाई १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई नवीकरण गर्न सकिने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

विभागका अनुसार अनुसार चैत ८ गतेसम्म पर्यटक भिसा नियमित भएका पर्यटकले गत साउन ३० गतेसम्म १५० दिन निःशुल्क भिसामा बसे पनि साउन ३० गतेपछि मंसिरसम्म शुल्क तिरेर भिसा नवीकरण गर्न सक्नेछन् । अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता भिसा अब झापा र पोखराबाट समेत वितरण हुनेछ । 

अध्यागमन कार्यालय काँकरभिट्टा र कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जानकारी दिए । सीमित मात्रामा अन्तरराष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै विभागले केही कर्मचारीबाट दैनिक सेवा प्रवाह गरिरहको छ । सरकारले कोरोना संक्रमणका कारण करीब ५ महीनादेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गतेदेखि खोलेको थियो । 

अब स्वास्थ्य र सुरक्षा अवस्था हेरी क्रमशः खोल्दै लैजाने तयारी भएको पर्यटन मन्त्री येगेश भट्टराइले जानकारी दिए । हाल सरकारले पीसीआर परीक्षण सहज भएका मुलुक तथा शहरबाट मात्रै नियमित उडान शुरु गरेको छ । सरकारले पीसीआर परीक्षण सहज नभएका मुलुकबाट भने नियमित उडान नगरी चार्टर मात्र गर्न पाइने निर्णय गरेको थियो । 

विभागका अनुसार गत चैत्र १४ गतेदेखि साउन ३२ गतेसम्मको लकडाउनको अवधिमा विदेशबाट ५० हजार ७२३ जना व्यक्ति नेपाल आएका छन् । यस्तै सोही अवधिमा २० हजार ७१० जना नेपालबाट बाहिरिएका छन् । 

पर्यटन मन्त्रालयले पछिल्लो समय असोज १५ गतेपछि आन्तरिक उडान शुरु गर्न तथा अन्तरराष्ट्रिय उडान संख्या बढाउन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा प्रस्ताव लगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)