ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो खानेपानीको आयात

चाँडै निर्यात गर्न सक्छौं : व्यवसायी

२०७७ भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मिनरलयुक्त खानेपानीको आयात गत आर्थिक वर्षमा अघिल्लो आवको दाँजोमा निकै घटेको छ ।

नेपालमा वर्षेनि करोडौं रुपैयाँ बराबरको बोतलबन्द खानेपानीको आयात हुने गर्छ । तर, गत आवमा भने रू. २४ लाख २९ हजार बराबरको ३६ हजार लिटर मात्र बोतलबन्द खानेपानी आयात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट प्राप्त तथ्यांकअनुसार गत आवमा खानेपानीको आयात ८३ दशमलव ५७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १ करोड ४७ लाख रुपैयाँको ४ लाख २६ हजार ६२० लिटर खानेपानी आयात भएको थियो ।

गत आवमा खानेपानीको आयात घट्नुको कारण कोरोना भाइरसको महामारी भएको बताइन्छ । कोरोना नियन्त्रणका लागि नेपालले गत आवको चैत ११ गतेदेखि असारसम्म लगाएको बन्दाबन्दीमा वैदेशिक व्यापार प्रभावित भएपछि पानीको आयात पनि भएन ।

कोरोना महामारीको कारण होटेल, रेस्टुराँहरू बन्द हुँदा यस्तो खानेपानीको माग छैन । बन्दाबन्दीपछि बोतलबन्द खानेपानीको माग नै ७० प्रतिशतले घटेको छ । त्यसको असरले पनि खानेपानीको आयात घटेको व्यवसायीहरू बताउँछन् ।

स्वदेशमै विदेशी गुणस्तरको खानेपानी उत्पादन हुन थालेकाले पनि गत आवमा पानीको आयात घटेको व्यवसायीहरू बताउँछन् । नेपाल बोटल पानी उद्योग संघका अध्यक्ष सुभाष भण्डारीले स्वदेशमै विदेशी ब्रान्डका पानी उत्पादन हुन थालेपछि पानीको आयातमा कमी आएको बताए । ‘अहिले नेपालमै उच्च गुणस्तरको खानेपानी उत्पादन हुन थालेको छ । त्यसैलाई लक्षित गरेर खानेपानीसम्बन्धी उद्योगहरू पनि स्थापना हुँदै छन्,’ उनले भने, ‘कोरोनाको महामारी अन्त्य भएपछि पनि खानेपानीको आयात घट्दै जाने र निकट भविष्यमा उच्च मात्रामा निर्यात पनि गर्ने अवस्थामा पुग्छौं ।’

जलस्रोतमा धनी भए पनि नेपालमा वर्षौंदेखि बोतलबन्द खानेपानीको आयात हुँदै आएको छ । विदेशी पर्यटकले विदेशी र उच्च गुणस्तरको पानी पिउन खोज्छन् ।

तर, नेपालमा त्यो गुणस्तरको खानेपानी पर्याप्त मात्रामा छैन । त्यसैले ठूलाठूला होटेलले विदेशी पर्यटकलाई लक्षित गरेर विदेशी ब्रान्डका पानी प्रयोग गर्छन् । साथै, नेपालमा भएका कतिपय मुलुकका दूतावासले पनि आप्mनै देशको पानी प्रयोग गर्छन् । त्यसैले नेपालमा पर्याप्त मात्रा खानेपानी उपलब्ध भए पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । विशेषगरी नेपालमा चीन, जापान, भारत, यूएई, फ्रान्स, अमेरिका, इटाली, थाइल्यान्ड जस्ता मुलुकबाट खानेपानी आयात हुँदै आएको छ ।

जलस्रोतको धनी देशमा खानेपानीसमेत आयात हँुदा विभिन्न क्षेत्रबाट नकारात्मक टिप्पणी पनि हुने गरेको छ । तर, यसलाई नकारात्मक रूपमा लिन नहुने खानेपानी मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्य बताउँछन् । ‘ठूलाठूला होटेल, विदेशी दूतावासहरूलाई विदेशी ब्रान्डको पानी आवश्यक पर्ने भएकाले यस्तो पानी आयात गरिएको हो । नेपालमा खानेपानीको अभाव भएर नै यस्तो पानी आायत गरिएको होइन,’ उनले भने ।

पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकअनुसार खानेपानीको आयात घट्दो क्रममा नै देखिएको छ । आव २०७४/७५ मा रू. १ करोड ८१ लाख बराबरको खानेपानी आयात भएको थियो । आव २०७५/७६ मा भने रू. १ करोड ४७ लाखको खानीपानी आयात भएको थियो । गत आवमा भने त्यो भन्दा पनि कम अर्थात् २४ लाख २९ हजार रुपैयाँको खानीपानी आयात भएको छ ।

अबको केही वर्षमा नै खानेपानीको आयात प्रतिस्थापन गरेर उच्च मात्रामा यसको निर्यात गर्न सकिने संघका अध्यक्ष भण्डारी बताउँछन् । ‘खानेपानीको निर्यातलाई नै लक्षित गरेर ठूलाठूला उद्योग स्थापना भइरहेका छन्,’ उनले भने, ‘छिट्टै पानीको आयात रोकिने र उच्च मात्रामा निर्यात हुने संकेत देखिएको छ ।’

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृृत कृष्ण बजगाईंले पनि निकट भविष्यमा खानेपानी आयातलाई प्रतिस्थापन गरि निर्यात गर्न सकिने बताए । ‘हामीसँग खानेपानीको प्रशस्त स्रोत छ । साथै, नेपालको खानेपानी अन्य देशको तुलनामा स्वच्छ पनि छ,’ उनले भने, ‘त्यो अवस्थामा अब खानेपानीको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)