ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थ मन्त्रालयले बोर्ड र नेप्सेलाई बोलायो

२०७७ भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा बारम्बार समस्या आएपछि लगानीकर्ता आक्रोशित बनेका छन् । यही समस्यालाई लिएर सोमवार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेप्से पदाधिकारीलाई मन्त्रालयमा बोलाएको छ ।

आइतवार कारोबार शुरू भएको केही मिनेटमा नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या आएको थियो । यही कारण कारोबार बन्द भएपछि लागनीकर्ताले आक्रोशसमेत पोखेका थिए । अनलाइन ट्रेडिङमा सुनिश्चितता गरेर मात्रै शेयरबजार खोलाएको नियामक निकाय बोर्डले टीएमएसमा समस्या आउँदा कुनै प्रभावकारी कदम नचालेको भन्दै लगानीकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखेको थिए । यसअघि पनि पटकपटक टीएमएसमा समस्या आएर कारोबार रोकिने गरेको थियो । तर, समस्यामा समाधान भएको छैन ।

यही विषयमा मन्त्रालयमा सबै सरोकारवाला पक्षसहित छलफल गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

धितोपत्र बजार सञ्चालकको जिम्मा लिएको नेप्सेले जिम्मेवारीपूर्वक काम गर्न नसकेको अनुभूति भएको ढुंगानाले बताए । ‘हामीले नियमनको पक्षबाट बारम्बार दोहोरिएको समस्याका विषयमा कमजोरी कसको हो ? कसलाई के कारबाही गर्नुपर्छ लेखेर पठाऊ भनेका छौ,’ उनले भने, ‘नेप्सेले अहिलेसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन ।’

नेप्सेले टीएमएसमा समस्या भएको भने पनि नेप्सेको अनलाइन कारोबार प्रणालीमै समस्या रहेको ढुंगानाको भनाइ छ । ‘नेप्सेको अनलाइन कारोबार प्रणालीलाई सुधार गरेर अघि बढ्न सकिन्छ या विकल्प खोज्नुपर्ने अवस्था हुन्छ, हामी निचोड निकाल्ने छाैं,’ उनले भने, ‘ब्रोकरहरूले पनि टीएमएस आपैm व्यवस्थापन गर्ने तयारी गरिसकेका छन् यसबाट पनि आगामी दिनमा विकल्पका लागि समस्या नहोला ।’

नेप्सेले बारम्बार समस्या दोहोरिए पनि अवधि थप गरेर पनि कारोबारलाई निरन्तरता दिइरहेको छ ।

आइतवार पनि बिहान ११ बजेर २५ मिनेटपछि बन्द भएको कारोबार २ बजेर १५ मिनेटदेखि सुचारु भएको थियो । आइतवार ५ बजेर १५ मिनेटसम्म खुलेको बजारमा रू. ३ अर्ब ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन परिसूचक १६ दशमलव ५६ अंकले माथि उक्लिएर नेप्से परिसूचक १ हजार ५३७ दशमलव २५ विन्दुमा पुगेको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा हरेक दिन फरकफरक समस्या आइरहेको नेप्सेले जानकारी दिएको छ । एकपछि अर्को समस्या देखापरिरहेकाले कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता समस्या नदोहोरिन अनलाइन कारोबार प्रणाली तयार गर्ने वाईको टीम र नेप्सेको आईटी टीम प्रयास गरिरहेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या दोहोरिँदा लगानीकर्ता निराश भएका छन् । लगानीकर्तालाई ठूलो घात भइरहेको शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको भनाइ छ । अर्बौंको राजस्व संकलन भई देश निर्माणमा सहयोग पुग्ने अर्थतन्त्रको ऐना भनेर व्याख्या गरिने धितोपत्र बजारमा केटाकेटीको खेल जस्तो हदैसम्मको लापरबाही गरिनु आपत्तिजनक भएको उनले बताए । ‘अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि भनेर व्याख्या गरिन्छ, काम भने विश्वसनीय तवरले छैन,’ उनले भने । उपाध्यक्ष फुल्लेलले दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

धितोपत्र बजारका अध्येता एवम् लगानीकर्ता दिलीप मुनकर्मीले नेप्सेको कारोबार प्रणालीमा देखिएको समस्या हालैको केही दिनको मात्र प्राविधिक समस्या हो कि ? सफ्टवेयरको क्षमता नै कमजोर वा सफ्टवेयरका निर्माताको अक्षमता ? भन्ने प्रश्न जन्माएको बताए । स्वचालित भनिएको कारोबार प्रणालीमा भएको कारोबार सही छ भन्ने विश्वास नेप्सेले गुमाउँदै गएको उनको भनाइ छ ।

‘समस्याको पहिचान र दिगो समाधान नगरी काम चलाउ समाधान खोजेर नेप्सले अपूर्ण र गुणस्तरहित सप्mटवेयरको परीक्षण त गर्दै छैन ? कतै सफ्टवेयर बनाउने निर्माता बजार सञ्चालकमाथि हाबी भएको त होइन ? यस्ता प्रश्न यतिबेला लगानीकर्ताको मनमा उठेको छ,’ उनी भन्छन्, ‘यति धेरै समस्या हुँदा पनि नदेखे जस्तो गर्ने नियामक निकायको चालाले हामी कस्तो बजार प्रणाली र कस्तो नियमनमा धितोपत्र कारोबार गर्न बाध्य छौं उजागर गरेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)