ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना महामारीमा फुटवेयर : आयात बन्द हुँदा चप्पललाई राहत, जुत्ताको बजार ठप्प

२०७७ असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बन्दाबन्दी र निषेधाज्ञाको करीब ६ महीनामा समग्र स्वदेशी फुटवेयर उद्योग थलिए पनि चप्पल उत्पादकलाई भने राहत मिलेको छ । चीनतर्फका नाकाबाट चप्पल आयात नभएपछि स्वदेशी उत्पादनले बजार पाएको हो ।

कोरोना महामारीका बेला चीनतिरका नाकाबाट सामान नआउनु र भारततर्फको खुला सिमाना बन्द भएपछि स्वदेशी बजारमा चप्पलको माग बढेको उद्योगीहरूले बताएका छन् । विगतमा चीनतर्फका रसुवा र तातोपानी नाकाबाट ठूलो परिमाणमा जुत्ताचप्पल भित्रिने गरेकोमा अहिले आयात अवरुद्ध छ ।

चीनबाट सस्तो मूल्यमा चप्पल भित्रिँदा स्थानीय उत्पादनले बजार नपाइरहेका बेला त्यताबाट आयात रोकिएपछि स्वदेशी हवाई चप्पलको माग बढेको प्रेस्टिज समूहका प्रबन्ध निर्देशक विनय शाहले बताए । ‘चीनबाट भित्रिने सस्तो चप्पलका कारण स्वदेशी उत्पादनलाई समस्या भएको थियो । अहिले आयात रोकिएकाले स्थानीय उत्पादनले बजार पाएको छ,’ शाहले आर्थिक अभियानसित भने ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाले हवाई र ईभीए चप्पलको माग बढेको शिखर शू इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंको भनाइ छ । ‘गत चैतदेखि असारसम्म फुटवेयरको माग कत्ति पनि आएन । बन्दाबन्दी खुकुलो भएसँगै हवाई र ईभीए चप्पलले बजार लियो,’ प्रसाईंले भने ।

बन्दाबन्दीले बजार नखुल्दा खस्किएको माग खुकुलो भएपछि ≈वात्तै देखिएको बुझाइ उद्यमीको छ । बजार खुला भए पनि विदेशी चप्पल आउन नपाएपछि स्वदेशी उत्पादकलाई फाइदा मिलेको हो ।

प्रसाईंका अनुसार स्वदेशमा साना ठूला १५ सय फुटवेयर उद्योगमा रू. ५० अर्बभन्दा बढी लगानी भइसकेको छ । ठूलो क्षमताका उद्योग डेढ दर्जन छन् । स्वदेशी बजारमा वर्षमा ८ करोड जोडी जुत्ताचप्पलको माग छ ।

सामान्य अवस्थामा बजारको आधा अंशमा आयातित जुत्ताचप्पलको कब्जा रहेको प्रेस्टिज फुटवेयरका सञ्चालक हरि गौतम बताउँछन् । अधिकांश जुत्ताचप्पल चीनबाट भित्रिने गौतमले बताए ।

स्वदेशी उद्योगले वर्षमा करीब १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्छन् । अधिकांश उद्योग आधा क्षमतामा चलेका छन् । केही उद्योगले निकासीसमेत गरिरहेका छन् ।

बजार खुल्दा चप्पलको माग आए पनि अहिले पुनः सुस्ताएको प्रसाईं बताउँछन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण अन्य उद्योगले भोगेका समस्या फुटवेयर क्षेत्रले पनि भोगेको छ । माग भएका उत्पादनसमेत आपूर्ति गर्न नपाएको उद्यमी बताउँछन् । पीयू चप्पलको माग आएर पनि उत्पादन गर्न नसकिएको प्रसाईंले बताए ।

बजार खुलेको बेलामा स्टकमा रहेको उत्पादन बजारमा पठाए पनि नयाँ उत्पादनमा भने समस्या भोगिरहेका छन् । कच्चा पदार्थ र कामदारको आपूर्ति, ढुवानी, बजार, पूँजीलगायत समस्याका कारण उत्पादन गर्न नसकिएको उत्पादकको भनाइ छ । चीनतर्फका नाका अवरुद्ध हुँदा कच्चा पदार्थको आयात प्रभावित भएको लाली गुराँस फुटवेयरका प्रबन्ध निर्देशक कृष्णकुमार फुयाँलले बताए ।

चप्पल उद्योगले बन्दाबन्दीमा बजारबाट राहत पाए पनि जुत्ताको बजार भने ठप्प रहेको बेस फुटवेयर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । बन्दाबन्दी र निषेधाज्ञाले विद्यालय र कार्यालय प्रायः बन्द रहेकाले छालाका जुत्ताको माग नै ठप्प भएको उपाध्यायको भनाइ छ ।

भारतसितको सिमाना बन्द हुँदा अवैध आयात रोकिए पनि बजार नखुल्दा स्वदेशी उत्पादनसमेत गोदाममा थन्किएको उद्यमीले बताउँछन् । जुत्ताको मागका लागि उत्पादकले दशैं पर्खिइरहेको उपाध्यायले बताए । ६ महीनादेखि माग आउन छोडेपछि अधिकांश उद्योगले उत्पादन बन्द गरेका छन् । ‘२५ प्रतिशतजति उद्योग सञ्चालनमा छन् । चलेका उद्योगले पनि क्षमताको २५ प्रतिशतमात्रै उत्पादन गरिरहेका छन्,’ उनले आर्थिक अभियानसित भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)