ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल र पाकिस्तानबीच व्यापार, लगानी र पर्यटनमा सहकार्य गर्नु पर्नेमा जोड

२०७७ भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ २९, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाकिस्तानसँग व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरुमा दुई मुलुकहरुबीच सहकार्य गर्नु पर्नेमा जोड दिएका छन् । 

नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदसँगको भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी गरेका थिए । नेपालका लागि पाकिस्तानका राजदूत मजारले आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसको महामारीको कारण संसारमा नयाँ चुनौती सिर्जना भएको उल्लेख गर्दै यस्तो समयमा पारस्परिक साथ र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै तिमिल्सिनाले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौति सामना गर्न सहकार्य गर्न जरुरी रहेको बताए । 

‘दक्षिण एशियाली जनताहरूको हित प्रवर्द्धनका लागि सार्कले आफ्ना गतिविधि अघि बढाउनु पर्छ । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क गतिविधि अघि बढाउनका लागि पहल गरिरहेको छ, अध्यक्ष तिमिल्सिनाले भने । उनले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्ता गरे ।

कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाले राजदूत जावेदलाई वधाई व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाली विद्यार्थीहरूलाई मेडिकल, इन्जिनियरिङलगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई धन्यवाद व्यक्त गरे । 

भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै आर्थिक विकासको लागि दुुई देशबीच सहकार्य आवश्यक रहेको र विभिन्न क्षेत्रमा मिलेर काम गर्न सकिने बताए । नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले पाकिस्तान दक्षिण एशियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धीको पक्ष रहेको बताए । दुई देशको संसदबीचको सहकार्य बढाउनु पर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनु पर्ने धारणा राखेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)