ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसरी–मोरङ औद्योगिक कोरिडोर : उद्योग पूर्ण क्षमतामा नचल्दा रोजगारी गुमाउँदै मजदूर

२०७७ भदौ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना महामारीका कारण ६ महीनादेखि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा हजारौं मजदूरको रोजगारी गुमेको छ ।
सानाठूला गरी कोरिडोरमा रहेका ५०० उद्योगमा कार्यरत ५० हजार मजदूरमध्ये अहिले १५ हजार पूर्ण बेरोजगार भएका छन् भने १४ हजार अर्ध बेरोजगार छन् ।

सामान्यतया तीन सिफ्टमा सञ्चालन हुने ठूला उद्योग अहिले दुई सिफ्टमात्रै चल्दा तथा मझौला तथा साना उद्योगहरूको उत्पादन क्षमता घट्दा ३० प्रतिशत मजदूरको रोजगारी गुमेको हो ।

कोरिडोरका उद्योगीका अनुसार कच्चापदार्थ, श्रमिक व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा अहिले चुनौती थपिएको छ । कोरिडोरमा जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहे पनि अधिकांशले ६० देखि ७० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

कोरिडोरभित्र सबैभन्दा बढी मजदूर कार्यरत अरिहन्त मल्टिफाइबर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाका अनुसार यस अघि तीन सिफ्ट चलिरहेका दुुवै उद्योग अहिले दुई सिफ्टमा मात्र सञ्चालनमा छन् । एक सिफ्ट बन्द हुँदा ३० प्रतिशत मजदूर कामविहीन बनेको गोल्छाको भनाइ छ । उद्योगले मजदूरलाई १५/१५ दिनको आलोपालोमा (१५ दिन काम र १५ दिन आराम) काम लगाइरहेको छ ।

सामान्य अवस्थामा अरिहन्त मल्टिफाइबर्समा ४५०० मजदूर र रघुपति जुट मिलमा २५०० मजदूर गरी दुवै उद्योगमा ७ हजार मजदूर कार्यरत थिए । तर, कोरोना महामारीका कारण पछिल्लो ६ महीनामा ३० प्रतिशतले अर्थात् २ हजार १ सयले रोजगारी गुमाइसकेका छन् । यसरी रोजगारी गुमाउनेमा नेपाली र भारतीय मजदूर दुवै छन् ।

इटहरीको खनारमा रहेको रिलायन्स स्पीनिङ मिल्समा ४ हजार मजदूर कार्यरत छन् । तर, कोरोना नियन्त्रणका लागि शुरूको बन्दाबन्दी र अहिलेको निषेधाज्ञाका कारण यो उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेल बताउँछन् । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा उत्पादनमा कटौती हुनुका साथै ३० प्रतिशत मजदूर पनि कामविहीन भएको पोखरेलको भनाइ छ । ‘स्थायी मजदूरलाई उद्योगले कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ,’ उनले भने ।

सिफ्ट घटाएर उद्योग चलाउनेमा मोरङको बूढीगंगा गाउँपालिकाको बाबा जुट मिल पनि पर्छ । हजारको हाराहारीमा मजदूर रहेको यस उद्योग अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । उद्योगको उत्पादन घटेपछि त्यसमा कार्यरत ३०० मजदूर बेरोजगार भएको उद्योग सञ्चालक  रमेश राठीले बताए ।

निषेधाज्ञा तथा कोरोना संक्रमणका कारण गाउँ नै बन्द गरिँदा मजदूर उद्योगसम्म आइपुुग्न गार्‍हो भएको र यसले उद्योगको उत्पादन क्षमतामा प्रतिकूल असर गरेको राठीको भनाइ छ । ‘उद्योग पूर्ण क्षमतामा सञ्चालन भए पुनः सबै मजदूरलाई रोजगारी दिन सकिनेछ,’ उनले भने ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगहरूको क्षमता घट्नु र बेरोजगारी बढ्दा चक्रीय प्रभाव पर्ने बताउँछन् । राज्यलाई उद्योगहरूले बुझाउँदै आएको कर संकलनमा ह्रास आउनेछ भने समाजमा बेरोजगारी बढ्दा त्यसले शान्तिसुरक्षामा समेत प्रभाव पार्ने उनी बताउँछन् । ‘त्यसैले आन्तरिक बेरोजगार र वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार दुवैलाई समयमा नै व्यवस्थापन गर्न आवश्यक छ,’ उनले भने । श्रमविज्ञ डा. मोहनचन्द्र घिमिरे रोजगारी गुमेकालाई काममा फर्काउन सरकारले उनीहरूले काम गरिरहेको उद्योगलाई विभिन्न सहुलियत दिई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)