ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोबाइलबाटै दशैंको दक्षिणा

२०७७ भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर केही बैंकले दक्षिणा मोबाइल बैंकिङबाटै प्रदान गर्न सकिने स्किमसहितको प्रडक्ट बजारमा ल्याउने तयारी गरेका छन् । नगदको डिजिटल कारोबारलाई प्रोत्साहनमा जोड दिइरहेका बैंकहरूले यस्तो प्रडक्टको तयारी गरेका हुन् ।

यद्यपि विगतका वर्षहरूमा समेत सानिमा बैंक, एनआईसी एशिया बैंक लगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए । यसबाहेक दशैं नजिकिँदै गर्दा बैंकहरूले डिजिटल माध्यमबाट किनमेल गर्दा पनि विभिन्न छूट दिने गरेका थिए ।

गतवर्षको दशैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले यसपटक पनि यस्तो प्रडक्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । हरेक चाडपर्वलाई लक्षित गर्दै प्रडक्ट निकाल्दै आएको बताउँदै बैंकका प्रडक्ट शाखा प्रमुख विक्रम श्रेष्ठले यस वर्षको दशैंमा पनि मोबाइलबाट दक्षिणा पठाउने स्किम ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए ।

गतवर्ष दशैंमा मोबाइलबाट दक्षिणा दिनेलाई प्रत्येक दिन गोलाप्रथा गरेर बैंकले एकजनालाई स्मार्टफोन उपहार दिएको थियो । यसरी गतवर्ष सञ्चालन गरेको प्रडक्टले बैंकको कारोबार करीब ६० प्रतिशत बढेको श्रेष्ठको दाबी छ । बैंकले अघिल्ला वर्षका चाडपर्वमा कार्ड र क्यूआर कोडमार्फत कारोबार गर्दा १० प्रतिशत नगद फिर्ता अफर दिएको थियो ।

गतवर्ष पनि ल्याइएको गरेको उक्त प्रडक्टबाट सानिमा बैंकका ग्राहकले दक्षिणा दिने व्यक्तिलाई उसको जुनसुकै बैंकको खातामा दक्षिणा जम्मा गर्न सक्ने सुविधा दिइएको थियो । यो सुविधा प्रयोग गर्ने ग्राहकले सम्बन्धित व्यक्तिको बैंक खातामा उसको मोबाइल नम्बर राखेर दक्षिणा बराबरको रकम पठाउने गरेका थिए ।

नबिल बैंकले पनि दशैंमा दक्षिणा डिजिटलबाट दिने प्रडक्ट ल्याउने सोच बनाएको, तर निश्चित नभएको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । साथै कृषि विकास बैंकले आफ्ना ग्राहकलाई दशैं लक्षित योजना नल्याए पनि इच्छुक ग्राहकले मोबाइल बैंकिङ, क्यूआर कोड लगायत डिजिटल प्रविधिमार्फत दक्षिणा दिन सक्ने बैंक सचिव तथा प्रवक्ता हेमलाल पौडेलले बताए ।

यसैगरी, एनआईसी एशिया बैंकले पनि चाडपर्व लक्षित योजना ल्याउने गरेको छ । डिजिटल भुक्तानीमा केन्द्रित यस बैंकले गतवर्ष ‘खुशी अपलोड गरौं’ नामक प्रडक्ट बजारमा ल्याएको थियो । अघिल्लो वर्षको तिहारमा मोबाइल बैंकिङबाट दिदीबहिनीलाई दक्षिणा दिने सुविधा बैंकले ल्याएको थियो । उक्त अवसरमा दक्षिणा लिने र दिने दुवै यो बैंकको ग्राहक भएमा दक्षिणा दिनेलाई प्रत्येक भुक्तानीमा १ सय नगद फिर्ता हुने अफर समेत थियो ।

यस वर्ष कोभिड महामारीका कारण नेपाल राष्ट्र बैंकले चाडवाड लक्षित नयाँ नोट बजारमा ल्याउन सम्भव नहुने बताएकाले पनि बैंकहरूको यस्ता प्रडक्ट प्रभावकारी हुन सक्छन् । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार बजारमा नयाँ नोट निष्काशन गर्ने वा नगर्नेबारे अझै टुंगो लागेको छैन । आगामी असोज १५ गतेसम्ममा यसबारे निर्णय हुने उनको भनाइ छ । आम सर्वसाधारणलाई नोटबाट रोग सर्ने जोखिम भएकाले अब दक्षिणा पनि डिजिटल गर्न जरुरी भएको उनले बताए । ‘यसपटक कोभिडले गर्दा राष्ट्र बैंकले नयाँ नोट निकाल्न सम्भव छैन । तर अझै निर्णय भएको छैन,’ उनले अभियानसँग भने, ‘पछिल्लो परिस्थिति हेर्दा क्रमशः सबै कारोबारको डिजिटाइजेशन हुनुपर्छ । यसैले बैंकहरूले मोबाइल बैंकिङ लगायतलाई प्रयोग गरेर दक्षिणा दिने सोच उपयुक्त हुन्छ ।’ हातहातमा दक्षिणा लेनदेन गर्दै आएका नेपालीलाई बैंक तथा वित्तिय संस्थाहरूले डिजिटल प्रविधिबाट दक्षिणा दिने योजना ल्याए पनि कार्यान्वयनमा भने चुनौती रहेको उनको बुझाइ छ ।

सबै बैंकले दशैंलाई लक्षित गरेर डिजिटल माध्यमबाट दक्षिणा दिने योजना ल्याएका छैनन । यद्यपि मोबाइल बैंकिङ जस्ता विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् ।
दशैं नजिकिँदै गरेपछि दक्षिणाबाहेकका विभिन्न किनमेलमा बैंक तथा वित्तीय संस्थाहरूले छूटसकितका योजना ल्याउन थालिसकेका छन् । आइतवार मात्रै बैंक अफ काठमाडौंले आफ्ना घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा खरीद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्डवाहक ग्राहकले विनाब्याजसहित सीजी, एलजी, गोदरेज, टीसीएल, सेनसेई लगायत ब्रान्डका घरायसी विद्युतीय उपकरण किस्ताबन्दीमा खरीद गर्न सक्नेछन् ।

गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ३ करोड २४ लाख ५४ हजार २०४ ओटा निक्षेप खाता खोलिएको छ । उक्त निक्षेपकर्तामार्फत  मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटीजीएस, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस र वालेटबाट कारोबार गर्नेको संख्या बढेको छ । उक्त माध्यमबाट असारसम्ममा करीब १ करोड २५ लाख ३ हजार पटक कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)