ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा

२०७७ असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कृषि ऋणमा किसानको सहज पहुँच पुर्‍याउन पहिलोपटक जारी हुन लागेको किसान क्रेडिट कार्डको तयारी करीब अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले किसान क्रेडिट कार्ड जारी गर्ने अधिकार कृषि विकास बैंकलाई दिएपछि प्राविधिक तयारी भइसकेको र कार्यविधि पूरा हुन केही समय लाग्ने बैंकले बताएको छ ।

कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलका अनुसार यस्तो कार्डमार्फत किसानहरूले करीब ५ हजार रुपैयाँ बराबरको कर्जा प्रयोग गर्न सक्छन् । किसान क्रेडिट कार्डसम्बन्धी कार्यविधि तथा सञ्चालक समितिले यसमा फेरबदल गर्न सक्ने उनको भनाइ छ । कार्डधारकले उक्त रकम बराबरको कर्जा सकिएमा नियमअनुसार फेरि सोही बराबर कर्जा थप्न पाउने व्यवस्था भएको उनले जानकारी दिए ।

क्रेडिट कार्डबाट किसानले तोकिएको रकम बराबरको मल, बीउबिजन खरीद गर्न सक्नेछन् । कार्डसँगै बैंकले एप्स पनि बनाएको छ, जसबाट किसानले तरकारीलगायत उत्पादनको बजार मूल्य, मौसम, बीउबिजनको मूल्य लगायतबारे जानकारी पाउन सक्छन् । यो एप्सबाट व्यावसायिक किसानका लागि लाभ हुनेछ तर स्मार्ट फोन प्रयोग नगर्ने किसानका लागि भने यो खासै उपयोगी नहुने उनको भनाइ छ ।

किसानले बैंकबाट कर्जा स्वीकृति गराएपछि कार्डमा कर्जाको रकम लोड गरिन्छ र किसान एपमा ऋणी किसानको प्रोफाइल तयार हुन्छ । किसानले लिएको कर्जा, सरकारबाट पाएको अनुदान, कृषि औजारको उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेत ड्यासबोर्डमार्पmत किसानले जानकारी पाउन सक्छन् । कार्डबाट मल, बीउ आदि खरीद गर्न सकिन्छ तर त्यसबाट रकम निकाल्न भने पाइँदैन । यसले किसानलाई आपूर्ति शृंखलामा जोड्ने विश्वास बैंकले लिएको छ ।

किसान क्रेडिट कार्ड कृषि विकास बैंकका ग्राहक किसानलाई मात्र लक्षित गर्ने प्रवक्ता पौडेलले बताए ।

‘त्यसपछि किसानहरूको माग तथा प्रभावकारिता हेरेर सम्बद्ध बैंकसँग सहकार्य गरी अन्य बैंकका ग्राहकलाई यस्तो कार्ड दिन सकिन्छ,’ उनले अभियानसँग भने, ‘बजारमा मागको आधारमा सुविधाहरू थप्न सकिनेछ ।’

छिमेकी मुलुक भारतले विगत २ दशकभन्दा अघिदेखि किसान क्रेडिट कार्डमार्फत किसानलाई कर्जा लिने सुविधा दिँदै आएको छ । साढे २ करोड किसानबाट शुरू गरेको यो योजना करीब ९ करोड जनतामाझ पुर्‍याएको देखिन्छ । भारतका किसानले केही सामान्य प्रक्रिया पूरा गरेर बुझाएको फारम स्वीकृत भएपछि किसानको नाममा बैंकले सहुलियत ब्याजदरसहित विनाधितो भारू २ लाखको क्रेडिट कार्ड उपलब्ध गराइदिने व्यवस्था छ । भारतमा किसानले यो कार्डमार्फत बीउबिजन, मल, सिँचाइ तथा बिजुलीको बिल र ज्यालाको भुक्तानी गर्न सक्छन् । किसानले यो कार्डबाट वार्षिक भारू १ लाख ६० हजारसम्म खर्च गर्न सक्ने र उत्पादनपछि तिर्न सक्ने व्यवस्था छ । ४ प्रतिशत सहुलियत ब्याजदरमा पाउने यो कर्जा समयमै भुक्तानी गरेमा थप ३ लाखसम्म कर्जा सीमा बढाउने सुविधा छ । नेपालमा पनि सरकारले ल्याएको यस्तो नयाँ कार्यक्रमले कृषिमा क्रान्ति नल्याए पनि किसानका लागि भने धेरै फलदायी हुने कृषिविज्ञहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाले किसानलाई कर्जा नपत्याएको अवस्थामा यो कार्यक्रमले बैंकलाई कर्जा दिन बाध्य बनाउनेछ । कार्डबाट कृषकलाई सहुलियत ब्याजमा कर्जा सुविधा उपयोग गर्न सहज हुने कृषिविज्ञ डा. समुद्रलाल जोशीले बताए । तर, क्रेडिट कार्डमार्फत लिने यस्तो कर्जा व्यावसायिक कृषकको पहुँचमा मात्र नभई सामान्य किसानको पहुँचमा हुनुपर्ने उनको तर्क छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)