ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खिम्ती स्वामित्व हस्तान्तरण : प्राधिकरण र हिमाल पावरबीच अन्तरिम सम्झौता

हाललाई प्राधिकरणले प्रतियुनिट २ रुपैयाँमा विद्युत् किन्ने, माघ मसान्तभित्र स्वामित्व हस्तान्तरण प्रक्रिया टुंग्याइने

२०७७ भदौ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएसम्मका लागि नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडबीच अन्तरिम सम्झौता भएको छ । अहिलेका लागि आयोजना सञ्चालनलाई निरन्तरता दिन प्राधिकरण र हिमाल पावरबीच विद्युत् किनबेच दरलगायत विषयमा गतसाता अन्तरिम सम्झौता भएको हो ।

प्राधिकरण र हिमाल पावरबीच हालका लागि खिम्ती आयोजनाबाट प्रतियुनिट २ रुपैयाँमा विद्युत् किन्ने सम्झौता भएको छ । तत्कालका लागि आयोजना सञ्चालन गर्न लाग्ने खर्च पुग्ने गरी अन्तरिम रूपमा पीपीए दर तोकिएको हो, जसलाई विद्युत् नियमन आयोगले अनुमोदन गर्नुपर्ने हुन्छ । प्राधिकरणका अनुसार अन्तरिम सम्झौता अनुमोदनका लागि विद्युत् नियमन आयोगमा पठाउने तयारी भइरहेको छ ।

सरकार र प्रवर्द्धक कम्पनीबीच यसअघि भएको आयोजना विकास सम्झौता (पीडीए), विद्युत् किनबेच सम्झौता (पीपीए) को म्याद असार पछि सकिएको छ । हाल आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रयोग गरिरहेको छ । तर, स्वामित्व हस्तान्तरणका बारेमा सहमति हुन नसक्दा प्राधिकरणले खिम्तीलाई असारयता विद्युत् खरीदको भुक्तानी गर्न सकेको छैन । यिनै व्यावहारिक समस्यालाई दृष्टिगत गर्दै हालका लागि अन्तरिम सम्झौता गरिएको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले बताए । दुवै पक्षलाई मर्का नपर्ने गरी अन्तरिम पीपीए दर तोकिएको प्राधिकरणको भनाइ छ ।

अन्तरिम सम्झौता गत असार ३० गतेदेखि आगामी माघ ३० गतेसम्मका लागि गरिएको छ । र, यही अवधि बीचमा नै आयोजनाको स्वामित्व हस्तान्तरणको सम्पूर्ण प्रक्रिया टुंग्याउने तयारी प्राधिकरणको छ ।

नेपाल सरकार र हिमाल पावर लिमिटेडको पूर्वसहमतिअनुसार ६० मेगावाटको उक्त आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व गत असारभित्रै प्राधिकरणको हुनुपर्ने थियो । तर, कोरोना महामारीका कारण स्वामित्व हस्तान्तरणका बारेमा प्राधिकरण र हिमाल पावरबीच ठोस सहमति हुन नसक्दा स्वामित्व हस्तान्तरणले पूर्णता पाउन सकेको छैन ।

स्वामित्व हस्तान्तरण प्रक्रिया टुंगो लगाउन प्राधिकरण र प्रवद्र्धक कम्पनी दुवैको स्वामित्व हुने गरी संयुक्त कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । त्यसपछि सोही कम्पनीले नै प्राधिकरणसँग विद्युत् किनबेच दर सम्झौता (पीपीए) र सरकारसँग आयोजना विकास सम्झौत (पीडीए) गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रिया माघभित्रै टुंग्याउने प्राधिकरणको योजना छ ।

हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको खिम्ती आयोजना नेपालमा निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । यसमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट््याटक्राप्mट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको लगानी छ ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण दुवै पक्षबीच शेयर हस्तान्तरणका बारेमा आवश्यक काम हुन नसक्दा विधिवत् रूपमा हस्तान्तरण हुन नसकेको बताइएको छ । विदेशमा रहेका हिमाल पावरका उच्च कर्मचारीहरू बन्दाबन्दीका कारण नेपाल आउन पाएका थिएन । साथै, पीपीए, कम्पनीको सञ्चालकलगायत विषयमा दुवै पक्षबीच ठोस सहमति हुन सकेको छैन । पूर्व सम्झौताअनुसार अबको ३० वर्षपछि सो आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको नै हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)