ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा कोरोना नियन्त्रणका लागि रू. ४ करोड २२ लाख खर्च

२०७७ असोज, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा रू. ४ करोड २२ लाख ४३ हजार ४७ खर्च भएको छ । गत चैतदेखि भदौसम्म राहत वितरण, आइसोलेसन, क्वारेन्टिन, औषधि खरीदलगायत शीर्षकमा ७ ओटा  स्थानीय तहले गरेको खर्च सार्वजनिक गरेका छन् ।

सबैभन्दा बढी कुश्मा नगरपालिकाले रू. १ करोड १८ लाख ९५ हजार खर्च गरेको छ । जिल्लाभरका कोरोना संक्रमित कुश्मामा व्यवस्थापन गर्नुपरेकाले कुश्माको खर्च धेरै देखिएको बताइएको छ । नगरपालिकाले आइसोलेसन, क्वारेन्टिन, राहत वितरण, मास्क वितरण, औषधि तथा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) खरीदमा धेरै रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए । पंगेनीका अनुसार कोरोना भाइरसको संक्रमणपछि कोरोना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको रू. २ करोड ६३ लाख ५ हजारमध्ये रू. १ करोड १८ लाख ९५ हजार खर्च भएको हो । यस्तै फलेवास नगरपालिकाले रू. ९९ लाख ६७ हजार ६०० राहत कोषमा जम्मा गरेकामा कोरोना रोकथाममा रू. ६३ लाख ६७ हजार खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । यस्तै जलजला गाउँपालिकाले रू. ६१ लाख २९ हजार खर्च गरेको छ । सबैभन्दा बढी विपन्न वर्गलाई लक्षित गरी गरिएको राहत वितरणमा रू. २३ लाख ३० हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रू. ५७ लाख २४ हजार जम्मा भएको थियो । यसका अतिरिक्त गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा हिमाली बालकल्याण संस्था मञ्च ललितपुरमार्फत रू. २९ लाख मूल्य बराबरको खाद्यान्न पालिकाको विभिन्न वडामा वितरण भएको छ ।

यसैगरी मोदी गाउँपालिकाले हालसम्म साढे ३९ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । राहत सामग्री, क्वारेन्टिन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचार–प्रसारलगायत शीर्षकमा उक्त रकम खर्च भएको हो । गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा रू. ४२ लाख ३३ हजार ५०० जम्मा भएको थियो । त्यसमध्ये गाउँपालिकाले रू. १२ लाख जम्मा गरेको थियो । यस्तै बिहादी गाउँपालिकाले रू. ४६ लाख ९७ हजार खर्च गरेको छ । गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालका अनुसार पालिकाले स्थापना गरेका कोरोना कोषमा रू. ८५ लाख २३ हजार ८०० जम्मा भएको थियो । उनका अनुसार अब कोषमा रू. ३८ लाख २६ हजार ६०० बाँकी रहेको छ ।

यसैगरी पैयुँ गाउँपालिकाले रू. ६५ लाख ७२ हजार ३०० खर्च गरेको छ । गाउँपालिकाको राहत कोषमा रू. ८० लाख ७५ हजार ३०० जम्मा भएको थियो । पालिकाको प्रशासकीय अधिकृत जितबहादुर रानाका अनुसार कोषमा अब रू. १५ लाख २९ हजार बाँकी छ । यस्तै महाशीला गाउँपालिकाले रू. २६ लाख १७ हजार खर्च गरेको छ । पालिकाको कोषमा रू. ३६ लाख ४८ हजार ४०० रकम जम्मा भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)