ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औद्योगिक सर्वेक्षणको स्वरूप फेरिँदै

कोरोनाले पुर्‍याएको क्षतिमा केन्द्रित हुने

२०७७ भदौ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले औद्योगिक सर्वेक्षणको स्वरूप फेर्ने भएको छ । विभागले सर्वेक्षणको स्वरूप परिवर्तन गरेर औद्योगिक क्षेत्रभित्रका उद्योगमा कोरोना महामारीले पारेको क्षतिको यकिन गर्ने भएको हो ।

औद्योगिक सर्वेक्षणका लागि तयार पारिएका प्रश्नावलीलाई हेरफेर गरेर करीब १६ ओटा जति कोरोनासम्बन्धी असर बुझ्न प्रश्न तयार गरिएको विभागका अधिकारीहरू बताउँछन् ।
औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूको क्षमता, उत्पादन, लागत, जनशक्ति व्यवस्थापनमा कोरोनाले पारेको असरबारे प्रश्नावली तयार गरेर सर्वेक्षण अघि बढाउन लागिएको तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सर्वेक्षणबाट औद्योगिक क्षेत्रभित्र कोरोनाले पारेको नोक्सानीको यकिन हुनेछ भने राज्यले प्रभावित उद्योगहरूको पुनरुत्थानका लागि लिने नीतिका निम्ति तथ्यांक उपयोगी हुने विभागको बुझाइ छ ।

यसअघि राष्ट्रिय औद्योगिक सर्वेक्षण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनमा केन्द्रित रहेर मात्रै सर्वेक्षण गरिँदै आएकोमा यस वर्षबाट चार प्रकृतिबाट गर्न थालिएको छ ।

औद्योगिक प्रतिष्ठानमा भएको लगानी, कच्चापदार्थ तथा सञ्चालन खर्च, उत्पादित वस्तुको विक्री, मौज्दात र स्थायी सम्पत्तिको तथ्यांक संकलनसमेत सर्वेक्षणले समेट्नेछ ।

विभागका अनुसार पहिलो औद्योगिक सर्वेक्षण २०२९ मा भएको थियो । त्यसयता प्रत्येक ५ वर्षको अन्तरालमा औद्योगिक गणना तथा प्रत्येक १० वर्षको अन्तरालमा औद्योगिक सर्वेक्षण गरिँदै आएको छ ।

फराकिलो दायरा तथा साना/ठूला सबै उद्योग समावेश गरिएकाले यो सर्वेक्षणलाई पहिलो एकीकृत र बृहत् राष्ट्रिय औद्योगिक सर्वेक्षणका रूपमा लिइएको छ । सर्वेक्षणमा उद्योग/ प्रतिष्ठानको वर्ग, उद्योग/प्रतिष्ठानमा लगानी गरिएको हालको पूँजी, उद्योग प्रतिष्ठानमा बाह्य लगानी भए जम्मा चुक्ता पूँजीमध्ये वैदेशिक लगानीको अंश, प्रतिष्ठानले उत्पादन गर्ने प्रमुख वस्तु तथा सेवाहरू, प्रतिष्ठानमा कार्यरत वा संलग्न स्वदेशी तथा विदेशी जनशक्तिको विवरण लिइने विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार कर्मचारीहरूको कार्यावधि, उद्योगलाई आवश्यक पर्ने इन्धन तथा विद्युत् खरीद, उत्पादन र विक्री, कच्चापदार्थको खरीद विवरण, उत्पादन र उत्पादित वस्तुको विक्री, मौज्दात, औद्योगिक सेवाबापतको खरीद/खर्च तथा विक्री/आम्दानी, औद्योगिक सेवाबाट प्राप्त रकम, उद्योगले तिरेका करलगायत पक्ष सर्वेक्षणले समेट्नेछ ।

कोरोना संक्रमण कम भएलगत्तै विभागको सर्वेक्षण टोली उद्योगहरूमा पुग्ने गरी तयारी अवस्थामा रहेको विभागका अधिकारीहरू बताउँछन् ।

फागुन अन्तिम सातादेखि शुरू भएको राष्ट्रिय औद्योगिक सर्वेक्षणको काम ३० प्रतिशत सम्पन्न भइसकेको छ ।

असारभित्रै सक्ने लक्ष्य राखिएकोमा कोरोना संक्रमणका कारण चैतदेखि शुरू भएको बन्दाबन्दीले प्रभावित बन्दै आएको छ । बाँकी ६० प्रतिशत काम ३ महीनाभित्र सक्ने गरी सर्वेक्षण पुनः शुरू गर्ने तयारी विभागको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)