ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी निर्णयले आन्तरिक उडानमा अन्योल

२०७७ असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले असोज १ बाट आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेका छन् ।
सोमवारको मन्त्रिपरिषद् बैठकले असोज १ देखि शुरू हुने आन्तरिक हवाई उडानमा सीट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार भएको छलफलमा असोज १ बिहीवारदेखि उडान खुला गर्ने निर्णय सार्वजनिक भए पनि ५० प्रतिशत यात्रु राखेर मात्र उडान गर्न नसकिने जानकारी हवाई व्यवसायीहरूले मन्त्रालयलाई दिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्ने विषय अव्यावहारिक भएकाले असहमति व्यक्त गरेको वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउँछन् ।

‘पहिलो कुरा उडानको मितिमै अन्योल देखिएको छ । अर्को कुरा विमान सेवा सञ्चालन गर्दा सबै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने भएकाले आधा मात्र यात्रु राखेर उडाउनू भन्नु व्यावहारिक भएन । यसले दोब्बर भाडा बढ्छ । यस्तो अवस्थामा यात्रुले कसरी दोब्बर भाडा तिर्न सक्छन् ?’ उनले प्रश्न गरे ।

लामो समयदेखि बन्द उडान शुरू गर्ने सरकारको निर्णय स्वागतयोग्य भए पनि आधा यात्रु राखेर उडान गर्ने निर्णय असान्दर्भिक रहेकाले सच्याउनुपर्ने कार्की बताउँछन् । त्यसका लागि मन्त्रालयमा आग्रहसहितको पत्र दर्ता गरिएको उनले जानकारी दिए ।

मन्त्रालयले यसअघि तोकिएको भाडादर लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरे पनि त्यसरी उडान सम्भव नभएकाले स्ट्रोल र ट्रंक रूटमा तत्काल उडान नभर्ने निर्णय भएको संघका प्रवक्ता तथा हेली एभरेस्टका सञ्चालक योगराज कँडेलले बताए ।

यसबारे पर्यटन सचिवमार्फत सरकारलाई जानकारी गराइएकाले पुनर्विचार गर्नेमा आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।

सरकारले कोरोना महामारीका कारण करीब ५ महीनाभन्दा बढी समयदेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गते (सेप्टेम्बर १ तारीख) बाट नियन्त्रित रूपमा खोलेको थियो ।

यस्तै, भदौ १६ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडानलाई पुनः बन्द गर्ने निर्णय गरेको थियो ।

पछिल्लोपटक उडान खोल्न व्यवसायीहरूले दबाब दिँदै आएका थिए । लामो समयदेखि बन्द आन्तरिक उडान खोल्ने निर्णय भए पनि अन्ततः आधा वा पूरा क्षमता भन्ने विषयले उडान हुने÷नहुनेमा थप अन्योल सृजना भएको छ ।

बहराइनका राजकुमार नेपालमा
कोरोना महामारीकै बीच बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीसहितको टोली नेपाल भ्रमणमा आएको छ । बहराइनका राजकुमारसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि बुधवार काठमाडौं आइपुगेको हो ।

महामारीका बीचमै बहराइनका राजकुमारको नेपाल भ्रमण हुनुले पर्यटनमा नयाँ आशा पलाएको व्यवसायीको धारणा छ ।

काठमाडौं आइपुगेका राजकुमार ६ दिन गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टाइनमा बस्ने र सातौं दिन सोलुखुम्बुको लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । १८ जनाको टोलीमध्ये १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् ।

राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युड गाइड खटाइनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)