ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल निर्माण गर्न ३ अर्ब आवश्यक

२०७७ भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडक र पुलहरू बनाउन रू. ३ अर्बभन्दा बढी लगानी आवश्यक हुने प्रारम्भिक आँकडाले देखाएको छ । असार अन्तिम सातादेखि हालसम्म मुलुकभर २२६ स्थानमा क्षतिग्रस्त भएका सडक र पुलहरू बनाउन उक्त लगानी खर्चिनुपर्ने देखिएको हो ।

कुल लगानीमध्ये सबैभन्दा बढी अरनिको राजमार्गका विभिन्न स्थानमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माण तथा मर्मतसम्भारका लागि डेढ अर्ब खर्चिनुपर्ने सडक विभागले बताएको छ ।

बाढीपहिरोका कारण वर्षेनि जनधनको क्षति हुनुका साथै ठूलो लगानीमा निर्माण भएका सडक र पुलमा समेत अर्बाैंको क्षति हुँदै आएको छ । यसले गर्दा राज्यलाई वार्षिक ३ अर्बभन्दा बढीको अतिरिक्त दायित्व सृजना भएको विभागको भनाइ छ ।

यो वर्ष मात्रै नभई विगतका वर्षमा पनि बाढीपहिरोका कारण अर्बभन्दा बढी अतिरिक्त दायित्व बढ्दै गएको विभागले बताएको छ । मुलुकभरका २२६ स्थानमध्ये अरनिको राजमार्ग, साँफे–मार्तडी र उत्तरी–दक्षिण कोरिडोरको बेनी–जोमसोम खण्डमा अधिक क्षति पुगेको विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

अरनिको राजमार्गमा अहिले कुनै खण्ड अवरुद्ध नभए पनि पहिरो, खोलाले क्षति पुगेका पुल र सडकहरू भने आंशिक/एकतर्फी रूपमा मात्रै सञ्चालन भएका छन् । उक्त राजमार्गमा पहिरो जाँदा, जमीन भासिँदा र खोलाले पुलहरू बगाउँदा विभिन्न १५ स्थानमा यातायात असहज भएको छ ।

१०–१० वर्षमा उक्त राजमार्गमा पहिरोका कारण ठूलो क्षति हुँदै आएको देखिन्छ । २०७२ को भूकम्पपछि जमीन हल्लिएकाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म नै उच्च जोखिम रहँदै आएको पूर्वाधारविद्हरू बताउँछन् ।

राजमार्ग तथा अन्य सडक खण्डका धेरै स्थानका सडक, बेलिब्रिज, बन्दै गरेका पुल भत्किँदा ठूलो क्षति भएकाले लगानी पनि धेरै लाग्ने देखिएको सापकोटाको भनाइ छ । ‘वार्षिक कार्यक्रममा बाढीपहिरोबाट हुने क्षतिका कार्यक्रम र बजेट राखिएको हुँदैन,’ उनले बताए, ‘यसले विभागलाई  थप काम सृजना हुँदा अतिरिक्त आर्थिक दायित्व पनि थपिन्छ ।’  

विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग बजेट माग गरेको र त्यसपछि कार्यालयहरूमा अख्तियारी दिने बताएको छ ।

बाढीपहिरोका कारण वार्षिक अर्बौंको क्षति हुने भए पनि बजेट तथा योजना भने बनाएको पाइँदैन ।

यद्यपि राजमार्ग तथा सडक अवरुद्ध भए त्यसलाई हटाएर सवारीसाधन सञ्चालन गर्न विभागसँग आपत्कालीन (इमर्जेन्सी) बजेट हुने र मेशिनहरू पनि तयारी हालतमै राखिने हुँदा यातायात अवरोध धेरै समय हुन नपाएको सापकोटाले दाबी गरे ।

मुलुकभर अहिले विभिन्न ११ स्थानका सडक अवरुद्ध रहेको विभागको तथ्यांक छ । तीमध्ये साँफेबगर–मार्तडी सडक बूढीगंगा नदीको बहावले ५०० मिटर सडक क्षतिग्रस्त बनेको छ भने यो सडक असार २५ गतेदेखि अवरुद्ध छ ।

सोही सडकको बल्दे खण्ड र अम्कोटद्वारी खण्डमा ठूलो पहिरो गएका कारण साउन ४ गतेदेखि अवरुद्ध छ । साँफेबगर–मार्तडी सडककै बार्जुगाड–बाम्का बजार क्षेत्र र ताप्रिसेरा, बलेना–जडंगाको बेलिब्रिज र बूढीगंगाको आरसीसी पुलमा बाढीको उच्च बहावका कारण क्षति पुगेको छ । हालसम्म अवरुद्ध भएकामध्ये १०० भन्दा बढी स्थानमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालनमा आएका छन् । हिउँदमा पूर्वतयारी गरी जोखिम र कमजोर स्थानको पहिचान गरेर मर्मतसम्भार गर्न सकिए क्षति कम हुन सक्ने पूर्व भौतिक पूर्वाधार सचिव तुलसी सिटौलाको बुझाइ छ । ‘पूर्वतयारीमार्फत हिउँदमा यस्ता स्थानको मर्मतसम्भार गर्दा करोड खर्च हुन्छ,’ उनले बताए, ‘तर त्यसबेला मर्मतसम्भार नगरी राख्दा बर्खायामको बाढीपहिरोले क्षति पुर्‍याएपछि अर्बौंको क्षति र लगानी बढ्ने गर्छ ।’ अब भौगोलिक अवस्था हेरी सुरुङमार्ग बनाउँदा दीर्घकालीन रूपमा यस्तो क्षति कम गराउन सकिने उनले बतए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)